कार्पेट कारखानामा लागेको आगो चार घण्टापछि नियन्त्रणमा, पौने दुई करोडको सम्पत्ति जलेर खरानी

कार्पेट कारखानामा लागेको आगो चार घण्टापछि नियन्त्रणमा, पौने दुई करोडको सम्पत्ति जलेर खरानी

भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित ज्योति प्लाई कार्पेट कारखानामा आगलागी हुँदा पौने दुई करोडको क्षति पुगेको छ । 

गएराति १२ बजे स्थानीय सन्तोषमान श्रेष्ठले सञ्चालन गर्दै आएको उक्त कारखानामा अचानक आगलागी हुँदा एक करोड ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको हो । 

आगलागीबाट दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र सोही कारखानामा काम गर्ने भारत घर भएकी मर्नु उर्वा गम्भीर घाइते भएका छन् । उनीहरुको हाल काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल र स्थानीयको संयुक्त प्रयासमा मध्यरातिबाट सुरु भएको आगो बिहान ४ बजे नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट ७ वटा दमकल तथा चार वटा पानी ट्यांकर प्रयोग गरिएको थियो । 

अहिले पनि उक्त स्थानमा धुँवा आइरहेकोले दमकल र स्काईभेटरको सहयोगमा निभाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू