सेनाका सन्तानलाई छात्रवृत्ति दिन आवेदन संकलन गरिँदै

सेनाका सन्तानलाई छात्रवृत्ति दिन आवेदन संकलन गरिँदै
सुन्नुहोस्

नेपाली सैनिकका सन्तानलाई दिइने छात्रवृत्तिका लागि आवेदन संकलन शुरु गरिएको छ । सैनिक कल्याणकारी निर्देशनालयबाट प्रदान हुने ‘सैनिक कल्याणकारी छात्रवृत्ति, २०८० (स्वदेश)’ को आवेदन संकलन गर्न थालिएको हो । 

सेनाको कल्याणकारी बोर्ड, हिताधिकारी कल्याण केन्द्र, बागमती प्रदेशले गत शैक्षिक सत्रको छात्रवृत्तिको आवेदन संकलन खुलेकोबारे सेनाका हिताधिकारीहरुलाई जानकारी गराउन सबै फोकल पर्सनलाई निर्देशन दिएको छ । बोर्डले पत्राचार गर्दै आ–आफ्नो जिम्मेवारी जिल्लामा बसोबास गर्ने हिताधिकारीलाई तोकिएको समयभित्र आवेदन पेश गर्न सूचित गराउन भनेको छ । 

‘नेपाली सेना कल्याणकारी बोर्डको उपरोक्त सम्बन्ध पत्रबाट लेखी आएअनुसार सैनिक कल्याणकारी निर्देशनालयबाट प्रत्येक शैक्षिक सत्रमा नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त सकल दर्जाका छोराछोरी (१ जना मात्र) लाई वितरण गरिँदै आइरहेको ‘सैनिक कल्याणकारी छात्रवृत्ति (स्वदेश)’ अन्तर्गत गत शैक्षिक सत्र २०८० को छात्रवृत्ति संकलन गर्न मिति २०८१–०१–१६ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको हुँदा आ–आफ्नो जिम्मेवारी जिल्लामा बसोबास गर्ने नेपाली सेनाका हिताधिकारीहरुलाई तोकिएको समयभित्र आवेदन पेश गर्न जानकारी गराउनुहुन...’, पत्रमा उल्लेख छ । 

साथै, सोसम्बन्धी कुनै जानकारी चाहिएमा निर्देशनालयको शिक्षा महाशाखाको फोन नम्बर ०१–५९७९४२८ मा सम्पर्क गर्न वा नेपाली सेनाको बेभसाइट र मोबाइल एप हेर्न सूचित गराइएको छ । निर्देशनालयबाट प्रत्येक शैक्षिक सत्रमा सेनाका बहालवाला तथा अवकाशप्राप्त सकलदर्जाका एक जना सन्तानलाई छात्रवृत्ति प्रदान गरिँदै आइएको छ । 

कक्षा ४ देखि १२ सम्म अध्ययनका लागि वर्षेनि प्रतिविद्यार्थी २० हजार रुपैयाँ दिइन्छ । छात्रवृत्तिको आवेदन पेश गर्न सो शैक्षिक सत्रमा कक्षा ४ देखि १२ उत्तीर्ण र २१ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।
 

टिप्पणीहरू