भ्रष्टाचारमा लिप्त मधेश, एउटै स्थानीय तहका दुई दर्जनविरुद्ध विशेष अदालतमा मुद्दा

भ्रष्टाचारमा लिप्त मधेश, एउटै स्थानीय तहका दुई दर्जनविरुद्ध विशेष अदालतमा मुद्दा

-सन्ताेष बराइली

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन प्रमुख रामबल्लभ साहसहित २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको निष्कर्षसहित बिगो असुलउपर र कैद सजाय हुनुपर्ने मागदाबी गर्दै गत वैशाख ७ गते मुद्दा दायर गरेपछि मधेश प्रदेश तरंगित बनेको छ ।  

स्थानीय तहमा हुने आर्थिक अनियमितता र बेथितिविरुद्ध उजुरी गर्दागर्दै थाकेका मधेशका आम नागरिक अख्तियारको उजुरीपछि आशावादी बनेका छन् । लामो मौनताबाट ब्युँझिएर अख्तियारले मधेश प्रदेशका स्थानीय तहमा भइरहेको अनियमितता र भ्रष्टाचारउपर कारबाही गर्नमा चासो देखाएको हो ।

मधेशका स्थानीय तहमा हुने गरेका भ्रष्टाचारको हिसाबबारे साध्य छैन । गत आर्थिक वर्षमा स्थानीय तहबाट ३३ दशमलव १ प्रतिशत भ्रष्टाचारको उजुरी परेको थियो । जसमा २४ दशमलव २५ प्रतिशत मधेशका आठ जिल्लाबाट परेको अख्तियारको तथ्याङ्कमा उल्लेख छ ।

खुल्लमखुल्ला भ्रष्टाचारको थलो लक्ष्मीपुर

दक्षिण भेगको देहातमा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा खुल्लमखुल्ला श्रृङ्खलाबद्ध रूपमा अनियमितता हुँदै आएको जनगुनासो छ । पौराणिक पतारी पोखरी जिर्णोद्वार तथा राजा हरिसिंह देव मन्दिर निर्माणका लागि विनियोजित एक करोड ५० लाख रुपैयाँ रकमान्तर गरेर भ्रष्टाचार गरेको बताइन्छ ।  

मन्दिर निर्माण र जिर्णोद्वारका नाममा गाउँपालिकाले प्रत्येक आर्थिक वर्ष करोड बढी रकम विनियोजन गर्दै आएको भए पनि हालसम्म पोखरी वरिपरी ढलान गर्नेबाहेक कुनै काम अघि बढ्न सकेको छैन । अति भएपछि स्थानीयहरुले गाउँपालिका प्रमुख साह, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महत, वडा नम्बर ३ का वडाध्यक्ष हनुमान मण्डल र उक्त पोखरी जिर्णोद्वार उपभोक्ता समितिमा बसेका वडाध्यक्षका भाइ अनरुद्रकुमार मण्डलविरुद्ध सप्रमाण बर्दिवासस्थित अख्तियारको कार्यालयमा उजुरी हाले । यद्यपि, अख्तियारले यो विषयमा मौनता साँध्यो ।

त्यस्तै, गाउँपालिकामा कृत्रिम उपभोक्ता समिति खडा गरेर करोडौँ रुपैयाँ अनियमितता भएकोबारे पनि अख्तियारमा उजुरी पर्यो । सडक निर्माण, सडक मर्मत, जिर्णोद्वार, ढल निर्माण, सडक ग्राभेल, पुल निर्माण, खानेपानी, सौर्य प्यानल जडान, सरसफाइलगायत विभिन्न कामका लागि भन्दै समितिमार्फत पटकपटक एक लाखदेखि २९ लाख रुपैयाँसम्म निकासा गरेको प्रमाण पनि आम नागरिकहरुले जुटाएका थिए ।

