‘बूढानीलकण्ठ स्कुलको अनियमितता छानबिन गरियोस्’

‘बूढानीलकण्ठ स्कुलको अनियमितता छानबिन गरियोस्’

नेकपा एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले बूढानीलकण्ठ आवासीय विद्यालयमा भएको आर्थिक चलखेल तथा पदीय जिम्मेवारीको दुरुपयोगबारे छानबिन गर्न माग गरेको छ । 

मुलुककै उत्कृष्ट र अग्रणी मानिएको विद्यालयमा विद्यार्थी भर्ना प्रक्रियाअन्तर्गत प्रवेश परीक्षामा उत्तीर्णलाई छाडेर अनुत्तीर्णलाई भर्ना गरेपछि अनेरास्ववियूले आपत्ति जनाउँदै छानबिनको माग गरेको हो । 

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै आर्थिक चलखेल तथा पदिय जिम्मेवारीको दुरुपयोग गरेर अनुत्तीर्ण विद्यार्थीहरुलाई भर्ना गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

मेरिट बेसका आधारमा विद्यार्थीको भर्ना नगरिनु निन्दनीय पक्ष भएको उल्लेख गर्दै उनले यस वर्षको भर्ना प्रक्रियामा गरिएको अनियमितताले विद्यालयको उच्च प्रतिष्ठामा गम्भीर प्रश्न उठेको बताएका छन् । 

‘हरेक वर्ष कक्षा ५ र अन्य विद्यार्थी रिक्त भएका कक्षाहरुमा प्रवेश परीक्षाको मेरिट बेसका आधारमा भर्ना लिँदै आएको बूढानीलकण्ठ आवासीय विद्यालयले यस वर्षको भर्ना प्रक्रियामा गरेको अनियमितताले यस विद्यालयको उच्च प्रतिष्ठामाथि गम्भीर प्रश्न उठेको छ’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, मुलुककै शिक्षा क्षेत्रमा प्रतिष्ठित छवि बनाएको विद्यालय आर्थिक र प्रशासकीय अनियमिततामा मुछिनु दुःखद पक्ष भएको अनेरास्ववियूको ठम्याई छ ।

टिप्पणीहरू