इतिहास रच्ने मौकाबाट हामी फेरि चुकेका छौं : रेनु चन्द

इतिहास रच्ने मौकाबाट हामी फेरि चुकेका छौं : रेनु चन्द

मंगलबार सम्पन्न राष्ट्रिय सभाका अध्यक्षको निर्वाचनमा नारायणप्रसाद दाहाल निर्वाचित हुनुभयो । त्यसअघि उम्मेदवार चयन गर्न बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा सांसद रेनु चन्दको नाममा पनि छलफल चलेको थियो । रेनु अन्तरिम संसदमा पनि विधायक हुनुहुन्थ्यो । पहिलो संविधानसभा निर्वाचनमा बैतडीबाट सभासद् निर्वाचित उहाँ माओवादीभित्र स्पष्ट वक्ताका रुपमा चिनिनुहुन्छ । उनै चन्दसँग जनआस्थाले समसामायिक विषयवस्तुमा केन्द्रित रहेर राजकुमार रायले गरेको कुराकानीको सम्पादित अंश :  

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन गर्ने क्रममा तपाईंको नाम पनि चर्चामा थियो । तर, नपरेपछि दुःख लागेको होला नि ?

छलफलमा नाम आउने कुरा एउटा प्रक्रियाको कुरा हो । क्लस्टरवाइज छलफल रहुँदा नाम आएको होला । तर, पार्टीले जे निर्णय गर्यो, त्यो हामीले मान्नैपर्छ । यसमा मेरो विमति थिएन । नारायणप्रसाद दाहाल मभन्दा निकै वरिष्ठ नेता पनि हो । स्थायी कमिटी सदस्य भएकाले उहाँको नाममा निर्णय भएकोमा उत्तिकै खुशी छु ।

केही सांसदहरुले महिला उम्मेदवार प्रस्तावित गरिएको भए हुन्थ्यो भन्ने आशयमा कुरा राखेका थिए । महिला उम्मेदवार उठाएको भए हामीले उम्मेदवार खडा गर्दैनौं थियौं भनेर काँग्रेसका सांसदहरुले समेत भनेको सुनियो । समावेशी, समानुपातिक प्रतिनिधित्वको कुरा पनि छ । तर, तपाईंहरु पार्टीभित्र चुप लागेर बसेकाले त्यो सम्भावना नरहेको भन्ने आरोपलाई के भन्नुहुन्छ ?
 
–उहाँहरु (नेपाली काँग्रेस) ले पनि महिला उम्मेदवार दिनुभएन । विषय उठाउनका लागि मात्रै उठाउनु भएको हो जस्तो लाग्छ । उहाँहरुले जसरी कुरा राख्नुभएको छ । त्यसैगरी प्रस्तुत गरेको भए हुन्थ्यो । त्यसकारण उहाँहरुको त्यो तर्कका लागि तर्कमात्रै गरेको भन्ने बुझिन्छ । एउटा कुरा के साँचो हो भने जसरी एउटा इतिहास निर्माण भएको थियो प्रतिनिधिसभामा, ओनसरी घर्तीको सन्दर्भमा, राष्ट्रपतिमा विद्यादेवी भण्डारीको छनौटलगायत यस्ता केही ऐतिहासिक उपलब्धिहरु समानुपातिक, समावेशी सन्दर्भमा प्राप्त भएको हो । अहिले पनि राष्ट्रिय सभाको अध्यक्षमा महिलाहरुको हकमा इतिहास निर्माण गर्ने अवसर पक्कै थियो । जसमा हामी चुकेका छौं । तर, आगामी अवसरहरुमा  चुक्नु हुँदैन । दुई–चार वर्षपछिका अवसरहरुमा हामीले ध्यान दिनुपर्छ । 

अचानक सत्ता समीकरण बदलिँदा जनतामा एक खालको निरासा देखिन्छ । यस्तो अवस्था र परिस्थिति उत्पन्न हुनुको कारण के होला ? 

