लाजै मान्नुपर्ने अवस्था छैन

डा. भेषबहादुर थापा, परराष्ट्रविद् तथा पूर्वमन्त्री, राजदूत

राष्ट्रिय योजना आयोगको सदस्य–सचिव हुँदै निजामती सेवामा प्रवेश गरेका हुन्, डा. भेषबहादुर थापा । समय क्रममा विभिन्न मन्त्रालयको सचिव हुँदै मन्त्रीसम्म बने । राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रलगायत तीन जनासँग काम गरे । अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी दुई पटक अमेरिका र एक पटक भारतका निम्ति राजदूत बने । केही समय परराष्ट्र«मन्त्रीसमेत भएर काम गरेका उनी देशका चौथो गभर्नर हुन् ।

० समाधान हुनुपर्ने वा सुधार हुनुपर्ने नेपालको परराष्ट्र« नीतिका दोष के–के हुन् ?
परराष्ट्र« नीतिको कुरा गर्दा देशभित्र मात्र होइन, देशबाहिर र छिमेकले गर्ने व्यवहार र विकास सहयोगले पनि प्रभाव पार्छ । ती सबैबाट जोगिएर संयुक्त राष्ट्रसंघमा सक्रिय भूमिका खेल्ने, सुरक्षा परिषद्मा भाग लिएर अत्यधिक बहुमत प्राप्त गरी सहकार्य गर्नेलगायत दायित्व छँदै छन् । पहिला कुण्ठित हाम्रो सम्बन्ध अहिले विश्वव्यापी भएको छ । चनाखो भएर आफ्नो सार्वभौमिकतालाई कहीँ पनि चुक्न, तलमाथि हुन नदिने आधारले निरन्तरता पाएको छ । द्वन्द्व र हिंसाले धेरै कुरा प्रभावित भएको छ । राज्य सञ्चालनमा कहिलेकाहीँ तलमाथि भएको देखिन्छ ।

० पाकिस्तान र भारतबीचको तिक्तताका कारण सार्क मृतप्रायः अवस्थामा छ । कोरोना (महाविपत्ति)को सामना गर्ने क्षेत्रीय संयन्त्रको नाममा आवश्यकता महसुस गरेर सार्क ब्युँतिन खोजेको छ । र, यसमा भारतले नै सक्रियता देखाएको छ । यसलाई कसरी हेर्न सकिन्छ ?

सार्क सदस्यहरूबीचको तिक्तताका कारण अवरोध भयो । धेरै वर्षसम्म कार्यसञ्चालन गर्न सकिएन । यसको विकल्प खोज्न हाम्रा छिमेकीले अर्कै सञ्जाल निर्माण गरेर नेपालको अध्यक्षता भएको समयमा अवरोध हुँदै आयो । भारत र पाकिस्तानबीचको असमझदारी र वैमनश्यताका कारण लामो समयसम्म संवादविहीनताको अवस्थामा रह्यो । नेपालले बैठक गर्न प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीको तहमा संवाद नगरेको होइन । हामीले आह्वान गर्दै जाने, उनीहरूले सुनेको नसुन्यै गर्ने अवस्था बन्यो । अहिले देखिएको सम्भावनाले गर्दा के भन्न सकिन्छ भने संकट पर्दा त छिमेकी गुहार्नुपर्ने रहेछ । छिमेकको सबैभन्दा ठूलो मुलुक त भारत नै हो । चीनको आफ्नै भूमिका छ । ऊ सर्वशक्तिमान भएर बसेको छ । छिमेकीलाई समेटेर मात्र समस्या सुल्झन सक्छ भन्ने चेतना आउनु र सार्कराष्ट्रको सबै सदस्यसँग संवादको सुरुआत गर्नुलाई शंकाको दृष्टिले नहेरौं । स्वागत गरौं । सार्कको सुरुवातदेखि नेपाल नै लगनशील छ । त्यही लगनशीलता र सक्रियताकै कारण सचिवालय नेपालमा आएको हो । यो भारतको सक्रियताले सार्कको सान्दर्भिकतालाई ओझेलमा पार्न त सक्ला तर नकार्न सकिँदैन भन्ने सन्देश गएको छ ।

० तपाईं तत्कालीन राजाहरूसँग काम गरिसकेको व्यक्ति । १४ वर्षभन्दा बढी त राजदूत नै बन्नुभयो । बताइदिनुहोस् न, नेपाल–भारतबीचको सम्बन्ध हिजो कुन स्थितिमा थियो, आज कस्तो पाइन्छ ?

