दोहोरो नागरिकता नलिएको कैलाश सिरोहियाको दाबी, छानविन गर्न राज्यलाई चुनौती

दोहोरो नागरिकता नलिएको कैलाश सिरोहियाको दाबी, छानविन गर्न राज्यलाई चुनौती

दोहोरो नागरिकता लिएको दाबीसहित आफूविरुद्ध  प्रहरीमा उजुरी परेपछि उनको सो प्रतिक्रिया आएको हो । सिरोहियाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मैले २०३४ मा नागरिकता लिएकोमा नेपाली कागजको प्रति पुरानो भएकोले २०५७ मा प्रतिलिपि लिएको हुँ । जसमा २०३३-३४ को प्रतिलिपिअनुसार भनेर स्पष्ट उल्लेख छ । नम्बर पनि उही छ, मैले अरु नागरिकता लिएको छैन ।’

उनले २०३४ मा आफूले नागरिकता लिएपछि ०३६ मा सोही नम्बरको अर्को नागरिकता जारी गरिएको दाबी गर्दै अनुसन्धान गर्न चुनौतीसमेत दिएका छन् । हिमालयन रि-इन्सोरेन्सको प्रवन्ध पत्रमा भएको गलत नम्बर कम्पनीले टाइप गर्दा गल्ती गरेको सिरोहियाको प्रष्टोक्ति छ । 

‘२०३४ मा मैले नागरिकता लिएपछि २०३६ मा अरु कसैका नाममा त्यही नम्बर लेखिएको छ भने मेरो जिम्मेवारीको विषय होइन,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘त्यस्तै, हिमालयन रि–इन्स्योरेन्सको प्रबन्धपत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले नै जानकारी दिएको छ । अझ, प्रबन्धपत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्यतथ्य आफैं स्थापित हुन्छ ।’

राज्यलाई शंका लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्ने उल्लेख गर्दै सिरोहियाले कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएकाहरुले स्टन्टबाजी गरेको हुनसक्ने बताए । 

‘कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले स्टन्टबाजी गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुनेछ । विभिन्न कालखण्डका शासकहरुले विगतमा पनि यस्ता हत्कन्डा गरेका हुन्, तर कान्तिपुरले गर्दै आएको निर्भिक पत्रकारिता आफैंमा पर्याप्त जवाफ हो,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

 

दोहोरो नागरिकता लिएको भन्दै सर्लाहीका इन्द्रजितप्रसाद महतोले हिजो जिल्ला प्रहरी कार्यालय धनुषामा अध्यक्ष सिरोहियाविरुद्ध उजुरी दर्ता गराएका हुन् । जाहेरीमा सिरोहियाले विभिन्न निकायमा पेश गरेको नागरिकता नम्बर फरक–फरक रहेकोले छानबिन गर्न माग गरिएको छ ।

टिप्पणीहरू