सडक र पुल : कसरी फुट्ला विकासको मूल

सडक र पुल : कसरी फुट्ला विकासको मूल फाइल फाेटाे
सुन्नुहोस्

नेपाल सरकारको लगानी रहेका अधिकांश पुल तथा सडक योजना बीचैमा अलपत्र पर्ने गरेका छन् । प्रत्येक वर्ष पुलमात्रै एक हजारभन्दा बढीको संख्यामा निर्माण गर्ने भन्दै रातो किताबमा कनिका जसरी बजेट छर्ने चलनले गर्दा सडक र पुल अलपत्र पर्ने गरेका हुन् । नेपाल सरकारले बनाउँदै गरेको उदयपुर–सुनकोशी नदी र त्रियुगा खोलाको पुललगायत विभिन्न जिल्लाका पुल तथा सडक अलपत्र अवस्थामा छन् ।

मध्यपहाडी लोकमार्ग, लिंकरोड, कोशी कोरिडरलगायत सडक र सयौं पुलको अवस्था बर्बाद छ । सरकारले आफ्नो लगानीमा शुरु गरेका सतप्रतिशत सडक र पुल निर्माणको ठेक्कामा रकम अभाव देखिएको छ । तापनि, सरोकारवालाको कानमा बतास नलागेको बताइन्छ । अर्कोतर्फ बजेटको अभाव नहुने एडिबी र विश्व बैंकको सहयोगका बुटवल नारायणगढ, बुटवल पोखराको काम शुरु भएको छैन भने मुङलिङ पोखराको अलिअलि काम हुँदै छ । कतिपय चिनियाँ कम्पनीले कम दरमा ठेक्का लिने र समयमा काम गर्न नसक्ने समस्या छ ।

अहिले सडकमा बजेटको अभाव छ भने अर्कोतर्फ काम गर्ने समय दुई महिनामात्रै बाँकी छ । त्यसपछि वर्षा लाग्ने, नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले उपलब्ध बजेट पनि समयमा खर्च हुन नसक्ने र बाढीपैरोलगायत प्राकृतिक प्रकोप देखाउँदै ठेकेदारहरू उम्किन खोज्ने खतरा छ ।

जति चाहिने हो त्यति मात्रैलाई स्वीकृति दिई बजेट विनियोजन गर्ने नीति छैन । नेताहरूको स्वार्थअनुकूल थोरैतिनो बजेट रातो किताबमा उल्लेख गरी ठेक्का लगाउने चलन छ । यसै कारण सबै सडक र पुलपुलेसा बहुवर्षीय र क्रमागत योजनाका रूपमा बन्ने हुने गरेका छन् भने समयमा काम नसकेर ठेकेदार भाग्ने, सरकारलाई पैसा दिन नसकेको भन्दै दोष थोपरेर उम्कने गरेका छन् ।

कतिपय ठेकेदारले भने पेश्की रकम लिनका लागि काम थालेजस्तो गर्ने र प्राप्त भएपछि मोजमस्तीमा खर्च गर्ने भएकाले पनि कतिपय काम अलपत्र परेको बताइन्छ । गत वर्ष मात्रै साना–ठूला गरी २४४ वटा पुल निर्माण भौतिक योजना मन्त्रालयले सम्पन्न गरेको छ । यसबारे नीतिगत छलफल गर्न संसदीय समितिले पनि ध्यान नदिएको बताइन्छ ।

मन्त्रीसँगै सचिव र डिजी सोत्तर

नयाँ सरकारको भौतिक योजनामन्त्री रघुवीर महासेठ बनेलगत्तै सचिव केशव शर्मा मिल्किएका छन् । उनको बदलामा गोपाल सिग्देललाई भित्र्याइएको छ । अघिल्लो पटक महासेठ मन्त्री हुँदा दुवै जना सडक विभागका डिजी नै थिए । सडक विभागअन्तर्गत अहिले करिब २५ सय कर्मचारी कार्यरत छन् ।

एकातिर जाइकाको सहयोगमा निर्माणाधीन राजधानी काठमाडौं जोड्ने नागढुंगा सुरुङमार्गको काम निर्माण सम्पन्न हुन लागेको छ । उसकै सहयोगमा कोटेश्वर अण्डरपास भन्ने सडक योजना निर्माण गर्ने सम्झौता अन्तिम चरणमा पुगेको छ । सो अण्डरपास तीनकुनेबाट मनहरा पुलसम्मको सडकका रूपमा निर्माण गरिने छ ।

 

टिप्पणीहरू