मन्त्रीसामु नेताद्वारा करोडौं "घुस अफर"

मन्त्रीसामु नेताद्वारा करोडौं "घुस अफर"
सुन्नुहोस्

७८ वर्षीय नवनियुक्त एक मन्त्रीले आइतबार पदभार ग्रहण गर्दै आर्थिक अनियमिततामा संलग्न हुनुपर्ने अवस्था नबनाइदिन कर्मचारीसँग आग्रह गरेका छन् ।

ती मन्त्री हुन् हिजो दिउँसो शपथ खाएका जसपाका बृद्ध नेता नवलकिशोर साह सुडी । शपथ लिएर अपराह्न वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका उनले आफूलाई कुनै पनि आर्थिक अनियमितताका घटनामा संग्लन नगराइदिन भनेका हुन् । 

यसअघि आफू मधेश प्रदेश सरकारमा पाँच वर्ष सामाजिक विकासमन्त्री हुँदा यस्ता अफर आउने गरेको बताउँदै साहले त्यसलाई पूर्णत: अस्वीकार गरेको स्मरण गरे । उनले सम्झिए, '३० करोडको प्रोजेक्टमा छ करोड रुपैयाँ कमिशन दिन्छु भनी राजनीतिक दलका नेता प्रस्ताव लिएर आएका थिए । तर, कमिशन लिएर घोटाला गर्ने आफ्नो औकात नभएको भनी जवाफ दिएर फर्काइदिएँ ।'
 
आफूबाट यस किसिमको काम नहुने बरु मुख्यमन्त्रीलाई प्रस्ताव राख्दा हुन्छ भनी फर्काएको घटना सुनाए । उक्त कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले छानविन गरिरहेको छ । 

साह गत चुनावमा सप्तरीबाट निर्वाचित भएका हुन् । सिके राउतको प्रभाव मानिने सप्तरीबाट उनले पाँच हजार बढी मतले जितेका थिए । सप्तरीकै अर्को निर्वाचन क्षेत्रबाट अध्यक्ष उपेन्द्र यादव सिके राउतसँग १८ हजारभन्दा बढी मतले चुनाव हारेको समेत उनले सो अवसरमा सुनाए ।

आफू सधैं ‘इजी मान्छे’ भएको बताउँदै आफ्नो राजनीतिक सफलताको कारण पनि त्यही रहेको मन्त्री साहको भनाई छ । प्रदेशमा मन्त्री हुँदा प्रत्येक शनिबार र आइतबार निर्वाचन क्षेत्रको हरेक गाउँ,टोलमा विकास निर्माणको काममा खटिराख्ने गरेको बृद्ध मन्त्रीले बताए ।

प्रदेशमा मन्त्री हुँदा विद्यालय,सडक,मन्दिर, धर्मशाला निर्माणमा खटेर लागेको सन्दर्भ उल्लेख गर्दै उनले अहिले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित कामका लागि २४ घण्टा तयार रहने प्रतिवद्धता जनाए । यद्यपि उनीमाथि प्रदेशमा मन्त्री हुँदा बजेट आफ्नो क्षेत्रमा केन्द्रित गरेको, छोरालाई मन्त्रालयमा हावी हुन दिएको आरोप छ । 

उता यौटै जिल्लाका उपेन्द्र यादव र नवलकिशोरलाई मन्त्रिपरिषद्मा समावेश गरेर मधेसका अरु जिल्लालाई उपेक्षा गरेको भन्दै जसपाका नेताहरु असन्तुष्ट बनेका छन् ।

टिप्पणीहरू