भीम रावलले खोल्लान् त नयाँ पार्टी ?

भीम रावलले खोल्लान् त नयाँ पार्टी ?
सुन्नुहोस्

-टेकसिंह धामी

नेकपा एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावल र काँग्रेसका पुराना नेता एवं हाल काँग्रेस (बिपी) मा सक्रिय रहेका कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ । हिजो (शनिबार) काठमाडौंस्थित रावलकै निवासमा दुई जनाको एकल वार्ता भएको हो । 

रावल निवासमा आफू पहिलोपटक पुगेका मल्ललाई सुदूरपश्चिममा छुट्टै पार्टी खोल्ने तयारीवारे प्रश्न राख्दा त्यो असम्भव नरहेको तर हाललाई त्यस्तो कुनै तयारी नरहेको दाबी गरे । 

उनले भने, ‘तत्काल नै पार्टी खोल्ने किसिमको तयारी छैन । सुदूरपश्चिमबाट पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनसक्ने क्षमता भएको नेता हुन् भीमबहादुर रावल । सुदूरपश्चिममा एमाले,काँग्रेससहित सबै पार्टीभित्र ठूलो विद्रोह छ। पार्टी निर्माणको कुरा भने भविष्यको कुरा हो ।’ 

नेता मल्लले सुदूरपश्चिममा धेरै पुराना नेताहरुले विभिन्न पार्टीमा विद्रोह गरेकाले उनीहरू एकीकृत हुनसक्ने सम्भावना पनि रहेको जिकिर गरे । 

डडेल्धुराका मल्लले काँग्रेस र सभापति शेरबहादुर देउवासँग विद्रोह गर्दै गत संसदीय निर्वाचन लडेका थिए । काँग्रेस (बिपी) बाट लडेर देउवासँग त्यसबेला पराजित भएपनि आगामी निर्वाचनको तयारीमा लागेको बताइन्छ ।

उता रावल भने एमालेको १०औं चितवन महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध पार्टी अध्यक्षको चुनाव लडेर पराजित भएका थिए। 

पराजित भएपछि संसदीय निर्वाचनको लागि टिकट नै नपाएका उनी पार्टीमा जिम्मेवारीविहीन र निष्क्रिय छन् । यसबीच रावललाई पार्टीमा सक्रिय गर्न र गराउन अनेकन प्रयास भएको बताइए पनि सो प्रयास कुनै टुंगोमा पुगेको देखिदैन। 

हालै नेता रावलले आफू एमालेको राजनीति एवं समग्र राजनीतिबाट अर्कै घुम्तीमा पुगेको र आफ्ना शुभचिन्तकको सल्लाहअनुसार चाँडै उचित निर्णय लिने बताएका थिए । पूर्वमन्त्रीसमेत रहेका रावलले आफैंले नयाँ पार्टी खोलेरसमेत सक्रिय राजनीतिमा होमिने संकेत गरेका हुन् । सोहीक्रममा मल्ल र रावलको भेट पनि जुरेको बुझिएको छ ।

टिप्पणीहरू