परीक्षा केन्द्रमा मोबाइल निषेध

परीक्षा केन्द्रमा मोबाइल निषेध

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्रहरुमा मोबाइल लैजान पूर्ण निषेध गरेको छ । जारी कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षा केन्द्रहरुमा मोबाइल लैजान रोक लगाइएको बोर्डले जनाएको छ । 

बोर्डले आज सूचना जारी गर्दै केन्द्राध्यक्षबाहेक अन्य कसैले पनि मोबाइल लैजान नपाउने स्पष्ट पारेको छ । बोर्डका अनुसार केही परीक्षा केन्द्रमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएको हो ।  

‘कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न परीक्षा हलमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि मोबाइल लैजान पूर्णतः निषेध गरिएकोमा निर्देशनविपरीत केही परीक्षा केन्द्रहरुमा मोबाइलको अनाधिकृत प्रयोग भएको पाइएकोले त्यसतर्फ बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । केही परीक्षा केन्द्रमा मोबाइलको प्रयोग गरी अनियमित कार्य गर्ने परीक्षार्थीहरु समेतको मोबाइल जफत गरी कारबाही गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराँउदै अब उप्रान्तसमेत परीक्षा केन्द्रमा मोबाइल लैजान पूर्णतः निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइएको छ’, सूचनामा उल्लेख छ । 

त्यस्तै, अनुगमनका क्रममा मोबाइल साथमा राखेको वा प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गरिने चेतावनी दिइएको छ । कक्षा १२ को परीक्षा आउँदो वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।

टिप्पणीहरू