अख्तियार पुगेका बिचौलिया बीचैमा अलप

अख्तियार पुगेका बिचौलिया बीचैमा अलप

नक्कली भुटानी शरणार्थी प्रकरण र अख्तियारबीच के हो साइनो ? पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि सचिवसम्म पक्राउ परी अनुसन्धान भइरहेका बेला तत्कालीन गृहसचिव प्रेमकुमार राईचाहिँ कसरी चोखा भए ? के अख्तियारले यससम्बन्धी उजुरीलाई तामेलीमा राखेकै हो ? यसबारे रोचक विवरण फेला परेको छ । हाल पक्राउ परेकासहित तीन–चार जना सहायक बिचौलिया गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीविरुद्ध रकम असुली र ठगीको मुद्दा दर्ता गर्न रातो घर पुगेका थिए । 

त्यसबेला अख्तियार प्रमुख राईसँग सो समूहले गृहमन्त्री र सचिवलाई समेत बुझाउनुपर्छ भन्दै रकम उठाएकोले असुलउपर गराइपाऊँ भन्ने जिकिर गरेको थियो । त्यसक्रममा राईले ठगी र रकम असुलीका विषय अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर भएको भन्दै प्रहरीमा जान सुझाएको बुझिएको छ । उनले सहकारीले गरेको बदमासी सहकारी विभागले, बैंकिङ कसुर राष्ट्र बैंकले रकम असुलीका उजुरी प्रहरीले हेर्ने भन्दै ठगीको मामिलामा  अख्तियारसम्बन्धी ऐन र भ्रष्टाचार निवारण ऐन पनि आकर्षित नहुने भएकाले यस्तो विषयका उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), जिल्ला प्रहरी र अपराध अनुसन्धानमा जान सुझाएका थिए । उनीहरु सिआईबीमा उजुर दिन तयार भएपछि राईले उनीहरूकै अगाडिबाट त्यहाँका प्रमुख सहकुल थापालाई मेरो नाम पनि भजाएर ठगी गरेको भन्ने उजुरी तपाईंकहाँ पठाएको छु । गम्भीर रूपमा छानबिन गर्नुहोला भनी फोन गरिदिए ।

तर, उनीहरू उजुरी लिएर सिआइबीमा गएनन् । भोलिपल्ट तत्कालीन डिआइजी सहकुलले उजुरीकर्ता नआएको खबर गरे । राईले उजुरी आए दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइदिनु भनी फेरि सम्झाए । उजुरीमाथि छानबिन शुरु हुँदा आफैं पक्राउ पर्ने छेकछन्द बुझेपछि सहायक बिचौलिया समूह एकाएक पछि हटेको र पैसा बुझाउनेहरुले अति नै पेल्न थालेपछि पोहोर जेठ १९ गते उपत्यका अपराध अनुसन्धान गुहार्न पुगेको अभिलेखमा देखिन्छ । अख्तियार गएर बीचैमा हराउने गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीको उजुरी एक वर्षअघि नै परे पनि प्रहरी तात्न थालेको चाहिँ दुई महिनाअगाडिदेखि मात्रै हो । यदि यसमा अमेरिका स्वयंले चासो नदेखाएको भए यो प्रकरण यसरी अगाडि बढ्ने नै थिएन । 
 

टिप्पणीहरू