नेपालसँगको सम्बन्ध थप मजबुत बनाउन जापान तयार

नेपालसँगको सम्बन्ध थप मजबुत बनाउन जापान तयार

नेपालको औपचारिक भ्रमणमा रहेकी जापानी विदेशमन्त्री कामिकावा योकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय सिंहदरबार आज अपरान्ह भएको भेटवार्तामा द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालको आर्थिक एवम् सामाजिक विकासमा जापान सरकारले सहयोग पु¥याउँदै आएको बताउनुभयो । उहाँले नेपालको पूर्वाधार एवम् आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो । 

सो अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटमा परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताका, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटालगायत उपस्थित थिए ।

टिप्पणीहरू