प्रधानमन्त्री चढ्ने गाडी मन्त्रीले ताकेपछि...

प्रधानमन्त्री चढ्ने गाडी मन्त्रीले ताकेपछि...

प्रधानमन्त्री प्रदेशतिर गएको बेला चलाउने भनिएको गाडी थियो, अटोमेटिक इञ्जिनयुक्त फुलअप्सनवाला । तर, चालक राखिए भाडाको बोलेरो जीप चलाउने गाउँले केटा । यसरी जान्ने चालकलाई धनगढीमै छोडेर जिल्ला घुम्न हिँडेका मन्त्रीले बाटैमा धर्ती छाड्नुपरेको छ । 

गत हप्ता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पत्नी र भाउजूसहित दुर्घटनामा निधन भएको हो । उनीहरू सवार गाडी डडेल्धुराबाट चैनपुर जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिका, धारछडास्थित सडकबाट ५० मीटर तल कालंगा खोलामा झरेको थियो । सुपप्र ०१–००१ झ ४८० नम्बरको उक्त गाडी अटोमेटिक सिष्टमको थियो । तर, चालक धर्मराज जोशी सो गाडी चलाउन अनुभवी थिएनन् । धनगढीस्थित मन्त्रालयमा उक्त गाडी चलाउन सक्ने केही चालक थिए । गाउँमै भाडाको बोलेरो गाडी चलाएर जीविकोपार्जन गर्ने धर्मराजलाई मन्त्री सिंहले १ महिनाअघि आफू मन्त्री नियुक्त हुनासाथ विश्वासिलो र गोपनीयताको नाममा उक्त गाडी चलाउन लगाएका थिए । त्यो कुरामा निकटस्थहरूले नै विरोध जनाए । स्वचालित तथा फुलअप्सनको उक्त गाडी पहाडी बाटोमा चलाएको अनुभव नभएका चालकलाई चलाउन दिनुहुँदैन भनी विरोध हुँदा मन्त्रीले ‘विस्तारै सिक्छ’ भन्ने गरेका थिए ।

तर, ती चालकले विस्तारै सिकेनन्, परिवारसहित आफ्नै ज्यान लिइदिए । त्यसमाथि प्रदेशमा प्रधानमन्त्रीसहितका उच्चपदस्थ पाहुना आएको बेला तिनलाई चढाउनका लागि राखिएको गाडी थियो त्यो । उनीअघिकी आन्तरिक मामिला मन्त्री पूर्णा जोशीले त्यही कारण उक्त गाडी चढ्ने गरेकी थिइनन् । धनगढी र आसपासका ठाउँमा जाँदा मन्त्री सिंहले पनि सो गाडी चढ्ने गरेका होइनन् । तर, धनगढीबाट बझाङ नै जाने भएपछि ‘छिटो पुगिन्छ’ भन्दै सो गाडीमा चढे । 

दुर्घटना हुनुभन्दा आधा घण्टा पहिला सबैले खाना खाएका थिए । प्रादेशिक मुख्यमन्त्री कार्यालयका सचिव गंगाबहादुर खरेल नेतृत्वको ७ सदस्यीय टोली हिजै मात्र छानबिनका लागि घटनास्थल पुगेको छ र उसको अनुमान छ, चालक खाना खाएपछि झुप्पझुप्प निदाउनाले गाडी नियन्त्रणबाहिर गयो र दुर्घटना भयो । दासढुंगामा अमर लामाले मदन–आश्रित चढेको जीप त्रिशुलीमा खसालेझैँ त्यो बाटोमा कुनै खाल्डो, ढुंगा वा पहाड छल्नुपर्ने थिएन । सीधा दौडिएको गाडी सामान्य मोड्दा मोडिएन र सीधै तल खस्यो । त्योभन्दा अगाडि सुरक्षाकर्मी सवार एस्कर्टिङको गाडी थियो र पछाडिको गाडीमा मन्त्रीका छोरासहित आठ जना थिए । अगाडि र पछाडिका गाडी केही भएनन्, मात्र त्यो गाडी सडकबाट खोलातिर झरेको पाइयो । अर्थात्, चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ । 
 

टिप्पणीहरू