त्रिदेशीय सीमा क्षेत्रमा पहिलो पटक गृहसचिव र सुरक्षा निकायका प्रमुखहरु

त्रिदेशीय सीमा क्षेत्रमा पहिलो पटक गृहसचिव र सुरक्षा निकायका प्रमुखहरु

त्रिदेशीय सीमा क्षेत्रमा अनुगमन भ्रमण गर्न पुगेका गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरुसँग व्यास क्षेत्रका स्थानीयबासीले पैदलबाटो सञ्चालनमा ल्याउन माग गरेका छन् । सुरक्षाकर्मीहरुले समेत भारतीय भूमि र बाटो प्रयोग गर्नुपरिरहेको अवस्थाको अन्त्य गर्न उनीहरुको आग्रह छ ।

हेलिकोप्टरमा आज बिहान छाङरुको गागा पुगेका गृहसचिव एकनारायण अर्यालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग स्थानीयले पैदल बाटोको माग प्रमुखताका साथ उठाएका छन् । तीन वर्षअघि स्थापना गरिएको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छाङ्रु र गतवर्षदेखि सञ्चालन गरिएको तिंकर बिओपी तथा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरु निरीक्षण गर्न उच्च सुरक्षा अधिकारीहरु त्यहाँ पुगेका हुन् । 

आधा घण्टासम्म स्थानीयबासीसँग गृहसचिवसहितको टोलीले छलफल गरेको थियो । ‘हाम्रा सुरक्षाकर्मीले स्वदेशकै पैदलबाटो हिँड्ने व्यवस्था गर्न माग गरेका छौं’ छाङरुका स्थानीयबासी योगेश सिंह बोहराले भने । उनका अनुसार स्थानीयका कुरा र माग सरकारी अधिकारीहरुले ध्यानपूर्वक सुनेको र सम्बोधन हुने प्रतिउत्तर दिएका छन् । 

नेपालतर्फबाट व्यासक्षेत्र जोड्ने पैदलबाटो सञ्चालनमा छैन । महाकाली नदी किनारमा भारतीय सडक निर्माणले ठाँउठाउँमा क्षतिग्रस्त भएको बाटो पाँच वर्षदेखि बन्द छ । पैदलबाटोको एलाइनमेन्टमा नेपाली सेनाले दार्चुला–टिंकर सडक निर्माण गरिरहे पनि सुस्तगतिमा चलिरहेको सडक निर्माणले पैदलबाटो समेत खुलाउन सकेको छैन । 

व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङदेखि दोपाखेसम्मको करिब १५ किलोमिटर लामो क्षेत्रमा तत्काल सडक निर्माण कार्य थालेर पैदलबाटो खोल्नुपर्ने उनीहरुको माग छ । बाटो निर्माणको प्रमुख मागसहित वडा नम्बर १ का वडाध्यक्ष अशोक सिंह बोहराले गृहसचिवलाई सदरमुकाम खलंगामा ७ बुँदे मागपत्र पनि बुझाएका छन् । 

नदी किनारको भिरालो ठाउँ र कडा चट्टान भएकाले जिलेटिन प्रयोग गरेर मात्रै यसक्षेत्रमा सडक र पैदलबाटो सञ्चालनमा ल्याउन सकिने अवस्था छ । ‘दुम्लिङदेखि कल्जु हुँदै तम्बाकुसम्मको २÷३ किलोमिटर लामो क्षेत्रमा अहिले सेनाले सडक निर्माण गरिरहेको छ’ वडाअध्यक्ष बोहराले भने । तर, थिइभीर, मौराभीर, घाटिबगर र दोपाखेसम्मको क्षेत्रमा तत्काल सडक निर्माण थालिएमा पैदलबाटो सञ्चालनमा आउनसक्ने बताइन्छ । 

भारतको धारचुलास्थित एसडिएम कार्यालयबाट परमिट (लिखित अनुमतिपत्र) बनाएर व्यासका स्थानीयबासीका साथै नेपाली सुरक्षाकर्मीले पनि अहिले सो क्षेत्रसम्म आवतजावत गरिरहेका छन् । धारचुलादेखि गब्र्याङ हुँदै सीतापुलसम्मको भारतीय सडक मार्गमा तीन घण्टामै यात्रा गर्न सकिन्छ । यता, नेपालको पैदलबाटो लामो र जोखिमपूर्ण भएकोले सञ्चालनमा आउन सकेको छैन । 

दुम्लिङदेखि कल्जु र थिइक्षेत्र हुँदै घाटिबगर जोड्ने वैकल्पिक पैदलमार्ग भए पनि व्यासको छाङरु पुग्न दुइ दिन लाग्ने गर्छ । लामो, जोखिमपूर्ण र कष्टकर पैदलबाटो भएकोले जोकोहीले पनि अहिले भारतीय मोटरमार्ग प्रयोग गर्दै आएका छन् । 

महाकालीको किनारैकिनार सेनाले दुम्लिङदेखि दोपाखेसम्मको झण्डै १५ किलोमिटर लामो सडक निर्माण गर्न सकेमा भने दुम्लिङबाट छाङरुसम्म ५÷६ घण्टामै पैदल यात्रा गर्न सकिने वडाअध्यक्ष अशोक सिंह बोहराको भनाई छ । 

व्यासबासीका तर्फबाट वडाध्यक्ष बोहराले गृहसचिव अर्यालसँग कौवाक्षेत्र र बुँदीक्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्न माग गरेका छन् । सीमा प्रशासन कार्यालय व्यासमै सञ्चालन गर्न, सीमा प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयमा रुपान्तरण गर्न, बुँदी र दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुंगेपुल निर्माण गर्न र इलाका प्रहरी कार्यालय तिंकरको भवन पुननिर्माण गर्न पनि आग्रह गरिएको छ । 

चीनको ताक्लाकोट बजार जोड्ने तिंकर नाका खुल्ने तयारी भइरहेकाले तिंकर र सीतापुलमा छोटी भन्सार कार्यालय सञ्चालन गर्नुपर्ने स्थानीयकोे आवाज छ । गृहसचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा हेलिकोप्टरबाट छाङरुको गागामा ओर्लिएका थिए भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखद्वयले तिंकरको छियालेकसम्मको यात्रा गरेका हुन् । 

छियालेकस्थित बिओपी भवनको नयाँ संरचना र इलाका प्रहरी कार्यालयको जीर्ण भवनको दुबै आइजिपीले अवलोकन गरेका छन् । दुई दिनअघि मात्रै छाङरुबाट तिंकरको छियालेक सरेका सशस्त्र र नेपाल प्रहरीको सुरक्षाकर्मी टोलीलाई आइजिपीहरुले आवश्यक निर्देशन समेत दिएका छन् । 

सशस्त्र र नेपाल प्रहरीका संगठन प्रमुखहरु पहिलोपटक त्रिदेशीय सीमाक्षेत्रको अन्तिम गाउँ तिंकरस्थित छियालेक बिओपी र इप्रकामा पुगेका छन् । यसअघि २०७७ सालमा तत्कालीन गृहमन्त्री रामवहादुर थापा बादलसहित गृहसचिव र सशस्त्रका तत्कालीन आइजिपी व्यासको छाङरु र गागामा पुगेका थिए । तर तिंकरमा भने हालसम्म कुनै पनि उच्चसुरक्षा अधिकारीले पाइला टेकेका थिएनन् । हेलिकोप्टरबाट तिंकर गाउँको हवाइफन्को भने धेरै नेता र अधिकारीहरुले लगाइसकेका छन् ।

टिप्पणीहरू