–गठबन्धनका नेताहरुसँग हाम्रो छलफल हुँदा यो राजनीतिक घटनाक्रम अचानक देखिएपनि लामो छलफल, संवाद र सोपश्चात् निष्कर्षमा आएको नतिजा भएको जानकारी गराउनुभएको छ । यो वैचारिक गठबन्धन पनि हो । समाजवाद मान्ने कम्युनिष्टको एकता हो र वैचारिक रुपमा नजिकको समीकरण हो । 

पहिलेको गठबन्धन प्राविधिकजस्तो थियो । हाम्रो बुझाई राजनीतिक हो । हुन त राजनीतिमा आवश्यकताअनुसार हिँड्नुपर्ने हुन्छ । विकासप्रति प्रधानमन्त्रीको जुन हुटहुटी छ, भ्रष्टाचार अन्त्य गर्ने जुन उहाँको सपना छ, देशलाई उन्नतितर्फ लैजाने उहाँको अठोट देखिन्छ । त्यसलाई पूरा गर्न अर्को गठबन्धनको आवश्यकता देख्नुभयो र यो घटनाक्रमको विकास हुन पुगेको हो । 

तर, नवगठित मन्त्रिमण्डलमा बदनाम पात्रहरु रहेको बताइन्छ । रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दामा छानबिन चलिरहेको छ । उनैलाई गृहमन्त्री बनाइएको छ । यसले सरकार कुन धरातलमा उभिएको छ बताउने ?

–रविजीको सन्दर्भमा एउटा त उहाँ आफैंले सोच्नुपर्ने कुरा हो । गृहमन्त्रीको पोष्टमा जानु हुन्छ कि हुँदैन भनेर उहाँले पक्कै पनि सोच्नुपथ्र्यो । आफ्ना विरुद्धमा यतिधेरै प्रश्न उठिरहेका बेला उहाँले पार्टीका अरु साथीलाई पठाएको भए पनि हुन्थ्यो । अब कानूनी प्रक्रियाबाट उहाँको मुद्दाको पक्ष–विपक्षमा छिनोफानो हुन्छ नै । न्यायालय र कानुनले पनि आफ्नो काम गर्ला । साथै, उहाँलाई बिग्रँदो छवि सुधार्ने मौका पनि छ । मलाई लाग्छ– यो उहाँका लागि सुध्रिने कि नसुध्रिने भन्ने अवसर र चूनौती दुबै हो ।
 
यसरी अवसर दिँदै जाँदा गलत बाटोमा रमाउने वा प्रोत्साहित हुने अवस्था उत्पन्न हुने आम जिज्ञासालाई के भन्नुहुन्छ ?

–प्रोत्साहित हुने कुनै चान्स नै छैन । पछिल्लो डेढ वर्षमा प्रचण्डले एउटा ट्रेन्ड स्थापित गर्नुभएको छ । जो जतिसुकै ठूलो नेता होस्, जतिसुकै पुरानो होस्, अपराध गरेको छ भने कानूनको घेराबाट फुत्किन सक्दैन भन्ने प्रमाणित भएको छ । प्रधानमन्त्रीले विगतमा यी कुराहरु पुष्टि गर्नुभएको छ । जनहित विपरित अवसरवादी वा जनघात गर्नेलाई प्रचण्ड सरकारले छोड्दैन भन्ने पुष्टि भैसकेकोकाले कसैले पनि छुट पाउँदैन भनेर बुझ्नुपर्छ । 

रविको सन्दर्भमा उहाँ एक्सनमा जानुभयो भने सरकार नै ढल्ने स्थिति देखिन्छ नि ?

सरकार ढल्छ, ढल्दैन भन्ने कुरा प्रचण्डलाई नबुझ्नेहरुले भन्ने हो । प्रचण्ड तीनै व्यक्ति हुन्, जसले सरकार बहुमतमा हुँदाहुँदै नौ महिनाकै कार्यकालमा कटवाल प्रकरणमा राजीनामा दिएर हिँड्नुभएको थियो । उहाँ आफ्नो कुर्सी जोखिममा राख्ने मान्छे पनि हो । रवि लामिछानेलाई बचाउने वा छोड्दिने अथवा अमूक व्यक्तिलाई बचाउनेप्रति उहाँ जानुहुँदैन । हामी ढुक्क छौं ।

उपाध्यक्ष पम्फा भुसालले समेत नयाँ गठबन्धन शुद्ध छैन भन्नुभएको छ । एकीकृत समाजवादीका नेताहरुले पनि त्यस्तै आशय व्यक्त गरेका छन् । यसलाई कसरी बुझ्ने ?

