गाँजा उमारौं, देशलाई उकासौं

शेरबहादुर तमाङ, पूर्वकानुनमन्त्री

नेपालको खास उत्पादन के हो ? कुनै समय हामी कार्पेट भन्थ्यौं । कार्पेट नष्ट भयो । त्यसपछि पश्मिना आयो । त्यो पनि सिद्धियो । अहिले वैदेशिक रोजगारीमा छौं । तर, विदेश पुगेका नेपालीको अवस्था अत्यन्त दर्दनाक छ । त्यही कारण तिनलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हो भने गाँजाखेती नै उत्तम हुन सक्छ भन्ने निश्कर्षमा पुग्यौं । डाक्टर, विज्ञ,कानुनका जानकारहरूको टिम तयार पारी सबैले रिसर्च गरेर काम अघि बढाउँदै गयौं । केशव स्थापितलाई बोल्न लगायौं । बीचमा विरोध खतिवडाहरूले संसद्मा प्रस्ताव पेश गर्नुभयो । धेरै माननीय र विज्ञले मुख खोल्न थाल्नुभयो । माहोल बन्दै गएपछि संघीय संसद्मा ‘गाँजाखेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरियो । नेपालमा गाँजा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउँदा निकै ठूलो आर्थिक लाभ हासिल हुनसक्छ । गाँजामा औषधीय गुण छ । विशेष गरी डिप्रेसनको रोगीका लागि फाइदाजनक वस्तु हो गाँजा ।

यो खेती राज्य नियन्त्रित हुन्छ । एउटा बोर्ड गठन भई यसका जिल्ला–जिल्लामा कार्यालय खडा गरिन्छन् । वन निरीक्षकजस्तै यसमा पनि कर्मचारी खटाइन्छन् । तिनले निरीक्षण गर्छन् र लाइसेन्स दिन्छन् किसानलाई । किसानले जति मन लाग्यो त्यति उत्पादन गर्न पाउँदैनन् । आफूसँग भएको जमिनको निश्चित प्रतिशत मात्र उपभोग गर्न पाइन्छ । जसको जमिन छ, उसैले मात्र गाँजाखेती गर्न पाउँछ । अरूको जमिनमा गाँजाखेती गर्न पाइँदैन । कानुनले निर्देशन गरेअनुरूप उत्पादन भएको रहेनछ भने लाइसेन्स खारेज गर्ने र जेल हाल्ने व्यवस्था छ ।

कृषकले गाँजाखेती गरिएको जग्गाको कित्ता नम्बर, जम्मा क्षेत्रफल, फसल तयार हुने क्रममा रहेको वयस्क बोटको संख्या, बोटबाट प्राप्त सुकेको गाँजाको कूल परिमाण, गाँजा वा भाङको दाना उत्पादन गरेर बोर्डलाई बिक्री गरेको परिमाण र मिति राख्नुपर्नेछ । उत्पादित चिजलाई बोर्डले कलेक्सन गर्छ । किसानको मूल्य तिरेर त्यसबाट आउने मुनाफा, रोयल्टी राज्यको कोषमा जान्छ । यसको हिसाब अर्ब होइन, खर्बमा हुन्छ । अन्तर्राष्ट्रिय बजारमा यसको धेरै ठूलो माग छ । ४० भन्दा बढी देशले खुला गरेको अवस्था छ । संयुक्त राष्ट्रसंघको डब्लुएचओले समेत यो लागुऔषध नभई औषधीय गुण भएको प्लान्ट हो भनिरहेको छ । त्यसको आधारमा सदस्य राष्ट्रहरूसँग के गर्ने हो ? सोधिरहेको छ । त्यही कारण हामीले पनि यथाशक्य छिटो कानुन बनाएर यसलाई खुला गर्नुपर्ने आवश्यकता छ । किसानलाई उत्पादनतर्फ लान सकेको खण्डमा एक÷दुई वर्षभित्रै नसोचेको आर्थिक परिणाम लिन सकिन्छ ।

गाँजा खाएर मान्छे गँजडी हुन्छ भन्ने तर्क गरिँदै छ । व्यापारीलाई गाँजामा प्रतिबन्ध लगाउँदा नै फाइदा हुन्छ । किसानबाट सस्तोमा उठायो अनि अन्तर्राष्ट्रिय बजारमा महँगोमा बेच्यो । त्यही कारण एउटा खेमा यसको विरुद्धमा छ । हामीले किसान र राज्यलाई धनी बनाऔं भनेका हौं । डाक्टरले दिएको प्रेस्क्रिप्सनको आधारमा २१ वर्ष उमेर नाघेकाले मात्र प्रयोग गर्न पाउनेछन् । अरू देशले पूरै छुट दिएको छ । हामी त्यो मोडलमा अहिले नै पुगिहाल्दैनौं । अनुमतिपत्रप्राप्त व्यक्तिले उत्पादन, प्रशोधन तथा बिक्री वितरण गरेको दैनिक विवरण राख्नुका अलावा रक्सी खानेले भारतमा फर्म भरेझैं खरिद गर्ने व्यक्तिको नाम, थर, वतन, उमेर, नागरिकता नम्बर वा राष्ट्रिय परिचय नम्बर, त्यस्तो औषधि सिफारिस गर्ने चिकित्सकको नाम तथा नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर तथा तोकिएबमोजिमको विवरणको अभिलेख राख्नुपर्नेछ । गाँजाखेती गर्नका लागि १८ वर्ष पुगेको र बिक्री गर्न २१ वर्ष पुगेको हुनुपर्ने छ । कपडा बनाउने औद्योगिक प्रयोजनका लागि रेसा उत्पादन गर्ने वा खाद्य पदार्थको रूपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तथा बिक्री वितरण गर्ने हो भने डेल्टा टीएससी ० दशमलव २ प्रतिशत वा सोभन्दा कम प्रतिशत भएको गाँजा प्रजातिको खेति गर्न सकिन्छ । राज्यको आम्दानी बढाऔं । कर उठाऔं भनेका हौं हामीले । अहिले पेट्रोलमा कर बढाइँदै छ । कर बढाएर राज्य धनी हुने होइन । जनतालाई कमाउने बाटो दिएर पो राज्य धनी हुन्छ । जनतालाई धनी बनाउन खोज्दा कसैले लाञ्छना लगाउँछन् भने त्यो नबुझेर लगाइएको लाञ्छना हो । समयक्रममा सबैले बुझ्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*