संसार हल्लाउने अद्भूत स्त्रीहरू

राजेन्द्र स्थापित

सन् १९१७ मा भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा रुसमा सम्पन्न समाजवादी क्रान्तिले करोडौं जनतालाई जहाँनिया जार (राजा) को शोषणयुक्त शासन तथा फ्रान्स, जर्मनी र ब्रिटेनको साम्राज्यवादी अत्याचारबाट मुक्ति दिलायो । आज १ सय ३ वर्ष बितिसकेको छ तर पनि जनताको अजय शक्तिमा आधारित त्यो क्रान्तिको महत्व उत्तिकै छ । किनकि त्यस क्रान्तिले सर्वप्रथम मानिसबाट मानिसको शोषण हुने शासन पद्धतिलाई ठूलो धक्का दिएको थियो । उक्त क्रान्ति सम्पन्न हुनुमा रुसी महिलाहरूको पनि अहम् भूमिका थियो ।

त्यसो त अमेरिकाको कपडा कारखानाका महिला कामदारहरूले आन्दोलन गर्नुअगाडि रुसमा भेटा जासुलिच, मारिया स्पिरिदोनोभा, भेरा फिग्नर र इकातेरिना ब्रेस्कोभ्स्कीहरूले महिला हकहितको कुरा उठाइसकेका थिए । सन् १८८० को दशकमा जब रुसमा सामाजिक जनवादी आन्दोलन चल्यो, त्यसले धेरैभन्दा धेरै महिलाहरूलाई आकर्षित ग¥यो । पछि लेनिनकी धर्मपत्नी बनेकी नादेज्दा क्रुप्स्काया जस्ता शहरी विद्यार्थी पनि त्यसमा सामेल भएकै हुन् । सन् १९०५ को क्रान्तिले पहिलोपटक महिला अधिकारको कुरा उठायो । रुसी युनियन फर वुमेन्स इक्वालिटीजस्तो संस्था जन्मियो । महिला आन्दोलनको शुरुवातसँगै १९१४ मा ‘रोबोटनित्सा’ (महिला मजदुर) पत्रिका निस्क्यो । यसका सम्पादकहरू थिए( बोल्सेभिक नेतृहरू नादेज्दा क्रुप्स्काया, इनेसा आर्मन्ड र कोन्फोर्डिया सामोइलोभा । यो पत्रिका ७ अंक निस्किएपछि जार शाहीबाट जफत भयो । लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भएपछि यो बोल्सेभिक पार्टीको एउटा प्रमुख पत्रिका बन्यो ।

अक्टोबर क्रान्तिकै दौरान जुलियन क्यालेण्डरअनुसारको फेबु्रअरी २३ का दिन पेत्रोग्रादमा महिलाहरूले विशाल प्रदर्शन गरे । ‘लिग फर वुमेन्स इक्वेल राइट्स’ का अध्यक्ष पोलिक्सेना सिस्कना लाभेन र भेरा फिग्नरले नेतृत्व गरेको सो प्रदर्शनमा ४० हजार महिलाको सहभागिता थियो । आन्दोलनरत बोल्सेभिक कार्यकर्तामा एक हजार महिलाको छुट्टै बटालियन थियो । यही आन्दोलनको फलस्वरूप बोल्सेभिक सरकार गठनलगत्तै महिलाले मताधिकार पाए । २३ फेबु्रअरी गेग्रोरियन पात्रोअन्तर्गत ८ मार्चमा पर्छ । त्यसबेला यो पात्रो प्रचलित भइसकेका कारण यो दिवस ८ मार्चमा मनाउन थालियो । अक्टोबर क्रान्ति सम्पन्न गर्न रुसी महिलाहरूले अहम् भूमिका निभाएको र क्रान्तिपछि गठित समाजवादी सरकारले महिलाहरूलाई अधिकार प्रदान गरेका कारण पछि रुसी लालसेनामा धेरैभन्दा धेरै महिला सहभागी भए । गृहयुद्धताका लालसेनामा ८० हजार महिला थिए ।

