अरिजित सिंहको कन्सर्ट आयोजकलाई कर तिर्न तोकता

अरिजित सिंहको कन्सर्ट आयोजकलाई कर तिर्न तोकता

काठमाडौं महानगरपालिकाले भारतीय गायक अरिजित सिंहको साङ्गीतिक कार्यक्रम (कन्सर्ट) आयोजना गरेको ग्यारेज इन्टरटेण्टमेण्टलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ । 

गत मंसिर ९ गते हायात होटलमा सो कन्सर्ट आयोजना गरिएको थियो । तर, आयोजक ग्यारेज इन्टरटेनमेन्टले कर नबुझाएको जनाउँदै महानगरले सार्वजनिक सूचना निकालेर आगामी ३५ दिनभित्र कर तिर्न ताकेता गरेको हो । 

महानगरले ग्यारेज इन्टरटेण्टमेण्टसहित एमएन प्रोडक्सन, गोपीकृष्ण मुभिज, एलओडीलगायतलाई पनि कर बुझाउन भनेको छ । त्यस्तै, गत माघ १६ गते पत्राचार गरिएका दोहोरी साँझ, डान्स बार र नाइटक्लबहरुलाई पनि कर बुझाउन महानगरले चेतावनी दिएको छ ।

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०८० ले तोकेको दर रेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक–पटक लिखित, फोन तथा मौखिक जानकारी गरिएतापनि वेबास्ता गरेको उल्लेख गर्दै महानगरले तोकिएको अवधिभित्र कर दाखिला नगरे सोही ऐनको दफा २१ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । 

‘उक्त अवधिभित्र कर दाखिला नगरे-नगराएमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

टिप्पणीहरू