जहाँ रानीहरू समुद्रमा फ्याँकिन्छन्

राजेन्द्र स्थापित

 ‘पाशा’ टुर्की समाजमा सुल्तानद्वारा दिइने उच्चकोटिको दर्जा थियो । पछि यो उपाधि पाएकाहरू प्रान्तीय सरकार प्रमुखको रूपमा प्रख्यात भए । अहमद इज्जत पाशा अल अविद त्यस्तै एक पाशा थिए । यिनको जन्म त सिरियाको शहर दमास्कसमा भएको थियो तर उनी टुर्कीका २४औं सुल्तान (सम्राट्) अब्दुल हमिद (द्वितीय) का खास र विश्वासिलो व्यक्ति बने, सल्लाहकार । सुल्तानका दाहिने हात उनै थिए । उनले जे चाहन्थे सुल्तानलाई त्यसै गराउँथे । विदेशी शक्तिराष्ट्रसँग टर्कीको सुलह पनि उनैले गराउँथे । उनी अत्यन्त चतुर खेलाडी थिए । १५ वर्ष सुल्तानको सल्लाहकार बन्दा अकूत सम्पत्ति कमाए ।

सन् १९०८ मा त्यहाँ युवाले राजतन्त्रविरुद्ध आन्दोलन छेडे । सन् १८७७ मा जारी संविधान पुनःस्थापना, संवैधानिक राजतन्त्र, बहुदलीय राजनीतिक व्यवस्थाको माग गरे । आन्दोलनले उग्ररूप लिन थालेपछि सुल्तानले आफ्नो ज्यान जान सक्ने खतरा देखे । दरबारमा नबसी गोप्य निवासमा बस्न थाले । सुल्तानको सुरक्षा व्यवस्थालगायत सम्पूर्ण राजकाज अप्रत्यक्ष रूपमा इज्जत पाशाले गर्न थाले । कसैसँग भेट्दैनथे । राज्यको काम पनि गर्दैनथे । उनले मीठो बास्ना आउने एक खालको खाने चक्की बनाएका थिए र सुल्तानसामु जाँदा त्यो चक्की खाएर जान्थे । उता, सुल्तान अब्दुल हमिद मदिरा खानेलाई घृणा गर्थे । बास्ना आउने चक्की खाएर सुल्तानसामु जाने गरेकाले पाशाले रक्सी पिउन थालेको कुरा सुल्तानले चालै पाएनन् । तर, आँखाको मुनिको भाग सुन्निन थालेपछि उनले शंका गरे । तर, उनी पाशालाई अत्यन्त मन पराउँथे र विश्वास गर्थे । पाशाले त्यही विश्वासको आडमा अन्य मन्त्रीको काममा हस्तक्षेप गर्थे । सुल्तानको आदेश भन्दै आफूलाई मन नपरेकालाई बर्खास्तसम्म गर्थे । कतिपयलाई समुद्रमा समेत फ्याँक्न लगाए । पाशाको यस्तै दुव्र्यवहारबाट क्षुब्ध भएका युवाले राजतन्त्रकै विरुद्ध आन्दोलन छेडे । आन्दोलन देशैभरि फैलिन थालेपछि सुल्तानले पाशालाई देशनिकाला गरिदिए । पाशा इटलीको मालोनिका पुगे ।

