कात्रोबाहिर सम्राटका दुवै हात

संकेत कोइराला

अलेक्जेण्डर महान् विश्व विजय गर्दै भारत वर्ष पुगेका थिए । फर्कन लाग्दा चिनोका रूपमा एकजना ज्ञानी सन्त लैजाने विचार गरेर आफ्ना सैनिकलाई खोज्न निर्देशन दिए । सैनिकहरू सन्त खोज्दै डण्डामिसको झुपडी पुगे । उनीहरूले कडिकडाउसाथ सम्राट्ले बोलाएको बताए । डण्डामिस त्यसबेलाका ठूला ज्ञानी सन्त । उनलाई कुनै कुराको लोभ थिएन । सिकन्दरको नाम सुन्नासाथ थर्कमान हुने त्यो समयमा सम्राट्को प्रस्ताव सीधै इन्कार गरिदिए । सैनिकहरूले धेरै प्रयास गर्दा पनि टसको मस भएनन् । सारा प्रयास विफल भएपछि स्वयं सिकन्दरका लागि प्रतिष्ठाको सवाल बन्यो । उनी स्वयं कुटी पुगेर रवाफपूर्वक भन्न थाले– ‘म आधा राज्यको सम्राट् हुँ । मसँग हिँड्नुस् ।’ कत्ति पनि नहिच्किचाई डण्डामिसले जवाफ फर्काए– ‘सम्राट् रे, हेर्दा त भिखारीजस्तो देखिनुहुन्छ ।’ सन्तको अकल्पनीय तेजोवध गर्ने खालको बचन वाण सुनेर रन्थनिएका सम्राट् भन्छन्– ‘म कसरी भिखारी भएँ प्रमाणित गरेर देखाउनुस् ।’

सन्त मुस्काउँदै भन्छन्– ‘सोच्नुस् तपाईं र म मरुभूमिमा हरायौं । तपाईंको सैन्यदस्ताले बाटो बिरायो । कैयौं दिनसम्म खान पाइएन । पानीसमेत दुर्लभ हुँदै गयो । त्यस्तो अवस्थामा अर्को एक घण्टा पानी पिउन नपाएर तपाईंको अन्त्य हुँदै छ । पानी पानी भन्दै तड्पिनुभएको छ । त्यो खराव स्थितिमा एक लोटा पानी लिएर दिएँ भने बदलामा मलाई के दिनुहुन्छ ?’

सिकन्दरले सोचमग्न भएर जवाफ दिए– ‘म सम्राट् हुँ । जे पनि दिन सक्छु । तर, त्यहाँ एक लोटा पानी भनेको पानी नभएर जिन्दगी थियो ।’ उनले हाँस्दै भने– ‘म आधी राज्य दिन्छु ।’ समय घर्किंदो छ । अब तपाईंसँग मात्र आधा घण्टा जीवन बाँकी छ । मैले आधी राज्यले पानी दिन इन्कार गरें भने त्यसको बद्लामा के दिनुहुन्छ ?’ सन्त थप आक्रामक बन्दै सोध्छन् ।

सोचेर सम्हालिँदै सम्राट्ले जवाफ फर्काए– ‘मेरो जीवन बराबर राज्य हुन सक्दैन । त्यसैले एक लोटा पानीका लागि जीवनभर कमाएको सारा राज्य कबोल गर्छु ।’ विजयभावमा सन्त बोले– ‘महाराज, मैले अघि नै भनेको होइन, तपाईं भिखारी हुनुहुन्छ ! आखिर जीवनभर कमाएको सम्पत्ति एक लोटा पानी प्रमाणित भएन र ?’ राजाहरूका राजा सिकन्दर अनायास एउटा सन्तको खुट्टा समाउन पुगे । त्यही घटनाको प्रभावस्वरुप उर्दी लगाए– ‘मृत्युपछि मेरा दुवै हात कात्रो बाहिर निकालिदिनु । विश्वले थाहा पाओस्, सम्पूर्ण संसार जितेर पनि मर्दा सम्राट् सिकन्दर खाली हात जाँदै छ ।’

