विप्लव पनि ‘मिसन ८४’ को गृहकार्यमा

विप्लव पनि ‘मिसन ८४’ को गृहकार्यमा
सुन्नुहोस्

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी राजनीतिमा फर्किने तयारी गरेको छ । आज बसेको पार्टीको पोलिटब्यूरो बैठकले चुनावलाई क्रान्तिकै मोर्चाको रुपमा परिभाषित गर्दै उपयोग गरेर जाने निर्णय गरेको छ । 

पोलिटब्यूरोलगत्तै केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकले आगामी चुनावमा भाग लिने नीति पारित गर्ने सम्भावना रहेको सो पार्टीका एकजना केन्द्रीय नेताले जानकारी दिए । 

बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिष्ट आन्दोलनको पुरानो चलनले अब काम नगर्ने दाबी गरेका छन् । त्यसक्रममा उनले निर्वाचन क्रान्तिकै भिन्न मोर्चा भएकोले आगामी २०८४ मा हुने चुनावलाई पनि त्यसरी नै लिनुपर्नेमा जोड दिएका थिए । 

‘चुनाव पनि क्रान्तिकै मोर्चा हो यसलाई विगतमा कार्यनीतिक प्रयोग वा रणनीतिक प्रयोग भनेर विभाजन गरेर बुझ्ने चलन थियो अब त्यसरी हुन्न, त्यो पुरानो तरिका हो’, विप्लवले प्रस्ट्याउदै भने, ‘साम्राज्यवाद अहिले नयाँ ढङ्गले आएको छ, ऊ कम्युनिष्ट आन्दोलनविरुद्ध समग्र युद्दको नीति लिएर आइरहेको छ, त्यसैले हामीले पनि संघर्षको समग्र तरिका प्रयोग गर्न आवश्यक छ ।’ 

तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरेर मोहन वैद्य नेतृत्वमा छुट्टै पार्टी गठन गरेयता चुनावी राजनीतिको विपक्षमा रहँदै आएका विप्लव पछिल्लो समय माओवादी केन्द्रसँग नजिकिएका छन् । २०६४ पछिका सबै निर्वाचन बहिष्कार गर्दै आएको विपल्व नेतृत्वको नेकपाले इलाम–२ को उपनिर्वाचनमा एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

टिप्पणीहरू