तर, अख्तियार चल्मलाएन । गाउँपालिकाका वडाध्यक्ष र सचिवबीच आफ्नै नाममा बजेट निकासा गर्ने होडबाजी चलेको पनि खुल्न आयो । वडा नम्बर ३ का वडाध्यक्ष हनुमान मण्डलले वडा कार्यालयसँग आफैंले सम्झौता गरेर आफ्नै नाममा एक लाख ५० हजार रुपैयाँ निकासा गरेको प्रमाण पनि भेटियो । अख्तियारमा यसको विरोधमा पनि उजुरी परेको थियो ।

वडा सचिवहरुको मनोमानी

गाउँपालिकाका विभिन्न वडामा भएका वडा सचिवहरुले पदको दुरुपयोग गरेर मनोमानी गरेको पाइएको छ । उनीहरुले आफ्नो नाममा रकम निकासा गर्दै मनलाग्दी खर्च गर्ने गरेका थिए । त्यसरी रकम निकासा लिने पहिलो नम्बरमा पर्छन् वडा नम्बर ६ का तत्कालीन वडा सचिव फेकु यादव । उनले पटकपटक यसरी रकम लिएको खुलासा भएको छ । सीतापुर बजारको माछामासु हटिया स्थानान्तरणका नाममा उनले ९६ हजार ९९९ रुपैयाँ लिएको देखिन्छ ।

मुखिया टोलको पूर्वसडक मर्मत तथा ह्यूमपाइप हाल्ने कामका लागि उनले ८३ हजार ३६८ रुपैयाँ र वडा कार्यालय कम्पाउण्डमा स्टोर निर्माण शीर्षकमा ७३ हजार ८६० रुपैयाँ ४३ पैसा निकालेको पुष्टि भइसकेको छ । भैपरी आयोजना शीर्षकमा पनि ९७ हजार रुपैयाँ आफ्नै नाममा निकासा गरेको देखिन आएको छ । सचिव यादवसँगको सबै सम्झौतामा गाउँकार्यपालिकाको तर्फबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतले हस्ताक्षर गरेका छन् ।

सीतापुरकै स्वास्थ्य चौकी मर्मत तथा रंगरोगनका लागि भन्दै उनले तीन लाख ५० हजार रुपैयाँ लिएका छन् । वडा नम्बर ३ का तत्कालीन वडासचिव शकंरबहादुर बिसीले गाउँपालिकाबाट आफ्नै नाममा सम्झौता गरेर एक लाख रुपैयाँ निकासा गरेको पाइएको छ । गाउँ कार्यपालिकाको लेटरप्याडमा तयार पारिएको सम्झौतापत्र र कार्यादेशमा योजनाको नाम भैपरी हुने सडक मर्मत तथा विकास कार्यक्रम उल्लेख गरिएको छ ।

पत्रमा फर्म एवम् व्यक्तिको नाम लेख्ने ठाउँमा वडासचिव बिसीको नाम उल्लेख गरिएको छ भने हस्ताक्षर पनि उनैले गरेका छन् । गाउँ कार्यपालिकाको तर्फबाट तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमारको नाम उल्लेख छ । उनले नै हस्ताक्षर गरेको देखिन्छ । वडा नम्बर १ का तत्कालीन वडासचिव घुरण यादवले पनि गाउँ कार्यपालिकासँग सम्झौता गरेर आफ्नो नाममा ९२ हजार १५० रुपैयाँ निकासा गरेको पाइएको छ ।

वडाका खेलाडीहरुको प्रशिक्षण, पोशाक तथा सामग्री खरिद शीर्षकमा उनले रकम लिएका हुन् । माटो र ग्राभेलको काम गर्न भन्दै उनले पुनः ९७ हजार रुपैयाँ आफ्नै नामबाट रकम निकालेका थिए । यसमा पनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमारले हस्ताक्षर गरेका छन् । त्यसरी पैसा निकाल्ने अर्का हुन्, वडा नम्बर ५ का तत्कालीन वडासचिव हनुमान यादव । उनले पञ्जिकरण शिविर चलाउन भन्दै १४ हजार ५५० र भैपरी हुने सडक तथा विकास कार्यक्रमका लागि भनेर ९७ हजार लिएको पाइएको छ । बजेट निकासाका लागि औपचारिकता पूरा गर्नका लागि खडा गरिएको दुवै सम्झौतापत्रमा एउटै अधिकृतले मात्रै हस्ताक्षर गरेका छन् ।

