प्रधानमन्त्रीसहित शीर्ष नेताहरु सिंहदरबारमा छलफल गर्दै

प्रधानमन्त्रीसहित शीर्ष नेताहरु सिंहदरबारमा छलफल गर्दै

प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुबीच छलफल जारी छ । 

सभामुख देवराज घिमिरेले बोलाउनु भएको सो बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङ र प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ ।

बैठकमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भैरहेको बताइएको छ । 

गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा १० वटै समितिको बैठक बसेको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई आज छलफलमा बोलाउनुभएको हो ।

टिप्पणीहरू