किन बद्नाम बन्दै गयो कम्पनी रजिष्ट्रारको कार्यालय ?

किन बद्नाम बन्दै गयो कम्पनी रजिष्ट्रारको कार्यालय ?
सुन्नुहोस्

त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालय बेलाबेलामा निकै विवादमा आउने गरेको छ । त्यसैले बेफ्वाँकमा बदनाम हुनबाट जोगिन नेपाल सरकारका धेरैजसो सहसचिव उक्त अड्डामा जान नचाहेको पाइन्छ । 

हालै दिवश आचार्यको सरुवा उक्त कार्यालयमा भयो । असोज लागेपछि  सरुवा भएका उनी त्यहाँ जान हिचकिचाएको बताइन्छ । दिवश कुनै हालतमा त्यहाँ नजाने भएपछि हालका प्रमुख रजिष्ट्रार महेश बरालले नै हाकिमको जिम्मेवारी निर्वाह गर्ने भएका छन् ।

यसबीचमा नायव सुब्बा श्रीराम पौडेलको रवाफले सीमा नाघेको त्यहिँका कर्मचारीहरुले बताउन थालेका छन् । पौडेल उद्योग मन्त्रालयअन्तर्गतका काँग्रेस समर्थित कर्मचारीहरुको विभागीय युनियन अध्यक्ष हुन् । उनको व्यवहारबाट सेवाग्राहीहरुसमेत आजित भएका कतिपय उदाहरण बाहिरिएको छ ।

उनी पछिल्लो समय पब्लिक कम्पनी शाखामा केही महिनादेखि कार्यरत छन् । रजिष्ट्रार बरालको चाहना विपरित मन्त्री रमेश रिजालको सचिवालयमा कार्यरत एक जना कर्मचारीको आडमा उनले सरुवा थमौती गराएको भन्नेहरु पनि कार्यालयभित्रै देखिन थालेका छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर लगत अभिलेख गर्दा सेयरवालाको रकम बैंकमा जम्मा गरेको (बैंक स्टेटमेण्ट) अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था छ । तर, श्रीरामका धेरैजसो सिफारिसमा उक्त अनिवार्य व्यवस्थाको पालना भएको पाईंदैन ।

बैंक स्टेटमेण्टबिना सेयर लगत गरिदिँदा त्यसको प्रत्यक्ष असर आईपीओ जारी गरेपछि सर्वसाधारण सरोकारवालाको सेयर लगानीमा चुनौती थपिन्छ । यसबाट लगानी डुब्ने खतरा पनि उत्तिकै हुन्छ । कतिपय कम्पनीको प्रशासनिक कार्य सम्पन्न गर्न उनले गरेको दौडधुप निकै रोचक देखिने गरेको नियमित रुपमा कार्यालय धाउने गरेका सेवाग्राहीहरु बताउँछन् । 

कम्पनी मर्जरमा करोडौंको सेयर लगत अभिलेखको कार्य हुन्छ । खेलोफड्को गर्नेलाई यस्तो मौका स्वर्ग हुने भुक्तभोगीहरुको भनाई छ । यसबाट सम्बन्धित कम्पनीको साखमाथिसमेत प्रश्न चिन्ह उठ्न सक्छ ।  पौडेल यसअघि अन्य शाखामा रहँदा पनि विवादमा तानिएका थिए । 

एउटा सुब्बाको सरुवा र थमौतीमा जिल्लाबासी कानुनमन्त्रीको समेत नाम चर्चामा ल्याइएको छ । तर, मन्त्री धनराज गुरुङको निजी सचिवालयमा कार्यरत कर्मचारी र उनी निकटस्थहरुले उक्त चर्चालाई आधारहीनको संज्ञा दिएका छन् ।

विगतमा पनि उनले कार्यालय समयभन्दा अघि र पछि फाइल उठाएको सन्दर्भलाई त्यहाँका हाकिमले गम्भीरतापूर्वक लिएका थिए । तर अहिले उक्त कार्य पुनः दोहोरिएको बताइन्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा मौलाएको ‘धन्दा’ बारे उद्योग तथा वाणिज्यमन्त्री रमेश रिजालको सचिवालय जानकार रहेको पाइएको छ । त्यसबारे जनआस्थाले राखेको जिज्ञासामा मन्त्री निकट स्रोतले भन्यो, ‘वास्तविकता बुझ्दै छौं । यथार्थ बुझेर आवश्यक रुपमा प्रशासनिक कदम चाल्ने छौं ।’

रिजालले आवश्यक निर्णयको निम्ति मन्त्रालयमा पठाएका कतिपय फाइल र सिफारिसबारे स्वयम् मन्त्री रिजाल असन्तुष्ट रहेको सन्दर्भलाई पनि उक्त कार्यालयमा भइरहेका गलत गतिविधिसँग जोडेर हेरिएको बताइन्छ ।

टिप्पणीहरू