कोरोनाको कहर र हल्लाको मनोविज्ञान

जन आस्था
१ चैत्र २०७६, शनिबार ११:४८

यी पंक्ति लेख्न थाल्दा कोरोना संक्रमितको संख्या एक लाख सात हजार आठ सय ६२ पुगेको छ । तीन हजार छ सय ६४ जनाको मृत्यु भएको छ । नयाँ संक्रमितको संख्या ४३ हजार दुई सय ७४ छ । त्यसमा ३७ हजार दुई सय ३३ जना मध्यम स्तरका छन् । छ हजार ४१ जना गम्भीर छन् । ६० हजार नौ सय २४ जना निको भएर घर फर्किएका छन् । कोरोनाको संक्रमण अहिले विश्व भ्रमणमा छ । एक सय पाँच देशमा पुगिसकेकोे छ । चीनपछि यसले इटलीमा ठूलो मानवीय क्षति पु¥याएको छ । गम्भीर प्रकृतिको संक्रमितको संख्या हेर्दा चिन्तित हुनुपर्ने त छ तर निको हुने दर हेर्दा आत्तिनुपर्ने केही छैन ।

कोरोना के हो ? कसरी लाग्छ ? कस्तो लक्षण देखिन्छ ? उपचार के कसरी गर्ने ? त्यसको जवाफ सबैतिर भेटिन्छ । तर सूचना दिनेभन्दा पनि तर्साउने प्रवृत्ति हावी छ । शुरुमा सबैजसो मिडियाले भटाभट मृतकको संख्या गन्दै भयावह तथ्यांक पस्कन थाले । धेरै पछि मात्रै हो, उपचारपछि घर फर्किएकाको तथ्यांक दिन थालिएको । शुरु शुरुमा त कोरोना लाग्नेबित्तिकै ठाउँका ठाउँ मर्छ भन्ने प्रस्तुती आउँथ्यो । हुन त कोरोना भाइरसबारे चिकित्सकहरूको मत पनि बाझिएको छ । बेलायतमा लामो समय भाइरसको अध्ययन–अनुसन्धानमा लागेका कुनै डाक्टर कोरोनाजस्तो डरलाग्दो भाइरस अहिलेसम्म देखेको थिइनँ भनिरहेका छन् । नेपाली चिकित्सकचाहिँ यो सामान्य भाइरस हो भन्दैछन् । धन्न, अहिलेसम्म हामी नेपाली भाग्यमानी ठहरिएका छौं किनकि कोरोनाको संक्रमण हाम्रो भूमिमा देखिएको छैन । यदि संक्रमण भइहाल्यो भने त्यसले बिरामीलाई अत्याएरै मार्छ ।

कोरोनाको उत्पत्ति स्थल चीनको वुहानबाट नेपालीहरूलाई उद्धार गर्ने, उनीहरूलाई क्वारेन्टाइनमा राख्ने विषयमा आएका क्रिया प्रतिक्रियाहरू हेर्दा नेपाली समाजको मनोविज्ञान थाहा हुन्छ । सामान्य मानिसदेखि कुनै दलको अध्यक्षसम्मको धारणाले धेरै कुरा स्पष्ट गर्छ । वुहानबाट नेपालीको उद्धारलाई संक्रमितको उद्धार गर्ने अर्थमा बुझियो । नबुझेकाले त बुझेनन् नै, बुझेकाहरूको सोचाइ पनि उत्तेजक देखियो ।

नेपालीलाई आज के गर्ने भन्ने भन्दा पनि भोलिका लागि कसरी सञ्चित गर्ने भन्ने चिन्ता छ । लहैलहैमा ग्यासको सिलिण्डर बोकेर लाइन लागिँदैछ । बोराको बोरा चामल जम्मा गरिएको छ । तेल, नूनको जोगाड हुँदैछ ।

यसो हुनुमा राज्य पनि जिम्मेवार छ । किनकि राज्यप्रति विश्वास कम छ । राज्य पनि तयारी गर्नुभन्दा चेतावनी दिनमै व्यस्त छ । बिनाकाम घरबाट नहिँड भनिएकाले नागरिकहरू ग्यासका सिलिण्डर बोकेर हिँडेका छन् । जान्ने सुन्ने भएर केही नेताहरू श्रीमतीलाई कार्यालयबाट बिदा लिन लगाइ लगाइ चामल, दाल, चिनी र नूनको भण्डारण गर्न लगाइरहेछन् । काठमाडौंमा बस्ने एकल परिवारलाई दाल, नून, चिनी, तेल कति चाहिएला, किन हतारिनुपरेको होला ? एक सिलिण्डर ग्यास भयो भने तीन महिनालाई पुग्छ । ग्यास नै नभए पनि बिजुलीबाट खाना पाक्छ । नून केही दिन नखाएर मरिन्न । चिनी त जीवनभर नखाए पनि चल्छ । महिनौंलाई पुग्ने सञ्चिति गर्दा अरूलाई असर पर्छ भन्ने सोचिएको खै ? उपभोक्ता सचेत भइदिने हो भने व्यापारीले साँढे हुनै पाउँदैनन् ।

कोरोना संक्रमणको हल्ला हुनेबित्तिकै व्यापारीहरूले मास्क लुकाउन थालिहाले, जसरी नाकाबन्दीताका साविकको मूल्यमा इन्धन पाइएन, १० गुणा बढी तिर्छु भन्नेबित्तिकै जत्ति पनि पाइन्थ्यो । नाकाबन्दीले धेरै कुरा सिकाएको छ । त्योभन्दा अघि भूकम्पले पनि धेरै कुरा सिकाएकै छ । सामुहिक बास र सामुहिक गाँस गरेर बाँच्ने कला त सिकेकै हो । परोपकाए पुण्याय, पर पीडनम पापाय भन्ने त हामीले उहिल्यैदेखि सुनिआएकै हौं, यसको पालना गरौं । अहिले कसैले अनावश्यक खाद्यान्न, इन्धन थुपा¥यो भने अरुले महँगोमा किन्नुपर्छ । राज्यभन्दा व्यापारी बलियो भएको देशमा सचेत हुने उपभोक्ताले नै हो । यस्तो अवस्थामा सचेत नागरिक एकले अर्कोलाई सहयोग गर्ने हो । यसो गर्दा सबैको जित हुन्छ । कोरोना संक्रमणलाई पनि जितिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*