संसद बैठकअघि एमाले अध्यक्षद्वारा माधव नेपालप्रति कटाक्ष

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्नुभएको छ । उहाँले नाम उच्चारण नगरी अध्यक्ष नेपाल र सत्तारुढ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमाथि शब्द प्रहार गर्नुभएको हो ।

संसद अधिवेशन शुरु हुनुअघि बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता समीकरणलाई दुई महिनामै ढाल्ने प्रयास भएको उल्लेख गर्नुभयो । सत्ता गठबन्धनमा रहेका दलहरुबाटै उक्त प्रयासका लागि गम्भीर चलखेल सुरु गरिएको उहाँको आरोप छ । 

ओलीले भन्नुभयो, ‘जनता समाजवादी पार्टी नेपाल फुट्नु पनि त्यसकै परिणाम हो ।’ उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रिय दलको मान्यता प्राप्त नगरेको १० सीटेको रुपमा चित्रण गर्नुभएको बताइन्छ ।

गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सन्दर्भमा संसदमा भएको छलफलको सन्दर्भ जोड्दै उहाँले एकीकृत समाजवादी र त्यसका अध्यक्षमाथि तीखो प्रहार गर्नुभएको हो । उहाँले अगाडि भन्नुभयो, ‘म त्यो बेलाको क्षण सम्झिरहेको छु । अहिले उक्त पार्टीका नेताहरुले म प्रधानमन्त्री हुनै आँटे भनेर कसैको मन भतभत पोल्या छ भने । कहाँबाट प्रधानमन्त्री हुन आँटे, कताबाट आँटे ?’

टिप्पणीहरू