नागरिकता लिन दशौँ हजार लगानी

नागरिकता लिन दशौँ हजार लगानी

भौगोलिक विकटताका कारण एक जनाको नागरिकता प्राप्तिका लागि नागरिकले १४ हजार रूपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका सर्वसाधारणले भोग्नुपरेको छ । 

सडक सञ्जाल नहुने, एकै दिनमा नागरिकता बनाएर फर्कन नसक्ने, नागरिकताका लागि आवश्यक कागजात पुग्न नसक्दा पटक–पटक फर्कनुपर्ने जस्ता कारण नागरिकले नागरिकता प्राप्तिमै सास्ती व्यहोर्नुपरेको जनप्रतिनिधिले बताएका छन् । संघीयताको मर्मअनुसार पनि नागरिकले सहज सेवा प्राप्त गर्न सकेका छैनन्’, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले भन्नुभयो, ‘जतिबेला चाहियो उतिबेला नागरिकता लिन जाने परिस्थिति विकटताकै कारण भएको छ । जसकारण नागरिकले थप दुःख पाएका छन् ।’

इलाका प्रशासन कार्यालय स्थापनाका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि सहज नभएको गाउँपालिका अध्यक्ष थिङले बताउनुभयो । छिमेकी गाउँपालिका महाभारतमा साविकका १०  वटा गाउँ विकास समिति रहँदाको इलाका प्रशासन रहेकाले त्यहाँका नागरिकले नागरिकता, राहदानीलगायत सेवामा सहजता प्राप्त गरे पनि खानीखोलामा त्यसो हुन नसक्दा नागरिकले दुःख पाइरहेको अवस्था छ । खानीखोलाबाट सदरमुकाम पुगेर एक जनाको नागरिकता बनाई फर्कंदा १४ हजार रूपैयाँसम्म खर्च हुने गरेको छ । 

‘आउन जान बसको भाडा, सदरमुकाममा नागरिकता प्राप्त गरेर बास बस्नुपर्ने अवस्था र खाजा तथा खानाको खर्च दुई जनाको १४ हजार रूपैयाँसम्म भएको छ’, पूर्व वडाध्यक्ष दुर्गा तिमल्सिनाले भन्नुभयो, ‘काभ्रेकै सडकबाट सदरमुकाम पुग्न सक्दा मात्रै त्यति खर्चले नागरिकता बन्न सक्ने भए पनि मकवानपुरको बाटो हुँदै जाने हो भने अझै धेरै खर्च हुनेछ ।’ त्यही कारण नागरिकले पैसा हुँदा मात्रै नागरिकता बनाउने गरेका छन् ।

हरेक परिवारसँग नागरिकता बनाउन जाने खर्च नभएका कारण जतिबेला त्यसको आवश्यकता पर्छ त्यतिबेला लिने गर्दासमेत प्रशासनले त्यो समयसम्म नागरिकता किन लिएन ? भनी सोधखोज गर्दैन । स्थानीय तह भएको केही वर्षपछि प्रशासनमार्फत नागरिकता शिविर सञ्चालन भएको थियो । अहिले शिविर नभएका कारण पनि नागरिकले नागरिकताका लागि थप संकट ब्यहोर्नु परेको स्थानीयले बताए  

– मोतीराम तिमल्सिना

टिप्पणीहरू