सभाहल र शौचालयमा भ्रष्टाचार, एक दर्जनविरुद्ध मुद्दा दायर

सभाहल र शौचालयमा भ्रष्टाचार, एक दर्जनविरुद्ध मुद्दा दायर

दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रसहित पालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, लेखा अधिकृत विजय लुईंटेल, लेखापाल रामबहादुर कार्की, इन्जिनियर सुबोधकुमार चापागाई, सबइन्जिनियर सृजना दुवालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको बताइएको छ । 

त्यस्तै, वडा नम्बर १ र ४ का तत्कालीन वडाध्यक्षहरु क्रमशः महेश्वर काफ्ले र होमबहादुर श्रेष्ठ, वडा नम्बर ३ का वर्तमान वडाध्यक्ष रामप्रसाद काफ्ले, उपभोक्ता समितिका अध्यक्ष ईराजन पोखरेल, सचिव नम्रता महत र कोषाध्यक्ष माण्डवी पोखरेलविरुद्ध समेत मुद्दा दर्ता गरिएको छ ।  

तामाकोशी गाउँपालिका वडानम्बर ३, स्थित जफे जामुनेमा सभाहल तथा शौचालय निर्माणमा उनीहरुको मिलेमतोमा भ्रष्टाचार भएको पाइएको छ ।

अख्तियारका अनुसार नक्साबमोजिमको काम नगरिएको, गैरकानूनी तवरबाट बजेट निकासा गरिएको र हाल अलपत्र अवस्थामा रहेको उक्त भवनको रकम उपभोक्ता समितिलाई भुक्तानी दिइएको छ । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम १२ लाख ८९ हजार ३२० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदावीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू