सडकमा नारा लगाउनेलाई डेपुटी गभर्नरको जवाफ : दबाबमा ऋण मिनाहा हुँदैन

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नारा लगाउँदै र दबाब दिँदैमा मिनाहा नहुने बताएका छन् । उनले पछिल्लो समय बैंकको ब्याजदर घटाउनुपर्ने र ऋण तिर्न नसकिने भन्दै नारा लगाइएकोमा प्रक्रिया पुर्याएर लिइएको ऋण त्यत्तिकै मिनाहा नहुने उल्लेख गरेका हुन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रलेपछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका छन् । उनले भने, ‘व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगरे हुन्छ ।’

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा उनीहरुको रकम होइन । त्यो रकम ती संस्थामा राखिएको सर्वसाधारणको निक्षेप हो । लिएको कर्जा नतिरेर निक्षेपकर्ताको रकम फिर्तामा समस्या हुने उनको भनाइ छ ।

सोही सन्दर्भमा मिश्रले भने, ‘बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने बित्तिकै राष्ट्र बैंकमा गुनासो गरे तत्काल कारबाही गरिन्छ । पछिल्लो समय लघुवित्त, ब्याजका विषयमा धेरै विषयहरु बाहिर आइरहेका छन् । बैंक र लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गरेका खबरहरु आएका छन् । यो विषयमा नेपाल राष्ट्र बैंक जानकार छ ।’

टिप्पणीहरू