कोरोना भाइरसको आतंकले मानव सभ्यतामा एउटा संगीन प्रश्न उठेको छ– ज्यान ठूलो कि धन ? विश्वका सिकन्दरजस्तै शक्तिशाली नेताहरूको अवस्था यतिबेला सिकन्दर महान्को जस्तै थाल खाऊँ कि भात खाऊँजस्तो भएको छ । बिना हतियार विश्वमा आतंक छ । बाहिर हेर्दा ठीकठाक, भित्रभित्रै धमिराले सिध्याएको काठजस्तोे अवस्था छ । सडक छ, मान्छे छैनन् । जहाज छ, यात्रु शून्य । एप्रोन लगाएका डाक्टर छन्, उपचार लाग्दैन । मान्छेसँग मान्छे डराएको छ । नयाँ वर्ष लाग्न लागेको कसैलाई पत्तो छैन । पात्रो फेर्ने जाँगर कसैमा छैन । वसन्त ऋतुले मान्छेको मन तानेको छैन । त्यसैले संगीतको सात सुरभन्दा मान्छेको जीवन गीतमा अल्मलिएको छ ।

पोहोर साल खोकिलामा जतनसाथ झुण्ड्याएको पात्रो अब इतिहास बन्ने क्रममा छ । पारखीहरू भन्छन्– आरुबखडा फुल्ने यो मौसममा माइत गएका छोरी–बुहारी बुहार्तनका लागि घर फर्कन्छन् । अझ नधकाउनेहरू योभन्दा पर गएर छेडखान गर्दै प्याच्च भनिदिन्छन्– ‘यो विवाहयोग्य युवतीहरूलाई कुत्कुत्याउने मौसम हो ।’ अझ मायाको फूल फुलाउनेहरूको संसारै अलग छ । सामाजिक सञ्जालका भित्ताहरूमा माया फक्रिन शुरु भएका छन् । नयाँ वर्ष शुभ कामको साइत हो । धेरै चन्द्रमायाहरू चाँदनीको विशेषण पाएर गजक्क परेका हुन सक्छन् । यद्यपि, वसन्तको कोकिल राज्यमा पनि रोटीको व्यथा दुख्न छोडेको छैन ।

मंसिरमा अन्नको रासमा दाइँ गर्दा जोडेका मुसाका जहान फागुन, चैतमा मौसम उजाडिएसँगै पोइला जान शुरु गर्छन् । खडेरी लागेपछि मौसममा जहान पाल्ने हुति मुसामा रहँदैन भन्छन् । जे भएपनि चैत पुरानो पात हो भने वैशाख नयाँ मुना हो । पुरानो पातले मुनालाई जीवन सुम्पिएर आफू विदा हुनुपर्छ । यो प्रकृतिको नियम हो ।

समय बद्लिएपछि मान्यता स्वतः बद्लिन्छ । हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं । पोहोरको वसन्त ऋतुमा पनि मौरीले फूलको रस नै बटुलेको थियो । झिंगा फोहोरमै घुमेको हो । गाईको पेटमा घाँस नै आहारा परेको थियो । काँडाले फूलमाथि हस्तक्षेप गरेको छैन । बाघले आहारामा मृग छोडेको छैन । बिरालाको नजरमा मुसा नै परिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्पी छोडेको छैन । झरी असार–साउनमै बर्सिने हो । ठिहीको सामथ्र्य पुस, माघमै देखिने हो । यी सबै देख्दादेख्दै हामी भन्छौं– समय बद्लियो । अहँ, बदलिएको समय हैन, हामी हो । समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो । विश्वका झण्डै अरब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो । मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौं– मैले संसारको फन्को लगाएको छु ।