–पम्फा दिदीले किन यस्तो भन्नुभयो, यो उहाँसँग सोध्नुपर्ने कुरा हो । उहाँले के विश्लेषण गर्नुभयो, त्यो जानकारी उहाँबाटै लिनुपर्छ । तर, जहाँसम्म राजनीतिलाई ज्योतिषवाणी गर्ने कुरामा म विश्वास गर्दिंन । र, अरुले पनि भविष्यवाणी गर्दा आग्रह, पूर्वाग्रह राखेर गर्नुहुँदैन भन्ने लाग्छ ।  हामीलाई अध्यक्ष प्रचण्डले जे जानकारी गराउनुहुन्छ, त्यसमै विश्वास गर्ने हो ।  

प्रधानमन्त्री प्रचण्डको निकै तारिफ गर्नुभयो । उहाँले आफू बाँच्नुञ्जेल मुलुकमा उथलपुथल भइरहने घोषणा गर्नुभएको छ । यसको अर्थ के होला ?

–बिल्कुल ठिक भन्नुभयो । एउटा क्रियाशील नेताले गर्ने नै उथलपुथल हो । उहाँले उथलपुथल गरेपछि नै गणतन्त्र आयो । माओवादीले उथुलपुथल गर्ने भनेको आमूल परिवर्तनका लागि हो । माओवादी भनेकै उथलपुथल हो । शान्त बस्ने काम यथास्थितिमा रमाउने पार्टीहरुको हो । 

अध्यक्षले उथलपुथल गर्ने भन्नुभएको छ, जुन माओवादीकै स्वभाव हो । यसको सकारात्मक अर्थ लगाउने हो भने आमूल परिवर्तन भनेर बुझ्नुपर्छ । तर, सो शब्दलाई बङ्ग्राउनेहरुले जसरी व्याख्या गरोस् त्यसको जवाफ दिएर हिँडिरहने हामीसँग फुर्सद पनि छैन । 

माओवादी नेताहरुको नाम नुनदेखि सुनसम्म जोडिएको छ । यसलाई कसरी हेर्नुभएको छ ? 

–आफ्ना साथीहरुको नाम त्यस्तो विषयमा जोडिँदा अप्ठेरो पर्ने कुरा भइहाल्यो । किन गरेको होला भनेर सोच्नु पनि ठिकै हो । तर, एउटा कुरा हामी ढुक्क केमा छौं भने कि गल्ती गर्नेलाई माओवादीले सहयोग र समर्थन गर्दैन । गल्ती गरेको छ भने अपराधअनुसारको सजाय भोग्नैपर्छ भन्नेमा हामी स्पष्ट छौं । 

सुदूरपश्चिमका तपाईंहरुका कमाण्डर लेखराज भट्ट एमालेमा छिरेपछिको अवस्था कस्तो छ ? 

–आशा छ व्यक्तिगत रुपमा उहाँ स्वस्थ हुनुहोला । जहाँ भएपनि उहाँ खुशी हुनुहोला भन्ने मेरो अपेक्षा छ । लेखराजजीसँग फोनमा पनि कुरा नभएको लामै समय भइसक्यो । 

उहाँलाई पुनः माओवादीमा फर्काउने तपाईंहरुको प्रयास हुँदैन ? 

–उहाँ मलाई सोधेर जानुभएको पनि होइन । मलाई सोधेर आउने कुरा पनि नहोला । उहाँ माओवादीमा फर्किन चाहनुभयो भने म खुल्ला दिलले स्वागत गर्नेछु ।
 

टिप्पणीहरू