राजधानीमा महिला उद्यमीहरुको मेला शुरु

राजधानीमा महिला उद्यमीहरुको मेला शुरु
सुन्नुहोस्

उद्यमी महिलाहरुको साझा संस्था महिला उद्यमी महासंघ, नेपाल (एफवीन) ले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०२४’ आजदेखि शुरु भएको छ । सातौं संस्करणको मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको छ । 

उद्यमी महिलाहरुद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार र बिक्रीवितरणका लागि एफवीनले हरेक वर्ष मेलाको आयोजना गर्दै आएको छ । मेलाले उद्यमी महिलाहरुलाई व्यापार विस्तारमा सहयोग पुर्याउने एफवीनकी अध्यक्ष शोभा ज्ञवालीले बताइन् । 

उनले भनिन्, ‘उद्यमी महिला आफैंले अन्य स्रोतबाट सिकेर होस् या महासंघले सिकाएर उद्यम  गरिरहनुभएको छ । मेलामा आफूजस्तै उद्यम गरेकाहरुले के कसरी आफ्नो काम अघि बढाएका छन्, आफू कहाँ चुकेको छु, थप राम्रो कसरी गर्न सकिन्छ भनेर सिक्ने मौका पनि मिल्छ । त्यसैले यस्तो मेलाको आयोजना गर्दै आएका छौं ।’

‘स्वदेशी खाऊँ, स्वदेशी लगाऊँ र स्वदेशी उद्यमशीलतालाई प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ गर्न लागिएको मेलाको उद्घाटनमा मुलुकका उच्च पदस्थ तथा राजदूतहरुले नेपाली पोशाकमा ‘र्याम्प वाक’ गर्ने उनले जानकारी दिइन् । एफवीनले आर्थिक रुपमा कमजोर महिलाहरुका लागि निःशुल्क स्टलको समेत व्यवस्था गरिएको छ । 

चैत २० गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने मेला अवलोकनका लागि कुनै प्रवेश शुल्क तिर्न नपर्ने आयोजकले जनाएको छ ।

टिप्पणीहरू