नेकपा एसले सरकार नछाड्ने, बजेट निर्माणलगायतका कार्यमा प्रभावकारी भूमिका खेल्ने

नेकपा एसले सरकार नछाड्ने, बजेट निर्माणलगायतका कार्यमा प्रभावकारी भूमिका खेल्ने

नेकपा एकीकृत समाजवादी (एस)ले सरकार नछाड्ने कुरा पुनः दोहोर्याएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनपछि नेकपा एसले सरकार छोड्नसक्ने चर्चा भैरहँदा हिजो संसदीय दलको बैठक राखेर सरकारमै रहने सो पार्टीले निर्णय गरेको थियो । त्यसको २४ घण्टा नबित्दै आज केन्द्रीय सचिवालयको बैठकले सोही कुरा दोहोर्याको हो । 

मुलुकमा विकसित राजनीतिक घटनाक्रमलाई गहिरो विश्लेषण गर्दै सचिवालय बैठकले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीका सांसदहरुलाई निर्देशन पनि दिएको छ । 

त्यस्तै, महाधिवेशनको कामलाई छिटो सम्पन्न गर्न सम्बन्धित कमिटीहरुलाई बैठकले सचेत गराएको प्रवक्ता खतिवडाले बताए । बैठकमा नेताहरुले आन्तरिक एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पार्टीभित्र कुनै समस्या नभएको बैठकले निष्कर्ष निकालेको नेकपा एसले जनाएको छ । हिजो संसदीय दलको बैठकले पनि यहि कुरा प्रष्ट्याएको थियो ।

टिप्पणीहरू