​हतारको काम, के हो नेपालको नाम ?

चलनचल्तीको भाषा जे भए पनि छिमेकी मुलुक भारतको औपचारिक नाम ‘हिन्दुस्तान’ होइन । विश्वले चिन्ने रिपब्लिक अफ इण्डिया भनेर हो । उत्तरी छिमेकीको नाम पनि चीन मात्रै नभएर पिपुल्स रिपब्लिक अफ चाइना हो । पाकिस्तानलाई चिन्न इस्लामिक रिपब्लिक अफ पाकिस्तान भन्नैपर्ने हुन्छ । बंगलादेशलाई संबोधन गर्दा पिपुल्स रिपब्लिक अफ बंगलादेश किट्नुपर्ने हुन्छ । अमेरिकालाई युनाइटेड स्टेट्स अफ अमेरिका भन्नैपर्छ । 

हाम्रो देशको नाम क्याबिनेट बैठकले ‘नेपाल’ मात्रै भन्ने निर्णय गरेको छ । तर, बहुलठ्ठी पाराले कसले सर्कुलर जारी गरेर हो थाहा छैन, विदेशस्थित सबै नेपाली नियोगमा फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखेर साइनबोर्डहरु टाँगिएको छ । तर हाम्रो देशको नाम नेपाल मात्रै हो । यो निर्णय ०६६ सालमै भएको हो । आज १२ वर्ष भइसक्यो नेपाल संघीय बन्ने भनेको तर अझै पनि यो देशका सबै संरचना संघीय मोडेलमा जाने हुन् वा होइनन्, थाहा छैन । बाह्र वर्ष बेफ्वाँकमा हामीले आफ्नो देशको नाम भने अर्कै बताइरहेका छौं । यत्तिका वर्षसम्म क्याबिनेटले गरेको निर्णय कार्यान्वयन हुँदैन भने दोष कसलाई दिने ! नेप्लिज भन्ने कि नेपाली भन्ने विषयमा समेत विवाद छ । विदेश जान भिसा लिँदा राष्ट्रियताको ठाउँमा नेप्लिज लेख्ने गरिएको छ । क्याबिनेटले नेपाली भन्ने निर्णय गरेको छ तर प्राक्टिसमा त्यो कुरा देखिँदैन । कथनी र करनीमा भने सधैं फरक देखिन्छ । यो कहिलेसम्म ? बोली र व्यवहारमा सामञ्जस्य ल्याउने कहिले हो ? शाही नेपाल वायुसेवा निगमबाट गणतन्त्र आएपछि शाही हटाइयो तर अन्तर्राष्ट्रिय कल साइनमा भने आरए नै भन्ने प्रचलन छ । त्यसकारण हतारमा कुनै कुरा बदल्न, नामै फेर्न खोज्नुभन्दा अगाडि विचार पु¥याउनुपर्छ ।

सन् १९९० मै सोभियत संघ विघटन भएर रसियालगायत १५ टुक्रामा विभाजित भयो । त्यहाँ सत्ता र शासनमा कम्युनिष्ट पार्टी छैन । यल्तसिन र पुटिनले राज्य सम्हालेको धेरै भयो । त्यहाँको राष्ट्रिय झण्डा अर्कै छ तर रसियाको सरकारी वायुसेवा कम्पनी एरोफ्लोटमा भने अझै पनि हँसिया हथौडा नै अंकित छ । त्यो अन्तर्राष्ट्रिय पहिचान हो । संसारभरिका प्रहरी र सेनाहरुको कलसाइन जब ‘आइ’ आउँछ, त्यसले इण्डिया भन्ने बुझाउँछ । जसरी ‘के’ ले किलो, ‘पी’ ले पापा, ‘बी’ ले ब्राभो भन्ने बुझिन्छ, त्यसैगरी ‘आइ’ ले इण्डिया, ‘एन’ ले नोभेम्बर भन्ने जनाउँछ । यस्तोमा अब हामीले पनि एकरुपता ल्याउने र सचेततालाई यसतर्फ पनि फर्काउने काम गर्न ढिलो भइसक्यो ।

टिप्पणीहरू