करोडौंको सम्पत्ति नजोडिएको प्रष्टोक्ति, राजनीतिक प्रतिशोध लिएकाे दाबी

करोडौंको सम्पत्ति नजोडिएको प्रष्टोक्ति, राजनीतिक प्रतिशोध लिएकाे दाबी
सुन्नुहोस्

बैतडीको शिवनाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कुश्मा चन्दले आफूमाथि लगाइएको आरोप झुठो भएको बताएकी छन् । पाँच वर्ष जनप्रतिनिधि रहँदा करोडौंको सम्पत्ति जोडेको आरोप लागेपछि उनले त्यसको खण्डन गर्दै घोर आपत्ति जनाएकी हुन् । नेकपा एमाले परित्याग गरेपछि आफूमाथि निरन्तर राजनीतिक प्रहारको रुपमा प्रतिशोधपूर्ण तरिकाले त्यस्तो गलत अफवाह फैलाइएको बताइन् । 

पार्टी छाडेकै कारण आफ्नो चरित्रहत्या गरिएको चन्दको दाबी छ । पञ्चेश्वर गाउँपालिका–४, निंगलाडमा जन्मिएकी उनले जनप्रतिनिधि हुँदा आर्जित धनले भक्तपुरदेखि भीमदत्त नगरपालिकासम्मै जग्गा जोडेको भन्दै सम्पत्ति शुद्धिकरण विभाग र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन हालिएको छ ।

उनले आफूमाथि लागेको आरोप सत्य साबित भएमा जस्तोसुकै सजाय भोग्न तयार रहेको बताइन् । एमालेमा हुँदा आफूमाथि राष्ट्रिय सभाको निर्वाचनमा एमालेकै उम्मेदवारलाई घात गरेको आरोप लागेपछि पार्टी छाडेर नेपाली काँग्रेस प्रवेश गरेको र त्यसैको बदला लिन विभिन्न व्यक्तिले गलत सूचनाको सहारा लिएको ठोकुवा गरेकी हुन् ।

 

अध्यापन पेशाबाट राजनीतिमा प्रवेश गरेकी उनले गत वैशाखमा तिलकराज पाण्डेयसँग खरिद गरिएको १२ लाख ६५ हजार रुपैयाँको जग्गाबाहेक अन्य कुनै जेथा आफूसँग नभएको उल्लेख गरेकी छन् । उनले भनिन्, ‘विभिन्न मिडियामा मेरो बारेमा प्रकाशित समाचार मिथ्या हो ।’

चैत १३ गते जनआस्था डटकममा ‘कहाँबाट बटुलिन् कुश्माले करोडौं’ सम्पत्ति शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार जनआस्था साप्ताहिकबाट साभार गरिएको हो ।

याे पनि...

कहाँबाट बटुलिन् कुश्माले करोडौँ

टिप्पणीहरू