दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँको दमौली अस्पतालले १२ घण्टा ओपिडी सेवा दिने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले बिहान ७ देखि बेलुकी ७ बजेसम्म सेवा दिने व्यवस्था मिलाएको हो । 

आजबाट सो व्यवस्था लागू भएको अस्पतालले जनाएको छ । विस्तारित समयमा सेवा लिन थप शुल्क नलाग्ने अस्पतालले स्पष्ट पारेको छ । त्यस्तै, स्वास्थ्य बिमितहरुलाई स्वास्थ्य बीमामार्फत नै सेवा उपलब्ध हुनेछ । 

उक्त व्यवस्थाले कर्मचारी, विद्यार्थी, ज्याला मजदूर र व्यापार–व्यवसायी वर्गलाई सहज हुने अस्पतालको भनाइ छ । कर्मचारीले आफ्नो दैनिक कार्यालय समयबाहेक, विद्यार्थीले आफ्नो अध्ययन, ज्याला मजदूरी गर्नेले काम र व्यवसायी गर्नेले व्यापारमा असर नपर्नेगरी सेवा लिन सक्नेछन् । 

त्यस्तै, खाली पेटमा रगत परीक्षण गर्नुपर्ने सेवाग्राहीहरुलाई पनि यसले सहज हुने भएको छ । बिहानैदेखि सेवा सञ्चालन गर्दा दिँउसो हुने भीडमा कमी आउने र सेवाग्राहीले सहज रुपमा सेवा पाउने अस्पतालले विश्वास लिएको छ ।

टिप्पणीहरू