क्रान्ति सम्पन्न भएपछि सत्तारुढ अखिल रुसी कम्युनिष्ट पार्टी (बोल्सेभिक) ले आफ्नो सचिवालयअन्तर्गत महिला विभाग गठन ग¥यो । सन् १९१९ मा गठित यो विभागमा झेनोत्डेलका संस्थापकहरू थिए– अलेक्ज्याण्द्रा कोलोन्ताइ र इनेसा आर्मन्ड । सत्तारुढ दल उक्त विभागमार्फत महिलालाई हक, हित र अधिकार दिलाउन अग्रसर भयो । महिलावर्गको जीवनस्तर उकास्ने, महिला शिक्षाको लागि लड्ने, गर्भपतनलाई कानुनी मान्यता दिलाउने, मुस्लिम बहुल मध्यएसियाका मुस्लिम महिलाबाट बुर्काको अनिवार्य प्रचलन हटाउने काममा सफल भयो । सन् १९२० मा रुसका सरकारी अस्पतालमा गर्भपतन शुरु गरियो । लेनिनको अवसानपछि जोसेफ स्टालिन सत्तामा पुगे । उनले सन् १९३० मा यो विभाग विघटन गरिदिए । महिलावर्गको समस्या गरिबी निवारण र उत्पादनमाथि राज्यको नियन्त्रणपछि आफसेआफ समाधान हुन्छ भन्ने उग्रसोचको परिणाम थियो यो घटना ।

‘झेनोत्डेल’ को पहिला अध्यक्ष थिइन्– इनेसा आर्मन्ड । यिनको पूरा नाम हो– इनेसा फ्योदोरोभ्ना आर्मन्ड । लेनिनभन्दा चार वर्ष कान्छी इनेसाको जन्म फ्रान्सको राजधानी पेरिसमा भएको हो । आमा नताली विल्ड फ्रान्सिसी–अंग्रेज वंशकी थिइन् भने बाबु थियोडोर पेसेउस फ्रान्सका ओपेरा गायक । इनेसा पाँच वर्षकी हुँदा थियोडोरको निधन भयो । पिताविहीन उनलाई सानीआमा र बज्यैले मस्को लिएर गए । सानीआमा र बज्यै दुवै त्यहाँ शिक्षिका थिए । १९ वर्षको उमेरमा इनेसाको बिहे रुसी कपडा व्यापारी अलेक्ज्याण्डर आर्मान्डसित भयो । उनी चार सन्तानको आमा बनिन् र लोग्नेसँग मिलेर मस्कोबाहिर किसानका छोराछोरी पढ्ने स्कुल खोलिन् । अत्यन्त निर्धन महिलाहरूको सहयोगार्थ कार्यक्रम सञ्चालन गरिन् ।

लोग्नेसितको उठबस ९ वर्षसम्म मात्र चल्यो । सन् १९०२ मा सम्बन्धबिच्छेद गरी देवर भ्लादिमिरसँग बिहे गरिन् । भ्लादिमिर उग्रवामपन्थी थिए । उनैको संगतमा इनेसा पनि वामपन्थी बनिन् र १९०३ मा प्रतिबन्धित दल रुसी सामाजिक जनवादी लेबोर पार्टीको सदस्यता लिइन् । त्यसबेला सरकारले अवैध मानेको पर्चा छर्ने र पोस्टर टाँस्ने काममा सक्रिय भइन् । पार्टी कामकै क्रममा सन् १९०७ मा पक्राउ परिन् । दुई वर्ष कारावासस्वरूप उत्तरी रुसको मेजेनमा निर्वासनमा गइन् तर त्यहाँ दुई वर्षभन्दा बसिनन् । सन् १९०८ मा मेजेनबाट भाग्न सफल भए पनि रुसमै बसिनन् । पेरिस पुगिन्, जहाँ निर्वासनमा रहेका रुसी कम्युनिष्ट नेता लेनिनसँग भेट भयो । तीन वर्षपछि पश्चिम युरोपमा गठित बोल्सेभिकहरूको संयोजन समितिको सचिव बनिन् । लेनिनसिते सम्बन्ध बाक्लिएपछि उनी लेनिन दम्पतीको निवास पेरिसको ४, रुइ मारिरोज सडकस्थित फ्ल्याट नम्बर २ मा बस्न थालिन् । यसबीच लेनिन र उनको सम्बन्ध कसिलो बन्न पुग्यो । इनेसालाई लेनिनको प्रेमिका मान्नेहरू धेरै छन् । तुलनात्मक रूपमा लेनिनकी पत्नी क्रुप्स्कायाभन्दा राम्री मानिएकी इनेसा र लेनिनबीच शारीरिक सम्बन्ध भएको आजसम्म कसैले प्रमाण जुटाउन सकेका छैनन् ।