बीचमा केही उत्तार–चढाव आए । खुला सिमाना भएका कारण त्यसले ल्याएका समस्याका साथै दिएका सम्भावनाबीच सन्तुलन राख्नुपर्नेछ ? ००७ सालको क्रान्तिपश्चात् सम्बन्धका आधार व्यापक भए । राणाकालमा कुण्ठित थियो । द्वन्द्वकालमा त्यो झन् व्यापक भयो । नेपाल केही हदसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा अनभिज्ञ पनि थियो । १९५० मा कमीकमजोरी वा त्यस समयको परिस्थितिका कारण जुन सन्धि भयो, त्यसका असमानताले ल्याएको समस्या नेपालले भोग्दै आएको छ । कम्युनिष्ट सरकार, मिलिजुली सरकार, राजाको सरकार जो सत्तामा आए पनि यो कमजोरीलाई सम्बोधन गर्न सकिएन । नेपालले आफ्नो अस्तित्वबारे द्विविधाको अभिव्यक्ति दिएको इतिहास छैन ।

० छिमेकी दुई मुलुकबीचको सम्बन्ध कत्तिको सन्तुलित छ ?

पहिलेभन्दा धेरै सन्तुलित छ । काठमाडौं–कोदारी राजमार्ग बनाउने समयमा म सचिव थिएँ । कम्युनिज्म भिœयाउनका लागि नेपाल चीनको प्रभावमा प¥यो भनेर विश्वमा व्यापक चर्चा भयो । चौतर्फी दबाबका बाबजुद पनि नेपाल पछि हटेन । राजा महेन्द्रले कम्युनिज्म ट्रक चढेर आउँदैन भन्नुहुन्थ्यो । त्यतिबेला कमजोर नेपालले आफ्नो राष्ट्रिय हितका लागि आधार निर्माण गरेको थियो । पहिलेको भौगोलिक कुण्ठाबाट बाहिर निस्केर सम्भावनाहरू अँगाल्न नेपाल पछि परेन । पहिलेभन्दा हाम्रो सम्बन्ध सन्तुलित छ । एउटा र अर्काेलाई जोडेर हेर्न मिल्दैन । दुवै देशलाई उत्तिकै महत्व दिएर कार्यसञ्चालन गर्ने काममा प्रगति हुँदै आएको छ । नेपालको काममा चीनको सहयोग र सम्बन्धको कुरा गर्नुहुन्छ भने कसैको भन्दा कम छैन । आफू जोगिएर अस्तित्व कायम गर्ने मामलामा इतिहासलाई हेरेर सबैलाई जस दिनुपर्छ । राजनीतिक उथलपुथलका बाबजुद पनि राष्ट्रियताको मामलामा नेपाल निरन्तर अडिग छ ।

० कूटनीतिक सम्बन्ध मुलुकको विकास र समृद्धिसँग जोडिन्छ भनिन्छ । के हाम्रा कूटनीतिक पहल त्यसप्रकारका छन् ?

केही कमजोरी छन् । स्वार्थ मात्र होइन समानताको भावना पनि कूटनीतिमा जोडिन्छ । विश्व शान्ति र सबै राष्ट्रबीच प्रगति यो नै मूल आधार हो ।

० पछिल्लो समय राजदूत बनाइने व्यक्ति चयनका कारण देश नै बदनाम भयो भन्ने गरिएको छ । यसले पार्ने असर के हो ?

हाम्रो कूटनीतिक सम्बन्धको आधार सैद्धान्तिक छ । व्यक्तिसँग कोही जोडिन्न । तर, व्यक्तिले सही रूपमा पालना गरेको छ वा छैन ? अहिले नेपालको दौत्य सम्बन्ध भएको मुलुक, छिमेकी देश वा संयुक्त राष्ट्रसंघमा नेपालले खेलेको भूमिका नै हेरौं । हामी मुलुक सानो भए पनि कमजोर देखिएका छैनौं । सानो मुलुक भएका कारण सद्भाव र सहकार्य बढाउनमा कूटनीतिज्ञको भूमिका हुन्छ । आफूले पठाएको प्रतिनिधिले देशको हित गरोस् भन्ने नै हुन्छ ।

० तर,पछिल्लो समय राजदूत नियुक्त हुँदा मेनपावर व्यवसायी, नेताका सासू, सम्धीहरू छनोटमा पर्न थालेका छन् । यो लज्जाको विषय होइन ?

