दुई दिन पनि कुर्न नसक्ने देश

दुई दिन पनि कुर्न नसक्ने देश
सुन्नुहोस्

नियुक्ति यसरी दिइयो कि मानौं,सफाई दिइएकै त्यसैका लागि हो । दुई दिनअघि मात्र विशेष अदालतबाट क्लिन चिट पाएका मधु मरासिनीलाई सोमबार बिहान ११ बजेको क्याबिनेट बैठकले अर्थसचिवको जिम्मेवारी दियो र दिउँसै ३ बजे स्वागत र कृष्णहरि पुष्करको बिदाइ कार्यक्रम राखियो । अपर्झट सचिवद्वयलाई रमाना गर्नुपर्दा अर्थका कर्मचारीको दौडधूप हेर्नलायक देखिन्थ्यो ।

तर, कानुनी क्षेत्रका जानकारहरूचाहिँ सरकारको पछिल्लो निर्णयले संवैधानिक निकायलाई ठाडै च्यालेञ्ज गरेको टिप्पणी गर्दै छन् । तिनै मधुसहित ९ जनालाई अख्तियारले २३ करोडको भ्रष्टाचार मुद्दा चलाएको थियो । विशेषले क्लिन चिट दिए पनि फैसलाको पूर्ण पाठ आइसकेको छैन । त्यो नआई कुनै पनि फैसला परिपक्व मानिँदैन । उदाहरणका लागि रेशम चौधरीलगायत कर्मचारीका दर्जनौं नजिर छन्, जसलाई अदालतबाट पूर्णपाठ आएपछि मात्र कार्यान्वयनमा लगिएको छ । हिजो बजेट महाशाखा प्रमुख हुँदा प्रश्नचिह्न उठेको मन्त्रालयमै जिम्मेवारी दिएर पठाउनुलाई अचम्मको मान्छन् जानकारहरू । यो निर्णय अख्तियारलाई नै पचेको छैन । एक आयुक्तले जनआस्थालाई प्रतिक्रिया दिँदै भने, ‘हतारोमा लिइएको सरकारको उक्त निर्णयले संवैधानिक निकायलाई ठाडै चुनौती दिएको ठानेका छौं ।’

नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेषले टेलिकमका तत्कालीन एमडी सुनिल पौडेललाई मात्र दोषी ठहर गरेको छ तर अख्तियारका अधिकारीहरू सुनिल एक्लैले त्यसरी भ्रष्टाचार गर्न नसक्ने ठोकुवा गर्छन् । विशेषबाट हारेका अधिकांश मुद्दामा अख्तियार सर्वाेच्चको ढोका ढक्ढक्याउन पुगेको छ । यो प्रकरणमा पनि फैसलाको पूर्णपाठ आउनासाथ पुनरावेदनमा जाने तयारी छ ।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा राजश्व दरमा भएको हेरफेरमा ‘मुसा छिर्दा’ मरासिनी अर्थसचिव थिए । व्यापक आलोचना भएपछि उद्योगमा पुगे । त्यही रहँदा अख्तियारले मुद्दा हाल्यो असोज १५ गते । सात महिना निलम्बनमा परे । पहिला–पहिला बजेट महाशाखा प्रमुखको संयोजकत्वमा नयाँ बजेटको मस्यौदा हुने गथ्र्यो । यसचोटि उक्त महाशाखामा रितेश शाक्य छन् । तर, एमाले उपाध्यक्ष विष्णु पौडेलको टिमका राजश्व महाशाखा प्रमुख धनीराम शर्माको संयोजकत्वमा बजेट मस्यौदा समिति गठन गरिएको छ । रितेश त्यसको सदस्य मात्रै छन् । अन्य सदस्यमा महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मालाई राखिएको छ ।

उसो त निजामती प्रशासन संयन्त्रमा हुलाक समूहको बोलवाला रहेको टिप्पणी गर्छन्, प्रशासकहरू । अर्थसचिव मधु मरासिनी र मुख्यसचिव बैकुण्ठ अर्याल ‘तँ–तँ र म–म’ चल्ने साथी हुन् । दुबै हुलाक सेवाबाट उठेका । निजामती सेवामा ३७ वर्ष बिताएका उनी अबको १० महिनापछि घर फर्कंदै छन् ।

हुलाक सेवा समूहबाट प्रशासनमा छिरेका राजन खनाल, शान्तराज सुवेदी, राजेन्द्र शर्मा लुडारी, बैकुण्ठ अर्याल, किशोरजंग कार्की, मुक्तिनारायण पौडेल, स्वर्गीय शान्तबहादुर श्रेष्ठ, भरत पौडेल र जयमुकुन्द खनाललगायत हुन् । जसमध्ये जयमुकुन्द कुनै दाग नलागी घर फर्किए । भरत परराष्ट्र हुँदै अहिले क्यानाडाका निम्ति राजदूत छन् । बाँकी अर्थ र राजश्वमै रमाएका हुन् ।

मुख्यसचिव बैकुण्ठ अर्याल दाहिने भएका प्रशासकको भाग्य र भविष्य कसरी चम्कन्छ भन्ने अर्काे उदाहरण हुन, मुकुन्द निरौला । उद्योगबाट सरुवा भएर उपराष्ट्रपति कार्यालय पुगे । त्यहाँ २ दिन मात्र हाजिर गराएर उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ ।

टिप्पणीहरू