भेट्टाइएका दर्जनौं मोटरसाइकल सम्बन्धित सवारीधनीलाई

भेट्टाइएका दर्जनौं मोटरसाइकल सम्बन्धित सवारीधनीलाई

प्रहरीले दुई दर्जन चोरीका दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका तथा चोरी भएका २४ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीको जिम्मा लगाएको जनाएको छ । 

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले आज कार्यालयमा आयोजित एक कार्यक्रममा १९ वटा मोटरसाइकल र ५ वटा स्कुटर  सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जानकारी दिए । पेप्सीकोला, कपन, गौशाला, बौद्ध, माछापोखरी, सीतापाइला, स्वयम्भू, जावलाखेल, इमाडोल, थलीलगायत विभिन्न स्थानबाट हराएर खोजतलासका क्रममा भेटिएका सवारी साधन फिर्ता गरिएको उनको भनाइ छ । 

उनका अनुसार आज बुझाइएकासहित चालु आर्थिक वर्षमा ३३५ वटा सवारीसाधन सम्बन्धित सवारीधनीको जिम्मा लगाइसकिएको छ । त्यसैगरी, चोरीमा संलग्न २९ जनालाई कारबाहीको निम्ति सम्बन्धित प्रहरी परिसर तथा प्रहरी वृत्त पठाइएको छ । 

कार्यालयले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिएको जनाएको छ । एकान्त र सुनसान स्थानबाट सवारी साधन चोरी हुने गरेको पाइएपछि कार्यालयले आफ्नो सवारी साधन सुरक्षाका लागि जनचेतना पनि फैलाउँदै आएको छ ।

टिप्पणीहरू