सुल्तान हमिदका ३ सय ५० रानी थिए । सबै एकसेएक सुन्दरी । उनीहरू विलासी जीवन बिताउँथे । सुल्तानको हरेक इच्छा पूरा गर्थे । ‘जनाना घर’ मा उनीहरू दिनभर शृंगार गरी बस्थे । खाने, सुत्ने, गफ गर्ने, षड्यन्त्र गर्ने नै यिनीहरूको दिनचर्या हुन्थ्यो । एकपटक जनाना घरमा प्रवेश गरेका युवती कहिल्यै त्यहाँबाट निस्कन सक्दैनथे । तिनीहरूमध्ये सुल्तानका मन पर्नेले विशेष सुविधा पाउँथे । सुल्तानसँग सुत्नसमेत पाउँथे । सुल्तानको शयनकक्षमा पस्दा यी रानीहरू सामान्य ढंगले जान सक्दैनथे । पलङसम्मै घोप्टो परेर घिस्रेर जानुपथ्र्यो । सुल्तानबाट गर्भधारण गर्न सके उनीहरू आफूलाई धन्य सम्झन्थे । बच्चाको आमा बन्ने शौभाग्य प्राप्त गर्नेहरूको सामाजिक इज्जत, मर्यादा उच्च हुन्थ्यो । जनाना घरकी शासिका अर्थात् सञ्चालिका सुल्तानकी आमा हुन्थिन् । जनाना घरका स्त्री उर्फ रानीहरूलाई राजमाताले नोकर्नीभन्दा माथि सम्झिँदैन थिइन् । यहाँ ल्याउने स्त्रीहरू प्रायः युद्धको समयमा, लुटपाट गर्दाको समयमा पक्री ल्याउनेहरू हुन्थे । सुल्तानको इच्छा पूरा गर्न नमान्नेहरूलाई बोराभित्र राखेर बन्द गरी समुद्रमा फ्याँक्न लगाइन्थ्यो । कहिलेकाहीँ एकै समयमा यसरी समुद्रमा फ्याँकिनेहरूको संख्या तीन सयभन्दा बढी पनि हुन्थ्यो ।

दरबारमा काकेसियन (क्यास्पियन र काला सागर वरिपरिको क्षेत्रका निवासी) महिलाहरूको छुट्टै समूह हुन्थ्यो । शारीरिक रूपमा अत्यन्त बलियो हुने यिनीहरूको काम जनाना घरको सुरक्षा, चौकीदारी र रेखदेख गर्ने हो । सुल्तानको आज्ञाको अनादर गर्ने महिलालाई बोराभित्र बन्द गरेर फ्याँक्ने जिम्मेवारी उनीहरूकै हुन्थ्यो । युवाले आन्दोलनका क्रममा बल्ल त्यहाँका सर्वसाधारण र विदेशीले जनाना घरको रहस्य थाहा पाए । उनीहरूले जनाना घरमाथि कब्जा जमाए, त्यसबखत त्यहाँ ३ सय ७० ‘रानी’ र १ सय २७ नोकर कार्यरत थिए । आन्दोलनकारीले सुल्तान हमिदलाई पनि अपदस्थ गरे । जनाना घरका सबैलाई मुक्त पारेर उनीहरूका परिवार र नातेदारलाई सुम्पिए । स्मरणीय छ, आन्दोलनको तागतबाट स्थापित नयाँ राजनीतिक व्यवस्था दुई वर्षसम्म मात्र चल्यो । आन्दोलनकारीले सुल्तान हमिद (प्रथम) का छोरा महमुद (पञ्चम) रेसादलाई सन् १९०९ मा गद्दीमा बसालेका थिए । रेसादले सन् १९१८ सम्म शासन गरे ।

जनाना घरबाट मुक्त ‘रानीहरू’ लाई परिवारलाई सुम्पँदाको दृश्य अत्यन्त कारुणिक बन्न पुगेको थियो । विशेषतः समुद्रमा फ्याँकिएका ‘रानीहरू’ का परिवारका सदस्यको अवस्था बेहाल बन्न पुगेको थियो । किनभने, परिवारले आफ्ना छोरी, बुहारी वा पत्नीलाई जिउँदै समुद्रमा बगाइएको जानकारी पाएकै थिएनन् । जनाना घरमा रहेका महिला बिरामी पर्दा चिकित्सकलाई त्यहीं बोलाउने गरिन्थ्यो । चिकित्सकले बिरामी महिलाको शरीर कमभन्दा कम मात्रै देख्न पाउँथे । उदाहरणका लागि जीब्रोको जाँच गर्नुपर्ने थियो भने त्योबाहेकको शरीरको अन्य भाग ढाक्न लगाइन्थ्यो । यदि, टाउकोको समस्या हो भने बिरामीको सम्पूर्ण शरीर एउटा तन्नाले छोप्न लगाइन्थ्यो र पछाडि तन्नामा सानो प्वाल पारिन्थ्यो । चिकित्सकले सोही सानो प्वालबाट बिरामी जाँच्नुपथ्र्यो ।

