अशोकको पुनः दाबी ‘स्थिरताका लागि पार्टी फूट ’

अशोकको पुनः दाबी ‘स्थिरताका लागि पार्टी फूट ’

उपेन्द्र यादवको नेतृत्वबाट फुटेर हालै अस्तित्वमा आएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले आफूहरु राजनीतिक अस्थिरताको कारक नबन्ने पुनः दोहोर्याएका छन् । 

जसपा नेपालबाट छुट्टिएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकै दिन राजनीतिक स्थिरता र वर्तमान सरकारको निरन्तरताका लागि बाध्य भएर पार्टी फुटाउनु परेको जिकिर गरेका उनले आज पनि सोही कुरा दोहोर्याका हुन् । पार्टी विभाजनको औचित्य प्रष्ट पार्न आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार ढाल्ने खेल रोक्न यस्तो कदम उठाउनुपरेको बताए । 

सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको जानकारी पाएको उल्लेख गर्दै अध्यक्ष राईले त्यसका लागि स्थिरता पक्षधरहरु एक ठाउँमा उभिएको दाबी गरे ।

‘सरकारको अंकगणित त मिलेकै थियो, यहाँहरुलाई थाहा छँदैछ । अलिकति अंकगणितलाई फेरफार गर्ने गतिविधि पनि अण्डरकरेन्ट चलिरहेको छ भन्नेकुरा मिडियाहरुमा आयो’, उनले भने, ‘त्यो चिज अलिकति संवेदनशील थियो । त्यसको सत्यता सञ्चार क्षेत्रलाई नै बढी थाहा हुनसक्छ । हामी शतर्क हुनुपर्ने पक्ष के थियो भने अस्थिरताको शिकार जसरी मुलुक बनेको छ, त्यो अवस्था रहनु हुँदैन । त्यसैकारण जनता समाजवादी पार्टी बनिसकेपछि हामी अस्थिरताको कारक हुँदैनौं भनेर हामीले घोषणा गरेका छौँ ।’

राजनीतिक तथा कानुनी क्षेत्रका कतिपय विज्ञहरुले जसपा विभाजनको वैधानिक आधारमाथि प्रश्न उठाइरहेको सम्बन्धमा राईले संविधानसम्मत दल दर्ता गरेको दाबी गरेका छन् । निर्वाचन आयोगले वकिलहरुको बहससमेत गराएर सहमति र स्वीकृति दिएको भन्दै उनले दल दर्ताको वैधानिकतामा कुनै शंका नरहेको उल्लेख गरे । 

अध्यक्ष राईले कसैसँग व्यक्तिगत लेनदेनका आधारमा पार्टी विभाजन नगरेको पनि स्पष्ट पारेका छन् । सैद्धान्तिक, राजनीतिक, कार्यशैली र नीतिगत मतभिन्नता नै विभाजनको कारण रहेको उनले बताए ।

त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएकाले नयाँ पार्टी गठन गर्नुपरेको पनि राईको भनाई छ । महाधिवेशन नै कब्जा गरेर अनियमित ढंगले आफ्नो मुठीभित्र पार्टी राख्ने गतिविधि यादवमा देखिएको र त्यसले यो स्थिति आएको उनको जिकिर छ ।

टिप्पणीहरू