 

मनपरी बाँडिन्छ पैसा

कर्मचारीलाई मात्रै होइन, गाउँपालिकाले व्यक्तिको नाममा पनि धमाधम निकासा दिएको खुलस्त भएको छ । वडा नम्बर १ का मनिकलाल यादवलाई गाउँ कार्यपालिकाले भैपरी हुने सडक मर्मतका लागि भने ९७ हजार रुपैयाँ दिएको पाइएको छ । उनलाई रकम निकासा गरेको सम्झौता पत्रमा पनि अधिकृत रविन्द्रकुमारले नै हस्ताक्षर गरेको देखिन्छ ।

मधेशी दलित उभ्याएर ब्रम्हलूट

विभिन्न उपभोक्ता समितिमा मधेशी दलितलाई ‘डमी’ को रुपमा खडा गरेर गाउँपालिकाले लाखौं रुपैयाँ भ्रष्ट्राचार गरेको पनि छताछुल्ल भइसकेको छ । यसका थुप्रै लिखित प्रमाण फेला परेको स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘गाउँपालिकाले विभिन्न विकास निर्माणका लागि गठित उपभोक्ता समितिमा पदाधिकारीका रुपमा सदा, पासवान, खत्वे, तत्मा थरका दलितहरुलाई डमिको रुपमा खडा गरेर झण्डै एक करोड रुपैयाँ अनियमितता गरेको लिखित प्रमाण छ ।’

जरैबाट ऐन कानुनको उल्लंघन

गाउँपालिकाका प्रमुख साहले प्रमुख प्रशासकीयहरुको आडमा नियमकानुन मिचेर धेरै काम गरेका छन् । आर्थिक वर्ष ०७४–०७५ मा गाउँपालिकाको वडा नम्बर ६ मा भएका सम्पूर्ण विकास निर्माण, गोष्ठी, प्रशिक्षण, तालिमलगायत विभिन्न योजनाहरु आफ्नो सहोदर भतिज राजेशकुमार साहलाई गैरकानुनी ढंगबाट सम्झौता गरेका थिए । राजेशकुमारले विभिन्न समितिमा रहेर भ्रष्ट्राचार गरेकै पैसाले पैतारीमा पक्की घर ठड्याएका छन् । एउटा आर्थिक वर्षभरीको सबै काम एउटै व्यक्तिलाई जिम्मा दिनु ठाडै कानुनी राज्यको उपहास गर्नु हो ।

कमिसनको प्रलोभन र आफ्ना नातागोतालाई सम्पन्न बनाउने मृगतृषणाले गर्दा गाउँपालिकाका प्रमुख साह आफ्ना पालाका प्रमुख प्रशासकीय अधिकृतहरूको इशारामा नाचिरँहे । प्रमुख साहको नाँचमा वडा नम्बर ३ का वडाध्यक्ष हनुमान मण्डलले साथ दिइरहे । कार्यपालिकामा बहुमत जुटाउन सफल प्रमुख साहले प्रतिपक्ष सदस्यहरुलाई जहिले पनि पाखा लगाइराखे । उनले उपप्रमुखसहित बहुमत सदस्यले कार्यपालिकाको बैठक राख्न पटकपटक माग गर्दा पनि सुनुवाई भएन् । प्रमुख प्रशासकीय अधिकृतको इशारामा नाँचेका उनले कार्यपालिकाको बैठक नै डाँकेनन् ।