सुल्तान हमिद (द्वितीय) ले आफ्नो अनुहार, शरीरको बनोट, उचाइसित मिल्ने दर्जनौं पुरुषलाई दरबारमा पालेका थिए । हेर्दा दुरुस्त सुल्तानझैं देखिने यिनीहरूलाई सुल्तानले नमाज पढ्न मस्जिद तथा अन्य सार्वजनिक कार्यक्रममा पठाउने गर्थे । यिनीहरू सुल्तानझैं घोडा–गाडीमा जान्थे । कैयौंपटक त विद्रोहीले सुल्तान सम्झेर यिनीहरूलाई गोली प्रहार गरी हत्यासमेत गरे । विद्रोही र सर्वसाधारण गोली खाएर पनि हरेकपटक सुल्तान कसरी जिउँदै हुन्छन् भनेर घोर आश्चर्यमा पर्थे । रहस्यको कुरो, सुल्तान यस्ता कार्यक्रममा कहिल्यै सरिक हुँदैनथे । जानै पर्ने कार्यक्रममा पनि नक्कली सुल्तानलाई राजाकै पोशाक लगाउन दिएर र सवारी चलाउन दिएर पठाउँथे । सुल्तानका दर्जनौं दरबार थिए । प्रत्येक दरबारमा भूमिगत कोठा बनाइएका थिए । उनी प्रायः यस्ता भूमिगत कोठामा बस्थे । दरबारमाथि प्रायः विद्रोहीको आक्रमण भइरहन्थ्यो । जति कोसिस गर्दा पनि सुल्तानलाई मार्न नसकेकोमा उनीहरू खिन्न हुन्थे । यसका बाबजुद विद्रोह चर्कंदै गयो ।

लैला इज्जत पाशाकी छोरी थिइन् । उनको जन्म दमास्कसमै भएको थियो । बाबु टुर्की सुल्तानको सल्लाहकार बनेपछि उनी पनि इस्तानबुल पुगिन् । दरबारमै ऐसआरामले बस्थिन् । दरबारमा हुने सबैखाले षड्यन्त्रको जानकार थिइन् । अत्यन्त रूपवती, संगमरमरजत्तिकै गोरो शरीर । अंग्रेज, तुर्क, अरबी शिक्षकहरूबाट शिक्षा हासिल गरिन् । अंग्रेजीबाहेक, फ्रान्सिसी, इटालियन र स्पेनिस भाषा पनि बोल्थिन् । दरबारबाट निस्कँदा कहिले पश्चिमी त कहिले अरेबियन पोशाक लगाउने गर्थिन् । पछि उनी आमासँग पेरिसमा बस्न थालिन् । त्यहाँको रंगीन स्थान ‘दि बोइ’ मा ।

त्यसबखत भारतको पञ्जाब प्रदेशको कपुरथला राज्यका राजा थिए, जगतजित सिंह । सिख राजा । फ्रान्स उनलाई सबैभन्दा मन पर्ने मुलुक थियो । वर्षमा केही महिना फ्रान्समै बिताउँथे । पेरिसमा घरै थियो । जहाँ फ्रान्सिसी भान्छेले पकाएको खाना खान्थे । फ्रान्समा रहुञ्जेल फ्रेञ्च नै बोल्न मन पराउँथे । भारतमा पनि उनले फ्रान्सिसी शैलीकै दरबार र घरहरू बनाउन लगाएका थिए । त्यसो त उनकी ६ वटी रानीमा फ्रेञ्च एकजना पनि थिएनन् बरु स्पेनिस एउटी थिइन्– प्रेम कौर उर्फ अनिता डेलगाडो । जगतजित सिंहका एक मन्त्री थिए– दिवान जर्मनीदास । जर्मनीदास चतुर मन्त्री थिए । उनले राजा जगतजित सिंहसँग फ्रान्सबसाइको क्रममा पाशाकी छोरी लैलासँग मित्रता गाँसे, एकजना अमेरिकी साथीमार्फत् । मित्रता केही समयपछि प्रेममा परिणत भयो । यो कुरो जगतजितले पनि थाहा पाए । जगतजितले यो कुरा यसकारणले मात्र मन पराएनन् कि विश्वभ्रमणमा गइरहनुपर्ने उनले जर्मनीदासको साथ नपाउने भए । किनभने मन्त्री जर्मनीदास फुर्सद पाउनेबित्तिकै लैलासँग भेट्न जान थाले । उनी चाहन्थे जर्मनीदास सधैं उनको साथमै रहुन् । अगाडि–पछाडि नदेखेपछि जर्मनीदास पक्कै लैलाकोमा गए होलान् भनी शंका गर्न थाले । एकदिन भनिहाले, ‘लैलालाई अत्यधिक समय दिनुको अर्थ मलाई समय नदिनु हो ।’

