आफ्नै मनको कुरा सुनिदिए पुग्छ

बाबुलाल भण्डारी

प्रधानमन्त्री केपी ओलीको दोस्रो पटकको मिर्गाैला प्रत्यारोपण सफल भएको छ र स्वास्थ्य तीव्रतर सुधारोन्मुख छ । पटक–पटकका गम्भीर स्वास्थ्य जटिलतालाई यसरी सहजै चिर्नमा अन्य कुराका अतिरिक्त उहाँको अदम्य आत्मबल नै प्रमुख कारण रहेको छ, यो सबैका लागि खुशीको कुरा हो कि उहाँ निकट भविष्यमा पूर्ववत् नियमित काममा फर्किनुहुनेछ । नेकपा नेता–कार्यकर्ता तथा शुभेच्छुक सबैका लागि यो उत्सवकै कुरा हो ।

जटिल र अनिश्चयपूर्ण शल्यक्रियाका लागि विदा हुने बेला ‘मैले मुलुक र जनताका लागि देखेका सुन्दर सपना अलपत्र हुन दिने छैन !’ भन्ने शब्दमा उहाँले पोखेको आत्मविश्वासले सबैलाई भावुक बनाएको हो । नियतिप्रति धन्यभागी हुनुपर्छ कि उसले उहाँलाई त्यो अवसरबाट विमुख गरेन ।

पार्टी कार्यकर्ताले धेरै अघिदेखि यो देशमा इमानदारीसाथ आत्मा र विवेक बोल्न छाडेका छन् । चाबी जति भरिएको हुन्छ त्यति नै उनीहरू कसैलाई उचाल्न र कसैलाई पछार्न जुटेका हुन्छन् । संरक्षण, अवसर र सुविधाको मापदण्ड पनि उहिल्यैदेखि यिनै कुरा भएका छन् । तर, यो देशमा समर्थक र शुभेच्छुकको विशाल पंक्ति छ जसलाई बालकोट, खुमलटार वा अन्य कुनै केन्द्रसँग सरोकार छैन । उनीहरूको आदि र अन्त केवल नेपाल कम्युनिष्ट पार्टी हो । आँखामा हजार गल्ती र मनमा आक्रोश बोकेर मतदान बुथमा पुगे पनि अर्को दललाई छान्न सक्दैनन् । नेकपाको पुँजी र सामथ्र्य केही हजार कार्यकर्ता होइनन्, स्तुति गर्ने चाटुकार त झनै होइनन्, बरु बाहिर रहेको यही स्वतन्त्र समुदाय हो जो बागमती ढलमती भएको देखेर पनि पशुपति किनारा छाड्न सक्दैन । हालकै सन्दर्भमा उनीहरूलाई जबज वा जनताको जनवादसँग पनि लिनुदिनु छैन । नेकपाले जनता र मुलुकको अधिकतम हित गर्नुपर्छ, कुरा त्यत्ति हो । विगतका झापा विद्रोह र १० वर्षे जनयुद्धको कडी हुँदै किसान, मजदुर र विद्यार्थीका संगठित र छिटपुट तमाम संघर्षको लगानी पार्टीमा परेको छ । त्यसैले आजको नेतृत्वपंक्तिमा उनीहरू पुष्पलालको छवि खोज्छन् । तर अहिले आरोप÷प्रत्यारोप, द्वेषभाव, अन्तर्कलह र छिनाझप्टीले कुनै दुर्घटनालाई निम्त्याइरहेको त छैन भनेर उत्तिकै चिन्तित पनि छन् । अहिले न सरकारको कामको प्रशंसा भएको छ, न पार्टी र सरकारबीच तालमेल छ, न त पार्टीभित्र एकता र अन्तर्संघर्ष राम्ररी सञ्चालन भएको छ । परिवर्तनको वाञ्छित गति र आयतन कतै देखिन्न । सबैले बेसुरमा आ–आफ्नो डम्फू बजाएका छन् र सबैतिर अन्योल, दिशाहीनता र अराजकता व्याप्त छ । पार्टी एकीकरणलाई सिमेण्टेड गर्न अन्तर्घुलनलाई बढावा गर्नुपर्नेमा एकअर्कालाई निषेध गर्ने उल्टो क्रम किन चलिरहेको छ र यसमा दोषी को हो, छलफल जरुरी छ ।

