केदार कार्कीले अन्तरिम आदेश पाएनन्, सर्वोच्चले खोज्यो पाँच प्रश्नको जवाफ

केदार कार्कीले अन्तरिम आदेश पाएनन्, सर्वोच्चले खोज्यो पाँच प्रश्नको जवाफ

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज रिटमाथि सुनुवाई गर्दै संवैधानिक व्याख्याको विषय भएकाले पूर्ण इजलासबाटै निरुपण गर्नुपर्ने ठहर गरेको छ । जेठ ९ गते पूर्ण इजलासमा सुनुवाई हुनेगरी पेशीसमेत तोकिदिएको छ । 

प्रदेश प्रमुख परशुराम खापुङले गरेको सरकार गठनसम्बन्धी आह्वान असंवैधानिक रहेको जिकिर गर्दै कार्कीले त्यसअन्तर्गत भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न आन्तरिम आदेश माग गर्दै हिजो रिट दर्ता गरेका थिए । 

आफू संविधानको धारा १६८(५) अनुसारको मुख्यमन्त्री भएकाले हटाउन नमिल्ने उनको दाबी थियो । तर, अदालतले भने पाँच वटा विषय उठाएर त्यसमा संविधानको व्याख्याको विषय अन्तर्निहित भएकाले पूर्ण सुनुवाईबाट निरुपण हुनुपर्ने ठहर गर्दै निवेदकले मागेअनुसार आदेश दिन नमिल्ने निर्णय गरेको हो । 

पेशी तोकिएको जेठ ९ गतेका लागि यस मुद्दामा न्यायाधीश फुयाँलको इजलासले दुबै पक्षसँग लिखित जवाफसमेत मागेको छ । 

काँग्रेसका विद्रोही सांसद कार्की एमालेको समर्थनमा २०८० असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रीय गठबन्धन विपरित मुख्यमन्त्री नियुक्त भएका उनलाई पछि माओवादी केन्द्रले पनि विश्वासको मत दिएको थियो ।

तर, गत फागुन २१ गते केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि सोही अनुकूलको गठबन्धन बनाउन एमाले र माओवादीका ५२ सांसदले उनीमाथिको समर्थन फिर्ता लिए । तर, धारा १६८ (५) बमोजिमको मुख्यमन्त्री भएकाले आफूले विश्वासको मत लिनु नपर्ने र  राजीनामा पनि नदिने कार्कीको अडानले नयाँ सरकार गठन प्रक्रिया अप्ठेरोमा पर्यो । 

यसैबीच प्रदेश प्रमुखले हिजो बिहान उपधारा ५ बमोजिमकै सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिदिए । दिउँसो एमाले संसदीय दलका नेता हिक्मत कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरे । अपराह्न सांसदहरुको दस्तखत सनाखत गराई प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।     

त्यसविरुद्ध निवर्तमान मुख्यमन्त्री कार्कीले हिजै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

टिप्पणीहरू