लेनदेन नमिल्दा जे पनि गर्थे

गाउँपालिका प्रमुख साह लेनदेनमा कुरा नमिल्दा लिखित रुपमै निर्माण कार्य रोकिदिन्थेँ । कमिसनमा कुरा नमिलेपछि उनले वडा नम्बर ५ मा कृषि सडक (हजारी थाना) निर्माणको काम रोक्न लिखित रुपमै निर्देशन दिएको भेटिएको छ । एक कल टेलिफोनमा हुने कामलाई उनले पहाड बनाएर उनले रोक्न निर्देशन दिए कि मानौं उनी पञ्चायत व्यवस्थाका प्रधानपञ्च हुन् ।

उनको तुच्छ व्यवहार नियाल्दा सभ्य नागरिकलाई सभ्य नागरिकलाई भन्न कर लाग्छ, ‘उनी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका नवसामन्त हुन् । जसले गणतन्त्रको जामा पहिरिएर जनतामाथि सामन्तवाद लादिरहेका छन् ।’ स्थानीय सरकारले पाएको स्वायत्तताको दुरुपयोग गरिरहेको एउटा अर्को प्रमाण यो पनि हो कि वडा नम्बर ५ को कार्यालयले खुरुक्याहीलाई दिएको काम रोक्न आदेशको बोधार्थ इलाका प्रहरी कार्यालय, महेशपुरलाई समेत दिएको थियो । उक्त निर्माण कार्यमा संलग्नलाई प्रहरी लगाएर पक्राउ गर्ने धम्कीसमेत दिएका थिए ।

अनियमितता गर्दै, पक्की घर ठड्याइँदै

गाउँपालिकाको विकास निर्माणका लागि गठन गरेको उपभोक्ता समितिमा बसेर पक्की घर बनाउनेहरुको लर्को लागेको छ । पतारी बजारमा घर ठड्याउनेहरुको होड नै चल्यो । हाल ती घरमा तला थप्ने काम भइरहेको छ । समितिमा रहेका राजेशकुमार साह र पप्पु साहले पतारी बजारमा पक्की घर बनाएका छन् । राजा हरिसिंह देव मन्दिरको पूर्व दिशामा राजेशको घर छ । एकतले उनको घरमा अहिले तल्ला थप्ने काम भइरहेको छ ।

उनले आफ्नो घरमा किरानाको होलेसेल सञ्चालन गरेका छन् । राजेशको घरभन्दा करिब ३० मिटर पश्चिम दक्षिणमा रहेको पप्पुको दुई तले घरमा एनसीसी बैंकको शाखा छ । वडाध्यक्ष हनुमान मण्डलले पनि पतारी बजारभन्दा एक सय मिटर दक्षिणमा दुईतले पक्की घर बनाएको पाइएको छ । उनका भाइ पनि आफ्नै घरको मालिक बनिसकेका छन् । घरको विषयमा सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरिरहेको स्रोत बताउँछ ।

अख्तियारद्वारा आरोप पत्र दर्ता

ढिलै भएपनि अख्तियारले कदम चालेपछि स्थानीय हर्षित भएका छन् । यथेष्ट प्रमाणसहित तत्कालीन गाउँपालिका प्रमुखसहित अन्यविरुद्ध उजुरी दर्ता भएको हो । अख्तियारले जारी गरेको विज्ञप्तिमा पूर्वउपप्रमुख आशादेवी यादव, तत्कालीन प्रशासकीय  प्रमुखहरु रविन्द्रकुमार महत, धनिकलाल यादव र सुजित यादव विरूद्व मुद्दा दायर गरेको उल्लेख छ ।

उनीहरुले लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा कल्भर्ट निर्माणका लागि आर्थिक वर्ष  २०७५/०७६ र २०७६/०७७ मा विनियोजन भएको रकमबाट सामान्य रुपमा निर्माण कार्य गरी ठूलो रकम हिनामिना गरेको अख्तियारको भनाइ छ ।

