पराइको श्रापले कहाँ रोकिन्छ पाइला

जन आस्था
१ चैत्र २०७६, शनिबार ११:५८

भन्छन् नि इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन । त्यही इखले विष्णुमाया पौड्यालको जीवनको नक्सा फेरिँदै छ । ३२ वर्षअघि पिता मनहरि र माता तेजकुमारी पौडेलको कोखबाट सातौं सन्तानको रूपमा जन्मिएकी हुन् उनी कान्छी पुत्रीको रूपमा । मध्यमवर्गीय परिवार । बुबा व्यापारी । पिता व्यापारको अलावा भजनकीर्तन र गीत गाउनुहुन्थ्यो । यही गुण स¥यो उनीमा पनि । त्यही बन्यो प्रेरणाको स्रोत ।

मनमनै अठोट लिइन्– गायन क्षेत्रमै छिर्ने । निरन्तरको बहावले चट्टान पनि पग्लन सक्छ भनेझैं दिनरातको मिहिनेत र मनमा दृढ इच्छाशक्ति हुने हो भने असम्भव केही छैन । सानैदेखि गीत गाएर सबैलाई छक्क पार्थिन् । हुने बिरुवाको चिल्लो पात भनेझैं आफूलाई निखार्दै लगिन् । गाउँ घरमा हुने हरेक गायन प्रतियोगितामा अब्बल रूपमा उभ्याउँदै गइन् । चाडपर्वका बेला कला र गला देखाउन पाउँदा औधी खुशी लाग्थ्यो । स्कुल पढ्दादेखि नै गीत गाउने, विभिन्न प्रतियोगितामा भाग लिने । विद्यालयदेखि जिल्लास्तरीय लोकगीत प्रतिष्पर्धामा प्रायः जहाँ पनि प्रथम नै हुने । बुबाआमाको चिन्ता हुन्थ्यो छोरीले पढाइ बिगार्ने भई वा छोरी बिग्रेली कि भन्ने । त्यही कारण घरबाट लुकेर गीत गाउँने । नशा नशामा गीत थियो । तर बुबा–आमाको इच्छा र चाहना थियो छोरीलाई जसरी पनि पढाउने र उच्च शिक्षा दिलाउने । त्यसका लागि बुबाले कुनै कसर बाँकी राख्नुभएन । एसएलसीसम्मको शिक्षा जनकल्याण माविबाट पार लगाइन् ०६२ सालमा । बुबाआमाको सपना थियो छोरी नर्स बनोस् । र, त्यही सपना साकार पार्न मनभरि सपना र झोलाभरि भविष्य बोकेर पनि छिरिन् चितवनबाट राजधानी खाल्डो । तर कहाँ प्रिय छ र, यो राजधानी ? यहाँ दिनभर रुपैयाँले र रातभर टोक्छ उपिँयाले । पाइलै पाइलामा खडा हुन्छ अजंगको समस्यारूपी पहाड । यद्यपि, लक्ष्य भेट्टाउनु थियो । गन्तव्य पहिलाउनुथियो । गरिबका सन्तानलाई कहाँ सजिलो छ र ? शुरुमै ५ लाख जम्मा गर्नुपर्ने । बुबाआमाको काँधमा थियो सात सन्तानको जिम्मेवारी ।