जगतजितको यो भनाइ सुनेपछि जर्मनीदासलाई आपत प¥यो । उनी लैलासँग नभेटी बस्न नसक्ने भइसकेका थिए । त्यसैले उनले लैलालाई मनाए । आफू जगतजितसँग जहाँ, त्यहीँ गए पनि लैलालाई त्यतै बोलाउन थाले । यसक्रममा जर्मनीदासको प्रेममा पागल बनिसकेकी लैला पनि कहिले अमेरिका त कहिले दक्षिण अफ्रिकासम्म पुगिन् । शुरुशुरुमा जगतजितले आफ्ना मन्त्री र लैलाको भेटघाट फ्रान्सबाहिर जताततै हुने गरेको सुइँको पाउन सकेनन् । तर प्रेमीसित भेट्न कहिले कता, कहिले कता गइरहनुपर्ने बाध्यताबाट लैला आफैं दिक्क भइन् । उनले बिहे गरेर आफूलाई मन लागेको ठाउँमा लैजान जर्मनीदासलाई दबाब दिइन् । पटक–पटकको दबाबपछि जर्मनीदासले महाराजा जगतजितसमक्ष कुरा राखे तर महाराजले खबरदारी गर्दै भने, ‘मेरो सेवामा रहिरहने भए रहनू, हैन लैलासित बिहे गर्ने हो भने बिहे गर्नू र नोकरी छाडेर घरमा बस्नू ।’

जर्मनीदास महाराजको नोकरी छोड्न चाहँदैनथे । किनभने उनका परिवारका सदस्य परम्परादेखि दरबारकै नोकरी गर्दै आइरहेका थिए । त्यसबखत पनि परिवारका सदस्य तथा थुप्रै नातेदार दरबारमै कार्यरत थिए । उनले मन्त्रीको पद गुमाउनु पर्दा उनीहरू नोकरीबाट बर्खास्तमा पर्ने भय उनलाई थियो । त्यसैले नोकरी होइन प्रेमको बलिदान गर्ने अठोट गरे । यसबीच प्रशान्त महासागरको तटीय फ्रान्सिसी नगर ‘ड्यु भिला’ मा उनीहरूको भेट भयो । सोही भेटघाटमै लैलाले जर्मनीदासलाई आफूसँग बिहे गर्न राजी पारिन् । फ्रान्सको कानुनअनुसार उनीहरूको बिहे सम्भव थिएन, त्यसैले जर्मनीदासले एकजना हिन्दू पुजारीको व्यवस्था गरे । पुजारी अरु कोही नभई उनैका अनन्य मित्र डिसी बर्मा थिए । उनैले वैदिक परम्पराअनुसार जर्मनीदास र लैलाको बिहे गराइदिए । एउटा बगैंचाको कुनातिर हवनकुण्ड बनाएर बिहे गराए । सात फेरो लिन लगाए । अनि बिहे सम्पन्न भएको घोषणा गरिदिए । त्यसपछि बल्ल कानुनी प्रक्रिया पूरा गर्नतिर लागे । मजिस्ट्रेट कार्यालयमा गएर जर्मनीदास र लैलाले हस्ताक्षर गरे । दुलाहा र दुलहीको तर्फबाट एक–एक जना साक्षी बसे । तीमध्येका एकजना लण्डनको अदालतमा वकालत गर्दै गरेका वकिल एट ला पनि थिए । जर्मनीदास र लैलाको बीचमा यो बिहे सम्पन्न भएको कुरा यी चारबाहेक कसैले थाहा पाएनन् । बाँकी अर्को अंकमा…

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*