निर्माण कार्यबीचमै अलपत्र छाडेको र भएको काममा समेत न्यून गुणस्तरको सामग्री प्रयोग गरेको अख्तियारको ठम्याइ छ । आर्थिक वर्ष २०७६/०७७ बाट सोही कल्भर्ट निर्माणको लागि पटकपटक उपभोक्ता समिति फेरेको र भौतिक संरचना काम नलाग्ने तथा भुक्तानी गर्न नमिल्ने भएपनि पाँच लाख २८ हजार ४४० रुपैयाँ निकासा गरेको अख्तियारले जनाएको छ ।

सोही स्थानमा आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाअन्तर्गत विद्यानगर, पतारी, धन्छवार, सितापुर सडक खण्डमा दुई थान कल्भर्ट निर्माण तथा माटो ग्राभेल योजनाका लागि साविक मधेश प्रदेश सरकारबाट सःशर्त अनुदान रकम विनियोजन भएको थियो ।  आ.व. २०७५/०७६ मा आंशिक रुपमा निर्माण भएको कल्भर्टको बाँकी भाग बनाउने योजनाको निर्माण गर्न गाउँपालिकाबाट उतिमलाल मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले निर्माण जिम्मा लिएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा डिजाइन नगरी ‘ड्रइङ्ग’ को आधारमा सञ्चालन भएको वडा नम्बर ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा कलभर्ट निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी तोकिएको समयमा निर्माण सम्पन्न गरिएको थियो । समयमै सम्पन्न भएपनि दुवै योजना न्यून गुणस्तरको देखिन्थ्यो । पछि उक्त कलभर्ट निर्माण कार्यमा संलग्न कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको मिलोमतोमा भुक्तानी नै गर्न नमिल्ने २६ लाख ४६ हजार २७ रुपैयाँ निकासा गरेको खुलेको हो ।

त्यस्तै, आयोगले तत्कालीन लेखापाल इन्द्रकुमार कर्ण, वडा नम्बर ४ का पूर्व वडाध्यक्ष विद्यानन्द साह र सचिव रामनारायण मण्डलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसैगरी, उपभोक्ता समिति अध्यक्ष विष्णुदेव यादव, कोषाध्यक्ष जलासकुमारी दनुवार, सचिव महादेव यादव र कन्सलेन्टेसीका प्रोपराईटर इन्जिनियर इन्द्रनारायण साह, वडाध्यक्ष हनुमान मण्डल, तत्कालीन लेखापाल नरेश कामतविरुद्ध पनि मुद्दा दायर भइसकेको छ ।

यता, इञ्जिनियर अमन पोखरेल, उपभोक्ता समितिका अध्यक्ष उतिमलाल मण्डल, कोषाध्यक्ष गिताकुमारी मण्डल, सचिव प्रमेश्वार मण्डल र इञ्जिनियर ताराकान्त साहविरुद्ध आरोपपत्र दर्ता भएको छ । योजना शाखाका प्रमुख चन्देश्वरप्रसाद यादव , वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष विध्यानन्द साह सुडी, वडासचिव रामनारायण मण्डल, गाउँपालिकास्तरीय योजना अनुगमन समितिका विष्णुदेव साह, अमृतादेवी दास र सत्यनारायण साहविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

हाल आरोपीहरु विशेष अदालतलाई प्रभावमा पारेर चोखिने प्रयत्नमा लागेको हाकाहाकी बताउँछन् । नेकपा एमालेबाट राजनीति शुरु गरेर जनता समाजवादी पार्टीबाट गाउँपालिका प्रमुख बनेर पुनः एमालेमै फर्किएका प्रमुख साह अदालतलाई रोक्न सांसद्, पूर्वमन्त्रीदेखि नेता लीला श्रेष्ठको घरमा धाउन छाडेका छैनन् ।

टिप्पणीहरू