खासगरी लेनिनले इनेसालाई पत्र लेख्दा अन्तिममा ‘तिम्रो लेनिन, तिम्रो भि.यु.’ (भ्लादिमिर उल्यानोभको छोटकरी रूप) लेख्ने गरेको, प्रायःजसो क्रुप्स्काया आफ्नी आमा एलिजाभेटा भासिलेभ्नासँग सुत्ने गरेको, क्रुप्स्कायालाई लेनिनकी बहिनी अन्नाले मन नपराएको, कतिपय पारिवारिक फोटोमा इनेसा लेनिन र क्रुप्स्कायाको बीचमा देखिने गरेको, लेनिन दम्पती रुस फर्केपछि पनि इनेसा उनीहरूसँगै बस्ने गरेको, लेनिन गीत–संगीत मन पराउने तर क्रुप्स्कायाको संगीतमा दखल नभएको, उनको तुलनामा इनेसाले लेनिनलाई गीत÷संगीतमार्फत मानसिक तनाव शान्त पार्न मद्दत गरेको जस्ता तथ्यहरूका कारण कतिपयले दुवैलाई प्रेमी–प्रेमिका मान्ने गरेका ह्न् । इनेसालाई लेनिनकी प्रेमिकाको रूपमा प्रस्तुत गर्ने गरेकै कारण उनले कम्युनिष्ट आन्दोलन र महिला आन्दोलनमा पु¥याएको योगदानलाई इतिहासकारहरूले छायाँमा पारेका छन् । पटक–पटक पक्राउ परेकी र स्विट्जरल्याण्ड गई समाजवादी महिलाहरूको युद्धविरोधी सम्मेलन गरेकी, क्रान्तिपछिको मस्को–सोभियत कार्यकारिणी समितिको सदस्य बनेकी, सन् १९२० मा सम्पन्न कम्युनिष्ट महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनको अध्यक्षता गरेकी र कम्युनिष्ट पार्टीको सरकार बनेपछि दैनिक १६ घण्टा खटिएको कारण क्षयरोगको शिकार बनेकी उनको सन् १९२० को सेप्टेम्बर ४ मा निधन भयो ।

रुसी महिलाको हकअधिकारका लागि लडेकी अर्की हस्ती अलेक्ज्याण्ड्रा कोलोन्ताइ हुन् । माक्र्सवादी क्रान्तिकारी । विद्यार्थीकालमै माक्र्सवादमा अभिरुचि देखाइसकेकी उनी शुरुमा आफ्नी दिदी झेनियालाई सघाउन लागिपरिन् । झेनिया आइतबार बिदाको दिन शहरी मजदुरलाई समाजवादी विचार सिकाउँथिन् । यसबीच सेन्ट पिटसबर्गमा केन्द्रित माक्र्सवादी अभियानमा सक्रिय इलेना स्टासोभासित उनको भेट भयो । इलेनाले कोलोन्ताइलाई भूमिगत पार्टीको गोप्य पत्र र सन्देश पु¥याउने, ल्याउने हल्काराको रूपमा प्रयोग गरिन् । पछि कोलोन्ताइ बेलायत गइन्, जहाँ उनको संगत त्यहाँका समाजवादीहरूसँग भयो । सन् १८९९ मा उनको भेट लेनिनसित भयो, रुसमै । लगत्तै सामाजिक जनवादी लेबोर पार्टीमा लागिन् । सन् १९०५ मा सेन्ट पिटसबर्गको विन्टर प्यालेसअगाडि गरिएको विद्रोह ‘खुनी आइतबार’ मा सरिक भइन् । सन् १९०३ मा उनी आबद्ध राजनीतिक दल टुक्रियो– मेन्सेभिक (अल्पमत) र बोल्सेभिक (बहुमत) को नाउँमा । उनी मेन्सेभिकतर्फ लागिन् । सन् १९१५ मा मात्र लेनिन नेतृत्वको बोल्सेभिकको सदस्य बनिन् ।

