समाजवादीले मुकुन्दबारे केही नबोल्ने

समाजवादीले मुकुन्दबारे केही नबोल्ने

नेकपा एकीकृत समाजवादीले हालै पार्टीबाट बाहिरिएका मुकुन्द न्यौपानेले लगाएको आरोपलाई निराधार भनेको छ । प्रवक्ता जगन्नाथ खतिवडाले न्यौपानेले लगाएका आरोप खण्डन गर्न समेत लायक नरहेको बताए । 

आज बसेको सचिवालय बैठकको निर्णय सुनाउँदै उनले पार्टी स्थापनाको उद्देश्य विपरीतको प्रस्ताव राखेकाले न्यौपानेको प्रस्तावमा छलफल नभएको जानकारी दिए । 

यसअघि न्यौपानेले पार्टी परित्याग गर्दै एकीकृत समाजवादी दक्षिणपन्थीको सेवक बनेको, पदका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढेको आरोप लगाएका थिए । त्यस्तै, आफ्नो फरक मतलाई छलफलमा लैजान अस्वीकार गरेर नेतृत्वले निरङ्कुश शैली अपनाएको उनले बताएका थिए । 

पुरानै घर फर्किने तयारीका साथ समाजवादी छाडेका उनले सम्मानजनक पद पाए झलनाथ खनाल समेत एमालेमा जाने दावी गरेपछि समाजवादीमा हलचल मच्चिएको थियो । तर, प्रवक्ता खतिवडाले भने न्यौपानेको कुरा खण्डन गर्नसमेत लायक नरहेको बताएका हुन् ।  

खतिवडाले न्यौपानेको प्रस्ताव गलत भएको र त्यसमा उनीबाहेक अरु कसैले समर्थन नगरेका कारण पार्टीमा छलफल नभएको बताए । बैठकले न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय गरेको पनि प्रवक्ता खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट [पार्टी स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ ।
 

टिप्पणीहरू