नेकपाको स्वास्थ्यलाई अहिले केही कुराले चुनौती दिइरहेको टड्कारो देखिन्छ । पहिलो, पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्न सरकारलाई निर्देश ग¥यो । तर, आफ्नै अध्यक्षतामा सम्पन्न बैठकको सर्वसम्मत यस्तो निर्णयलाई त्यसको आधा घण्टा नबित्दै स्वयं पार्टी अध्यक्षले अवज्ञा गर्ने बताउन थाल्नुभयो । दलीय व्यवस्थामा यस्तो छुट कसैलाई हुन्छ कि हुन्न र यसले भोलिका लागि कस्तो नजिर स्थापित गर्ला ? एकीकरणपछि नेतृत्व व्यवस्थापनअन्तर्गत दुई अध्यक्षबीच आलोपालो प्रम चलाउने लिखित सहमतिको ब्लूप्रिन्ट बाहिर आएकै हो । प्रचण्डले कार्यकारी अध्यक्षतासँग प्रमको पद सट्टापट्टा गरी चित्त बुझाएको पनि उनको सदाशयता नै थियो । कुनै पक्षको भजन नगाउनेहरूका लागि यो कदम स्वागतयोग्य हो । एउटाले सरकार चलाउँदा अर्कोले पार्टी सञ्चालनको अभिभारा पाउनु प्रभावकारिता र सन्तुलनको अर्थमा पनि उचित थियो । तर, ओलीजी यहाँ पनि सीमा अतिक्रमणमा उत्रिनुभयो र पाइलट र को–पाइलटको चर्चा ल्याइदिनुभयो । यो बाहिर राम्रो सुनिएन र पार्टीको भविष्य के होला, चिन्ता स्वाभाविक भयो । तेस्रो, एकताकै बखत सभामुखको पद माओवादी समूहका लागि भागबण्डामा परेको हो । कृष्णबहादुर महराको बहिर्गमनपछि रिक्त पदमा पूर्वमाओवादी पक्षको दाबी पहिलो र स्वाभाविक हुन्थ्यो तर प्रमले छिनोफानो भइसकेको यस्तो विषयलाई ४ महिना अनुचित हठ गरेर अड्काइदिनुभयो । यसले मुलुकभित्र र बाहिरसमेत आन्तरिक एकता र भविष्यबारे राम्रो सन्देश गएन । एउटा तमाशाजस्तो भयो । चौथो कुरा अझ गम्भीर छ । पूर्व माओवादी पक्षको कुनै पनि जिम्मेवार र नेतृत्वमा पुगेको मान्छेले पूर्वएमाले नेतृत्व र नेकपाको एकतालाई अन्यथा असर पर्ने गरी बोलेको सुनिएको छैन । उनीहरूका सार्वजनिक अभिव्यक्ति सन्तुलित र मर्यादित देखिन्छन् । तर, प्रम ओलीका क्याप्टेनहरू नै बेलाबेला असहिष्णु र अराजक रूपमा प्रस्तुत भइरहन्छन् । नीतिले भन्छ, पदमा रहनेहरू बढ्ता संयमी, सहनशील र सहिष्णु हुनुपर्छ तर भइरहेको छ विपरित । आफ्नै पार्टी कामरेडहरूप्रति वर्गदुश्मन (!) को यो दृष्टिकोण ठीक होइन ।

यहाँ उठाइएका कुरा सांकेतिक मात्र हुन् । तपशीलमा जाने हो भने दुवैतर्फका निम्ति सचेत गर्नुपर्ने कुरा धेरै छन् । जनता चाहन्छन्, तपाईंहरू भित्र जति पनि लड्नोस् सरोकार भएन । तर, बाहिर पार्टी एकतामा आँच आउने गरी गाईजात्रा नहोस् । गुट च्यापेर हिँड्दा बलियो भइन्न पार्टी र आफैं पनि कमजोर बनिन्छ भन्ने यथार्थ सबै गुटवादीले बुझ्न ढिलाइ गर्नु हुँदैन । हुन पनि कम्युनिष्ट पार्टी भनेको नेतालाई मनपरी गर्न बकसपत्र मिलेको जागिर र प्राप्त भएको पद कुनै बपौती होइन, जनताको नासो हो । जनताले नै यसलाई बचाएर यहाँसम्म ल्याए, अब पनि बचाउन खोज्लान् । अतः जनता किन सन्तुष्ट छैनन् ? किन पार्टीभित्रै नेताहरू विरोधमा बोल्छन् ? भन्ने तथ्यमा टेकेर सबैले आफ्नो ठाउँबाट आत्मसमीक्षा गरुन् ।

प्रधानमन्त्रीले दोस्रो जिन्दगी पाउनुभएको छ, यो दुर्लभ अवसर हो । त्यसैले कोटरीका अन्ध प्रशंसामा रमाउने, मेरो तेरो गर्ने र तीतो बढाउने होइन । नेकपाको मात्र नभएर सारा बाम समर्थकहरूको र अझ त्यसमाथि सिंगै देशको सर्वस्वीकार्य नेता र अभिभावक बनेर इतिहासमा अमर हुने सुविधा उहाँलाई छ । सबैभन्दा भरपर्दो सल्लाहकार आफ्नै अन्तरात्माको आवाज हो जसले कहिल्यै गलत सल्लाह दिँदैन । हो, सुन्ने इच्छा भने आफैंमा हुनुपर्छ !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*