उपचुनावका लागि यस्तो छ सुरक्षा योजना

उपचुनावका लागि यस्तो छ सुरक्षा योजना

उपचुनावलाई मध्यनजर गर्दै  तीन अलग कार्ययोजनासहित सुरक्षा प्रवन्ध मिलाइएको छ । प्रहरीले मौन अवधि शुरु भएदेखि अन्तिम परिणाम सार्वजनिक नहुँदासम्मको अवधिलाई तीन चरण मानेर छुट्टाछुट्टै कार्ययोजनासहित समग्र निर्वाचनको सुरक्षा व्यवस्था मिलाएको हो ।

नेपाल प्रहरीले आज ठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचनपूर्व, मतदानको दिन र सम्पूर्ण मत परिणाम सार्वजनिक नहुँदासम्म अलग-अलग सुरक्षा योजना बनाएको जानकारी दिएको छ । जसअनुसार उपनिर्वाचन हुने इलाम-२ र बझाङ-१(१)मा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटिने छन् । 

निर्वाचनमा प्रदेश प्रहरी प्रमुखहरुले प्रत्यक्ष अनुगमन र समन्वय गर्नेगरि व्यवस्था मिलाइएको छ । निर्वाचन क्षेत्रभित्र मतदानको दिन हुनसक्ने सम्भावित जोखिमको विश्लेषण गरेर सबै सुरक्षा व्यवस्था मिलाएको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।

मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको दाबी गर्दै प्रहरीले मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भएमा बल प्रयोग गरिने प्रष्ट पारेको छ ।

उपनिर्वाचन हुन लागेका प्रतिनिधि सभातर्फ इलाम-२ र प्रदेश सभाका लागि बझाङ १ (१)मा पर्सि मतदान हुँदैछ । निर्वाचन हुने दुवै स्थानमा मौन अवधि शुरु भइसकेको छ ।

 इलाम–२ बाट निर्वाचित एमाले नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भदौ २६ गते हृदयघातको कारण निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त छ । त्यस्तै, बझाङका प्रदेश सांसद पृथ्वीबहादुर सिंहको गत असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो । 

संविधानमा संघ तथा प्रदेश दुबै सभामा कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ ।

टिप्पणीहरू