हामीलाई हाम्रा बाउ बाजेको अनुभव सुन्ने फुर्सद भएन । सन्तानलाई डाक्टर, इञ्जिनियर पाइलट बनाउनमा सोख राख्यौं । एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस्– म आफ्नो बाउ जस्तो बन्छु । समस्या यहीँ छ । यही बाटो हिँड्दा हिँड्दैको पठ्ठो भोलि हजुरबा बन्छ । अर्थात बाटोले बुढ्याउँछ । पोहोरको वसन्तमा फुलेको फूल मुर्झाएको कथा बन्दैन । पोहोर सुस्वास्थ्यको कामना गरेको ज्यान कुपोषणले दैवको प्यारो बनेको हुन्छ । तर त्यसको लेखा छैन ।

समय बित्नका लागि मात्र बित्दैन । यो नयाँ कामको लागि उत्तोलक पनि हो । नागरिकता विना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ । कागजी पढाई विना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन् । माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र ? स्कुल, कलेजले दिने कागज त फि तिरेको प्रमाण मात्र हो । बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कञ्चन हुन्छ । बाहिरी आँखाले रंग खुट्याउँछ । भित्री आँखाले गुण–दोष ।

एकैछिन बखान गरौं सौन्दर्यको । यही राजधानी हो, जहाँ गोलीगाँठो देखाएर हिँड्ने किशोरी भानुभक्तका नजरमा ‘बेश्या’ दरिए । समयको उडान अर्कैतिर मोडिएको छ । अब मौसमले पोशाक नभएर पोशाकले मौसम बदल्छ । फाटेको लुगामा फेसनको लेपन लगाएपछि त्यो आधुनिकतामा अनुवाद हुनपुग्छ । परिवर्तन आत्मसात नगर्ने हो भने डाइनोसरको नियति सवैको भाग्यमा लेखिने निश्चित छ ।

भनिन्छ, संसारमा तीन किसिमका मानिस हुन्छन् । एकथरि जीवनलाई सराप्छन् । अर्कोथरि आशिर्वाद दिन्छन् । तेस्रोथरि जीवनबारे चिन्तन मनन गर्छन् । भौतिकताले उत्कर्षमा पुगेको युरोप, अमेरिका आजसम्म पनि सुन्दरीहरूको सनकमा सञ्चालित हुने गरेको छ । त्यहाँका राजनेताहरूको व्यक्तित्व उठाउने या रसातलमा पु¥याउने कुराको निधो उनीहरूको गतिविधिमा भर पर्छ । एउटा सुन्दर मोडल म्याडोनाको व्यक्तित्वले त्यहाँका पुरुषहरूको व्यक्तित्व नै निरीह बनाएको विगत छ ।

एकपटक इतिहासको आँखीझ्यालबाट चिहाएर हेर्नुभयो भने त्यहाँ फ्लोरेन्स, युपी साद्रे, क्लियोपेट्रा र मर्लिन मुनरोजस्ता विश्वप्रसिद्ध अप्सराहरूको वर्णन पाउनु हुनेछ । जसका अगाडि शासकहरू समेत नतमस्तक बनेका थिए । माक्र्स–एंगेल्सका विश्व प्रसिद्ध कृति पनि म्याडोनाको ‘सेक्स’ पुस्तकका अगाडि सयौं कोस पर छोडिए । सुन्दरतालाई यसैको सामथ्र्यमा स्वीकार्ने हो भने यो प्राकृतिक शक्ति हो । अझ योभन्दा पर गएर भन्दा सन्तुलन पनि हो ।

समयअनुकूल आफूलाई उभ्याउनुपर्छ । समयलाई सापेक्ष रूपमा स्विकार्नुपर्छ । वसन्तलाई मौसममा नभई मनमा भित्र्याउनु पर्छ । मौसम र भावना एकसाथ तरंगिएको प्रेममा नै हार्दिकता हुन्छ । नत्र त्यो चुँडिएको गिटारबाट आउने आवाजजस्तो कर्णकटु हुनपुग्छ । मिलनको धड्कन र विरहको वेदना नै प्रेमको जमिन हो । यसमा चैतन्य र प्रज्ञा दुवै हुन्छ । यो दुवै मिसिएको चास्नी कसलाई प्रियकर नहोला ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*