सिंहदरबारमा फौजीबीच संवेदनशील सल्लाह

सिंहदरबारमा फौजीबीच संवेदनशील सल्लाह

‘टीकापुरमा ड्युटीका प्रहरी लखेटै लखेटी मार्नेलाई किन माफी मिनाह दिएर जेलबाट छाडियो ? राष्ट्रपतिका निम्ति हेलिप्याड बनाउन प्रहरी तालिम केन्द्रलाई किन पनौतीतिर सार्न खोजियो ? धर्मका कारण शान्तिसुरक्षालाई पर्ने असरबारे सरकारले के सोच्दै छ ? मदरसाको समस्या छ, क्रिश्चियनहरू बढ्दै छन् ।’ यो चिन्ता पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेलले आइतबार गृहमन्त्रीद्वारा आयोजित छलफल कार्यक्रममा पोखेका हुन् । त्यसैमा उपस्थित अर्का पूर्वआइजी ओमविक्रम राणाले थपे, ‘सुष्मा स्वराज फाउण्डेशनको नाममा हाम्रो परराष्ट्र नीतिमा घुसपैठ हुने खतरा छ । नेपाली सेनाको डिफेन्स युनिभर्सिटीभित्र भारतीय सेना क्षमता अभिवृद्धि गर्न आउने कुरा छ । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीको पनि नाम मुछिएको छ । सानोलाई मात्र कारबाही हुने हो कि ठूलोलाई पनि समातिन्छ ?’ पूर्वआइजीपीहरूको सवाल सुन्दै गम खानेमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । भेलाका सहभागीमा पूर्व आइजिपीहरू रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली र धिरजप्रताप सिंह थिए भने सशस्त्र प्रहरीका शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त, शैलेन्द्र खनाल, पुष्पराम केसी, सिंहबहादुर श्रेष्ठ, एआइजीपी ठाकुरमोहन श्रेष्ठ, सुवोध अधिकारी, कृष्ण विष्ट, ऋषभदेव भट्टराई देखिए ।

यीमध्ये पूर्वआइजी खरेलले गृहमन्त्री श्रेष्ठका कामको प्रशंसा गर्दै भने, ‘सुझाव धेरै दिइयो, तर सबै रद्दीका टोकरीमा मिल्किए । यसपालि राम्रो काम शुरु गर्नु भएकोले आउन मन लाग्यो । प्रहरीमा चेनअफ कमाण्ड बलियो हुनुपर्छ । प्रहरीको पोस्टिङ मन्त्रालयले गर्ने, दोष भने आइजीले बोक्नुपर्ने ? यस्तो हुनु भएन । यो सबै बिग्रेको राजनीतिकरणले हो’, उनले थपे,’ गृह मन्त्रालयमा जहाँबाट पनि टपक्क टिपेर ल्याउँदै सचिव बनाउनुहुँदैन । त्यसरी टिपेर ल्याइएका एक जना अहिले जेलमा छन्, गृह मन्त्रालयलाई विशिष्टिकृत नगरे मुलुकमा मणिपुरजस्तो घटना हुन सक्छ ।’ स्मरणीय छ, मणिपुरमा असम राइफल्स र स्थानीय प्रहरीबीच गोलीवारीसमेत भएको थियो ।

रवीन्द्रप्रताप शाहले फुक्काफाल हुँदै सोधे, ‘प्रदेश प्रहरी किन बनेन ? कि नराख्ने भनेर संविधान संशोधन गर्न सक्नुपर्‍याे कि त बनाउनुपर्‍याे । नयाँ आइजीपीको नियुक्ति घर जानेको अन्तिम दिन राति हुने यो कस्तो प्रचलन हो ? यसो गर्दा कसलाई इञ्चार्जसिप बुझाउने ? यस्तो बेथिति कहिलेसम्म ?’ प्रश्नमाथि प्रश्न ठडिए पनि गृहमन्त्री श्रेष्ठ भने चुपचाप टिपोट गरिरहेका थिए । भेलाका अर्का सहभागी पूर्व सशस्त्र आइजीपी पुष्पराम केसीले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने र साविकमा विशिष्ट श्रेणीले परिचालन गर्ने सशस्त्र प्रहरीलाई अहिले सिडिओले परिचालन गरेकोमा दुःखमनाउ गरे ।

सशस्त्रकै पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठले भने, ‘विगतमा आतंककारी घोषणा गरिए पनि तपाईंहरू सुध्रिएर यहाँसम्म आएकोमा खुशी लागेको छ ।’ उनले सशस्त्र प्रहरीमा बढुवाका लागि सुटकेश र बोरामा पैसा बोकेर हिँड्नुपर्ने अवस्था भएको दाबी गर्दै हिजो आमनेसामने लडेका छौँ, अहिले सँगै छाैँ । तर आइजीपीहरू किन जेल गए भनी प्रतिप्रश्न गरे । श्रेष्ठले आफुमाथि परेको मर्का पोख्दै यो पनि भने, ‘आधारभूत तालिम नगरेकोलाई आइजीपी बनाइयो । त्यस्तालाई सेना र प्रहरीले सलाम गर्न पर्‍याे ।’ श्रेष्ठको यो भनाइपछि उपस्थित अन्यले पूर्वआइजी कोषराज वन्ततिर नजर दौडाएका थिए । श्रेष्ठले गृहसचिव पार्टीको कार्यकर्ताजस्तो देखिने गरेको र रातभर दारु खाएर निर्णय हुन थालेकोेमा दुखेसो पोख्दै माओवादीसँग लड्न मात्र सशस्त्र प्रहरी नबनेको दाबी गरे । उनले गृहमन्त्रीकै अगाडि निर्धक्कसाथ भने, ‘गौंडा कुर्न सशस्त्र जानुपर्ने तर राष्ट्रपतिको सुरक्षामा किन बाहेक गर्ने ? युएन मिसनमा जान नपाउने हो भने सशस्त्रको व्यारेक खाली हुन्छन्, कोही जागिर खान आउँदैनन् । बरु रुस र युक्रेनको सेनामा भर्ती हुन बेर लाउँदैनन् ।’

सहसचिव केदारनाथ शर्माले सञ्चालन गरेको कार्यक्रममा गृहसचिव दिनेश भट्टराईले सहभागीलाई स्वागत गर्दै भेटघाटको उद्देश्य र औचित्यबारे मन्तव्य राखेका थिए । 
 

टिप्पणीहरू