सन् १९१७ को अप्रिलमा लेनिन निर्वासनबाट फर्केपछि उनको समर्थन गर्ने प्रमुख नेतृ थिइन् । पार्टीको केन्द्रीय कमिटीले सशस्त्र अक्टोबर क्रान्ति गर्ने निर्णयमा पनि समर्थन गरिन् । क्रान्तिपछिको पहिलो सरकारमा जनकमिसार नियुक्त भइन् । पार्टीको महिला विभाग झेनोत्डेलकी नेतृ इनेसाको निधनपछि नेतृत्व सम्हालिन् । महिला अशिक्षाविरुद्ध लडिन् । समाजमा महिलाको दर्जा उच्च पार्न लागिपरिन् । पछि कूटनीतिक सेवामा लागिन् । उनीपछि महिला विभागको नेतृत्व सोफिया स्मिडोभिकले सम्हालिन् । यसपछि नेतृत्वमा आइन्– क्लाभ्डिया निकोलायेभा । निकोलायेभा नादेज्दा क्रुप्स्कायाहरूले निकालेको पत्रिका ‘रोबोत्नित्सा’ मा लेख्थिन् । १५ वर्षकै उमेरमा सन् १९०८ मा पक्राउ परिन् । थप तीनपटक पक्राउ र दुईपटक निर्वासनको दण्ड भोगिन् । सन् १९०९ मा बोल्सेभिक पार्टीमा लागेकी उनी प्रेस मजदुर युनियनमा सक्रिय हुन्थिन् । क्रान्तिपछि जार शाहीले खारेज गरेको पत्रिका ‘रोबोत्नित्सा’ को पुनः प्रकाशन शुरु भयो, जसको सम्पादनको जिम्मा उनैले सम्हालिन् । क्रान्तिकालमा पनि पेट्रोग्रादमा महिलाहरूको जुलुस निकाल्ने, सभा सम्मेलन गराउने काममा अग्रणी भूमिका खेलेकी थिइन् । सन् १९३६ मा मजदुर संगठनको सचिव भइन् । पछि सोभियत सरकारको उच्च निकाय सुप्रिम सोभियतको सदस्यसम्म बनिन् ।

निकोलोयभापछि महिला विभागको नेतृत्व अलेक्ज्याण्ड्रा भ्यासिलेभ्ना आत्र्युखिनाले सम्हालिन् । सानैमा कम्युनिष्ट आन्दोलनमा लागेकी उनी २० वर्षकै उमेरमा निर्वासनको दण्ड भोग्न बाध्य बनेकी थिइन् । स्वदेश फर्केपछि मजदुर संगठनमा पुनः सक्रिय बनिन् । अक्टोबर क्रान्तिमा होमिइन् । उनी सोभियत सर्वोच्च अदालतमा नियुक्त प्रथम महिला न्यायाधीश थिइन् । पाँच वर्ष महिला विभाग सम्हालिन् । उनैको कार्यकालमा स्टालिनले महिला विभाग झेनोत्डेललाई विघटन गरिदिएका हुन्, सन् १९३० मा ।

रुसी राजनीतिमा उच्च स्थान हासिल गरेका र रुसी महिलाहरूको हक–अधिकार र समानताका लागि जीवन उत्सर्ग गरेका महिलाहरूको स्मरण गर्दा लेनिनपत्नी नादेज्दा क्रुप्स्कायाको देन र योगदानलाई नजरअन्दाज गर्नु बेमनासिव हुनेछ । रुसी क्रान्तिका नायक लेनिनको सुख, दुःख, सफलतामा उत्तिकै सहभागी थिइन् क्रुप्स्काया । लेनिनको साइबेरिया निर्वासनमा समेत साथ दिएकी उनले क्रान्तिकारी पत्रिका ‘इस्क्रा’ को सम्पादनसमेत गरेकी थिइन् । क्रुप्स्कायाजस्तै लियोन ट्राटस्कीकी पत्नी नतालिया सेदोभा, महिला क्रान्तिकारी चित्रकार लाटिसा राइजनर, पहिलो महिला क्याबिनेट मन्त्री सोफिया पानिना, अक्टोबर क्रान्तिको बेला मस्कोमा मजदुरहरूले निकालेको सशस्त्र जुलुसको नेतृत्व गरेकी रोजालिया जेम्ल्याच्का पनि सम्मानको उत्तिकै हकदार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*