कोशी सरकारबारे महान्यायाधिवक्तासँग परामर्श

कोशी सरकारबारे महान्यायाधिवक्तासँग परामर्श
सुन्नुहोस्

कोशीका प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्ने कि नगर्ने भन्नेबारे प्रदेश  प्रमुख परशुराम खापुङले महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलसँग कानुनी परामर्श गरेका छन् । 

एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठनको आह्वान गर्न माग गर्दै पत्र बुझाएको र काँग्रेसले त्यसो नगर्न आग्रह गरिरहेको अवस्थामा प्रदेश प्रमुख खापुङले आज अपरान्ह महान्यायाधिवक्तासँग राय मागेका हुन् । 

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समय अवधि सकिएको र स्वतः पदमुक्त भएको भन्दै आज दिउँसो एमाले संसदीय दलका नेता हिक्मत कार्की र माओवादी संसदीय दलका नेता इन्द्र आङ्ग्बोले नयाँ सरकार गठनको आह्वान गर्न निवेदन दिएका थिए । मुख्यमन्त्रीले पनि आजै बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई पुनःस्मरण गराएका छन् । 

नयाँ सरकार गठनको आह्वान गरिए कानुनी लडाईंमा जाने काँग्रेसको चेतावनी छ । 

यस्तो स्थितिले अप्ठेरोमा परेका प्रमुख खापुङले संघीय सरकारको कानुनी सल्लाहकारसँग सरसल्लाह गरेका हुन् । महान्यायाधिवक्ता पोखरेलले नयाँ सरकार गठनका लागि आह्वान गर्न सकिने सुझाव दिएमा प्रदेश प्रमुखले आजै सोहीअनुसार गर्ने सम्भावना छ । 

यसअघि उनले संविधान र विगतका नजिर हेरेर निर्णय लिने बताएका थिए । 

एमाले र माओवादी केन्द्रले पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरेका छन् । त्यसका लागि ५२ सांसदको समर्थनसहित सरकारमा दाबी पेश गर्ने बताइएको छ ।

टिप्पणीहरू