यसले हुन सक्ने प्रगति, संवादमा अवरोध खडा गर्ला । धेरै मुलुकमा पोलिटिकल अप्वाइमेन्ट नै हुँदैन । स्वार्थी अवधारणाले गर्दा पु¥याएको ठूलो क्षति आफ्नै ठाउँमा छ । यसमा सुधार गर्नुपर्ने धेरै कुरा छन् ।

० चीनका राजदूतलाई कार्यकाल नै पूरा गर्न नदिई फिर्ता बोलाइयो । त्यहाँ पूर्वमन्त्रीलाई पठाइएको छ । यो कच्चा निर्णय होइन ?

व्यक्तिगत विषयमा प्रवेश गर्दिनँ । तर, कुन व्यक्तिलाई कहाँ पठाउँदा के प्रगति हासिल गर्न सक्छ भनेर लेखाजोखा गर्नुपर्छ । दुई पटक अमेरिका र एकपटक भारतको राजदूत भएँ । १४ वर्ष त्यही क्षेत्रमा बिताएको अनुभवका आधारमा म के देख्छु भने, यी र यस्ता पाटामा सुधार हुनुपर्छ । यस्ता निर्णयले मुलुकलाई नै घाटा लाग्छ ।

० यहाँ नेपाल राष्ट्र बैंकको चौथो गभर्नर, अहिलेको हाम्रो अर्थतन्त्र कस्तो पाउनुहुन्छ ?

०१६ सालमा सुवर्णसमशेरले पेश गरेको बजेट हेर्नुहोस् । म अर्थसचिव, अर्थमन्त्री पनि भएँ । त्यो समयमा तीन करोड आम्दानी, सात करोड खर्च हुने त्यो नेपालको पहिलो बजेट । म आफैं अर्थमन्त्री हुँदा १९ अर्ब पुगेको थियो । के–के न भएजस्तो लागेको थियो । पहिलो बजेट एउटा मध्यम तहको व्यापारीको वार्षिक कारोबार बराबर । हामी कहाँ थियौं, आज कहाँ पुग्यौं भन्ने कुरा पनि ख्याल गरौं । सम्भावनालाई खुलस्त अध्ययन गरेर कुन–कुन कुराबाट नेपाललाई फाइदा हुन्छ त्यता लाग्नुपर्छ । प्रगति भएको छ । तर, सम्भावना पूर्ण उपयोग भएको छैन ।

० यो सरकारको कार्यशैलीको कसरी टिप्पणी गर्नुहुन्छ ?

पञ्चायत हुँदा कुनै गुटमा समाहित भइनँ । पञ्चायतपछि पनि कुनै दल वा गुटमा लागिनँ । एक प्रकारले भन्दा एकल यात्रीका रूपमा आफूलाई देख्छु । यो ठीक र यो बेठीक भन्दा पनि सही बाटोमा हामी हिँडेका छौं वा छैंनौं । द्वन्द्वको घाउपछि शान्तिको बाटोमा हिँडेका छौं । नयाँ राजनीतिक अभ्यासमा सुधार गर्नुपर्ने धेरै कुरा छन् । हामी कुन अवस्थामा थियौं । कहाँ गुज्रिएका थियौं र अहिले कस्तो अवस्थामा छौं भनेर हेर्दा मैले आफ्नो युवावस्थामा कल्पनासमेत नगरेको ठाउँमा छौं । प्रत्येक पुस्ताले आफूले गर्न सक्ने गरेको छ । केही तलमाथि भएको होला । विश्वकै परिवर्तन र परिवेशलाई हेर्दा नेपालले आफूले खेलेको भूमिकामा लज्जास्पद हुनुपर्ने देख्दिनँ । गर्व गर्ने ठाउँ प्रशस्त छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*