साधारण किराना पसल चलाएर जीवन गुजार्नेलाई त्यत्रो रकम जुटाउन सकस हुनै नै भयो । त्यही कारण युटर्न भयो जिन्दगीको पाइला । व्यवस्थापन संकाय र अध्ययन गर्न थालिन् । त्रिविअन्तर्गत जनमैत्री कलेजबाट स्नातक तह पार लगाइन् । व्याचलर अध्ययनरत रहँदै गर्दा ०६८ सालमै कसिन् लगनगाँठो । श्रीमान् र घर परिवारको साथ सहयोगका कारण रोकिएन अध्ययनको गति । स्नातकोत्तर तह शंकरदेव कलेजबाट पार लगाइन् । तर मनको कुनामा थियो एउटा रहर– सांगीतिक फाँटमा केही गरेर देखाउने । अनेक संघर्ष र अप्ठ्याराहरूका बावजुद पनि मर्न दिइनन् रहर । एउटी नारी, काँधमा छ सासूससुराको हेरचाह र स्याहारसुसार गर्ने दायित्व अनि श्रीमान्लाई खुशी राख्नुपर्ने । करियर पनि साथसाथै लैजानुपर्ने । यही भुंग्रोमा थिइन् । तर, श्रीमान् सकेसम्म सांगीतिक क्षेत्रमा नलागिदिए हुन्थ्यो भन्ने । सबैभन्दा बढी थियो आत्मविश्वास । घरमै बसेर केही हुन्न भन्ने लाग्थ्यो । अरूका एल्बममा गाउनका लागि धेरैलाई नमस्कार गरियो । ढोगियो । केही अग्रजले तिम्रो भोकलले गीत चल्दैन भनेर चलेका गायकलाई गाउन लगाएको क्षण कहिल्यै मानसपटलबाट हट्न सक्दैन । त्यही चोटपछि एउटा अठोट पलायो ।

आफैंमा सिर्जना गर्ने शक्ति छ, लय र स्वर छ भने कि आफैं सिर्जना नगर्ने ? किन अरूलाई नमस्कार गर्ने ? त्यही सोचेर आफैं गीत सिर्जना गर्न थालिए । यस्तैमा आफ्नै शब्द र स्वरमा सजिएको पहिलो गीत बजारमा आयो ‘तिमी नै हौ देउता’ । यो गीत घनश्याम मुडभरी र आफ्नै आवाजमा सजिएको छ । त्यही पछि बल्ल आत्मसन्तुष्टिको सास फेरिन् । तर, त्यो खुशी धेरै पल टिकेन । एल्बम निकालेर घर पुग्दा दुःखले डेरा जमायो । त्यही दिन नराम्रोसँग गाली खानुप¥यो । यो क्षेत्रमा लागेपछि मान्छे बिग्रन्छन् भन्ने सोचले डेरा जमाएको थियो पतिमा । तर, नशा भन्ने चिज बडो अनौठो हुँदो रहेछ । त्यसैले त कविवर माधवप्रसाद घिमिरेले लेख्नुभयो, ‘ढुंगाको काँप फोरेर पनि उन्म्रन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन बिफल’ । पिपलको रूखजस्तै हो सिर्जना शक्ति जो ढुंगाको काँप फोरेर पनि उम्रन्छ । कसैले रोक्न खोजेर रोकिन्न । विस्तारै सांगीतिक फाँटमा चिनिन र खोजिनेमा पर्न थालिन् ।

लोकगायिकाका रूपमा मेला र महोत्सवबाट निमन्त्रणा आउन थाल्यो । पारिवारिक जस्तोसुकै तनाव सहेर पनि यही बीचमा आमा बराबर, शहर आएपछि, प्रीतिको बास्ना, तिमी नै हौ देउता, झण्डै चड्कन खाइयो, अब देश हाँक्ने महिलाकै हो पालोजस्ता निकै राम्रा गीत सार्वजनिक भइसकेको छ । यसको अलवा मिल्ने साथी बोलको गीतको भिडियोमा समेत देख्न पाइन्छ । लोकप्रिय सञ्चारकर्मी पनि हुन् । लोककला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा सक्रिय उनी झ्यामै दोहोरी कार्यक्रम चलाउँदै आएकी छन् । यसका अलावा उदघोषण तालिम दिन्छिन् । उनलाई लाग्छ लोकदोहोरी एउटा संस्कृतिको चिनारी हो । अहिले बजारमा निकै उच्छृंखल खालका गीत आइरहेका छन् । यस्ता गीत नल्याइदिए हुन्थ्यो भन्ने लाग्छ । ती क्षणिक न्यानो हुन् भन्ने लाग्छ । त्यस्तो क्षणिक न्यानोको पछि लाग्नु छैन उनलाई ।

– अञ्जना सुवेदी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*