विमानस्थलमा विदेशिनेको बाढी

विमानस्थलमा विदेशिनेको बाढी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,मुलुकको सबैभन्दा जेठो अन्तर्राष्ट्रिय विमानस्थल । सबैभन्दा धेरै भीड हुने स्थलमध्ये एक । जतिबेला पनि यहाँ मान्छेको चाप देख्न सकिन्छ ।  आगमन र प्रस्थान कक्ष जुनसुकै बेला भरिएकै हुन्छ । 

नेपाल छोड्नेको संख्या बढेसँगै विमानस्थलमा चाप बढ्नु स्वाभाविकै हो । विमानस्थल छिर्नेबित्तिकै भएभरका मान्छे त्यही छन् जस्तो अनुभूति हुन्छ । नेपाल रित्तिनै लागेकोजस्तो महसुस हुन्छ । हुन पनि हो,मुलुकमा रोजगारीको अवसर सिर्जना हुन नसक्दा विदेशिने क्रम बढ्दो छ । 

कतिपय गाउँबस्ती युवाविहिन भइरहेको समाचार सार्वजनिक भइरहेको छ । दिनहुँ हजारौं नेपाली श्रमशक्ति विदेश पलायन भइरहेका छन् । खाडी, मलेसिया,जापान, गणतन्त्र कोरियालगायत विभिन्न मुलुक नेपालीको गन्तव्य बनिरहेको छ । दैनिक झण्डै दुई हजार नेपाली बाहिरिने सरकारी तथ्याङ्क छ ।

विमानस्थलमा आज पनि मान्छेको अत्यासलाग्दो चाप देखिएको थियो । अन्य दिनको तुलनामा विमानस्थलमा बढी भीड देखिन्थ्यो । कतिपयले त्यहाँको ‘सर्भर डाउन’ भएको अनुमान लगाए । केहीले भने दुबईमा भएको भीषण वर्षाका कारण उडान रोकिएकाले चाप बढेको हुनसक्ने बताए । 

आज मात्रै होइन,जहिले यस्तै चाप हुन्छ । यहाँ भीड हुनलाई केही कारण नै चाँहिदैन । एउटा यात्रु बिदाई गर्नका लागि बिसौं जना आउँछन् अनि विमानस्थलमा जताततै चाप देखिनु त स्वाभाविकै हो,

विमानस्थलमा भीड हुनेबित्तिकै यात्रुले ‘सर्भर डाउन’ को अनुमान लगाउनु नौलो विषय होइन । किनकि विमानस्थलको सर्भरमा बारम्बार समस्या देखिइरहन्छ । केही दिनअघि बत्ती जाँदा कर्मचारीको दौडादौड हुने लाजमर्दो परिस्थिति बनेको थियो । जेनेरेटर चलाउन इन्धन नहुँदा कर्मचारीको भागदौड मच्चिएकै हो । 

विमानस्थलका कर्मचारीदेखि लिएर प्रविधिसम्म सुस्त गतिमा चल्छन् । त्यसैले पनि यात्रुले सास्ती खेप्दै आएका छन् । देशविदेशका नागरिकलाई घण्टौंसम्म लाइनमा उभ्याएर राख्नु त चलन नै भइसकेको छ । यात्रुले खेप्दै आएको अर्को प्रमुख समस्या फ्लाइट डिले पनि हो । 

त्यसैले विमानस्थलमा अलिकति चाप हुनेबित्तिकै यात्रुले होहल्ला शुरु गरिहाल्छन् । तर,आज भने त्यस्तो कुनै घटना भएको थिएन । विमानस्थल कार्यालयमा सम्पर्क गर्दा एक जनालाई छोड्न बिसौं जना आएकाले चाप थेगिनसक्नु भएको जवाफ पाइयो । 

‘विमानस्थलमा आज मात्रै होइन,जहिले यस्तै चाप हुन्छ । यहाँ भीड हुनलाई केही कारण नै चाँहिदैन । एउटा यात्रु बिदाई गर्नका लागि बिसौं जना आउँछन् अनि विमानस्थलमा जताततै चाप देखिनु त स्वाभाविकै हो’, एक जना ड्युटी अफिसरले भने । 

विमानस्थलमा धेरै चाप हुन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वागत वा बिदाई गर्न तीन जनाभन्दा बढी आफन्त जान नपाउने व्यवस्था गरेको थियो । सो व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन । जसले गर्दा भीड व्यवस्थापन गर्न समस्या परेको छ ।

टिप्पणीहरू