व्यवसाय दर्ता गर्न असोज मसान्तको समयसीमा

व्यवसाय दर्ता गर्न असोज मसान्तको समयसीमा

भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्र सञ्चालनमा रहेका व्यापार–व्यवसायलाई अविलम्ब दर्ता हुन निर्देशन दिएको छ । 

असोज मसान्तको समयसीमा तोकेर नगरपालिकाले पसल, उद्योग, निजी शैक्षिक संस्था, वित्तिय संस्था, सञ्चार केन्द्र, स्वास्थ्य संस्था तथा अन्य प्रकारका व्यवसायिक कारोबार दर्ता गर्न भनेको हो । त्यस्तै, दर्ता गरेर सञ्चालनमा ल्याइएका व्यवसायहरु पनि सो अवधिमा नवीकरण भइसक्नुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार तोकिएको समयभित्र व्यवसाय नवीकरण गर्नेलाई आकर्षक छुट दिइने छ । ‘आ–आफ्नो व्यापार–व्यवसाय अनिवार्य रुपमा दर्ता गर्न–गराउनुहुन तथा व्यवसाय दर्ता गरी नवीकरण गराउन बाँकी व्यवसायीहरुले समेत दर्ता भएका कार्यालयबाट व्यवसाय नवीकरण गर्नु–गराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, नगरपालिकाको सूचनामा उल्लेख छ । 

व्यवसाय दर्ताका लागि निवेदन, व्यवसाय रहने जग्गाधनीको लालपूर्जाको प्रतिलिपि, अन्य निकायमा दर्ता भएको प्रमाण भएमा त्यसको प्रतिलिपि, व्यवसायीको नेपाली नागरिकताको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्छ । 

त्यसैगरी, नवीकरणका लागि व्यवसाय नवीकरणको निवेदन, घरजग्गा बहाल सम्झौताको प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, व्यवसाय दर्ताको सक्कलै प्रमाणपत्र पेश गर्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ ।
 

टिप्पणीहरू