परदेशको पिरती, स्वदेशमा पीडा

दामोदर पुडासैनी (हाल : काठमाडौं)

न रह्यो बाँस न बज्यो बाँसुरी । यस्तै हालतमा छन् एक युवा । जीवनमा थोरै दाम कमाउँला र श्रीमती, जहान–परिवारलाई खुसी दिउँला भनेर परदेशिएका पात्र हुन् उनी । राजधानी शहरबाट केही कोस पर । भन्ने गरिन्छ यो जिल्लामा कुखुराले पनि राजनीति गर्छ । केही थान डाक्टरले राजनीति गरेको नुवाकोटको एउटा केटाको कहानी हो यो । अर्काे के पनि भनिँदै आएको छ भने, डा. रामशरण महतको निर्वाचन क्षेत्रका कोही युवा बेरोजगार छैनन् जो प्रमाणपत्र तह उत्तीर्ण छन् । कोही सेना पुलिसमा त कोहीलाई बैंक तथा वित्तीय क्षेत्रमा जागिर लगाइदिएका छन् ।
तर, अछुतो पात्र हुन् ऋषि । जागिर खानका लागि राजनीतिक आस्था मुख्य कुरा हो । आस्था मिलेन र जागिर पाएनन् । नातावाद कृपावाद र फरियावादको योग्यता र दक्षताको भन्ने चिज ओझेल पर्दोरहेछ । नुवाकोटको गाउँबाट एसएलसी उत्तीर्ण गरेपछि ऋषि राजधानी झरे उच्च शिक्षा अध्ययनका लागि । गोंगबुस्थित विनायक प्राविधिक शिक्षालयमा भर्ना भए । उनको पढाइको विषय थियो अहेव । बिहानै उठेर कलेज जानु मध्याह्न कोठामा फिर्नु आफैं, खाना बनाउनु । विद्यार्थी जीवनकालका ती प्रिय तर कष्टकर क्षण थिए । मनभरि उत्साह थियो पढेर केही गरौं भन्ने जोश र जाँगर थियो । उनी दिन–रात सधंै अध्ययनमै व्यस्त हुन्थे । जतिबेला पनि पढेकै देखिन्थ्यो । यो ०७० सालताकाको कहानी हो ।

अहेवको पढाइ अन्तिम चरणमा थियो । ओजेटी गर्न उनीहरू पुगेका थिए काठमाडांैमाथिको झोरको हस्पिटलमा । करिब एक महिनाको ओजेटी क्लास थियो । ५ जनाको समूहको ओजेटी गर्ने टिम थियो, दीप्ति, महिमा, ऋषि, दीपेन्द्र र दामोदर । अर्थात् तीन पुरुष र दुई महिला । अचम्मचाहिँ के भने, मान्छे जुन चिजबाट भाग्न खोज्यो कालान्तरमा त्यहीँ पुगेर ठोकिन्छ । प्रेम सम्बन्धलाई ऋषि राम्रो मान्दैनथ्यो । ऊ भन्थ्यो, ‘यो त मान्छे सिद्धिने मेसो हो । वर्वादीको बाटो हो ।’ गाउँमा जन्मिएर हुर्किएको ऊ केटीसँगको सम्बन्धलाई कहिल्यै राम्रो नजरले हेर्दैनथ्यो । तर, प्रेम भन्ने चिजै यस्तो । यो गर्छु भनेर गरिने चिज थोरै न हो । यो त आपसे आफ हुन्छ, जब एउटा मनको नेटवर्क अर्काे मनसँग ठोकिन्छ । तब थाहै नपाई साटिन्छ मन र मुटु सुटुक्क । न साटिनेवालालाई नै होस हुन्छ न त साट्नेवालालाई नै ख्याल । त्यसैले त प्रेमलाई अन्धो भन्छन् मान्छेहरू । वास्तवमा प्रेम आफैंमा अन्धो हँुदैन प्रेम गर्नेहरूचाहिँ अन्धा हुन्छन् । उनीहरूलाई लाग्छ संसारमा प्यार सत्य हो र बाँकी सबै झुट । आफूलाई जन्म दिने बुबाआमा र आफन्तका कुरा झुट लाग्छ र सत्य लाग्छ छोटो समयमै नजिएककी प्रियसीको प्यार । यस्तै भयो ऋषिको जीवनमा । त्यो ओजेटीले उसको जीवन पनि यूर्टन भयो । प्रेम र स्त्रीलाई झुटो भन्ने ऋषि एकाएक दीप्तिको तारिफ र प्रशंसा गर्न थाल्यो । नजानिँदो पाराले दीप्तिको मन ऋषितिर सरिसकेको थियो । एक कान, दुकान, मैदान । हल्ला यसरी फैलियो कि कलेजभरि पुग्यो । ओजेटीमा त जम्मा ५ जना मात्रै थिए तर कसले र के स्वार्थले हल्ला कलेजसम्म फिँजाए ? ट्वाइलेटको भित्तामा समेत आर प्लस डी भनेर लेखे ? तर, कसले र किन लेखे ? समूहका ५ जना सबै तँै चुप मै चुप थिए ।

ऋषि र दीप्तिबीचको प्रेम सम्बन्ध एक वर्षसम्म चल्यो । समस्या त त्यतिबेला आउँछ जब प्रेमलाई विवाहमा रूपान्तरण गर्ने समय आउँछ । उमेरले भर्खरै २० टेक्दै गरेकी, गालामा डिम्पल परेकी र हाँस्दा केटाहरू फिदा हुन्थे दीप्तिको हाँसो देख्दा ।

ऋषि अहिले नै विवाह गर्ने मुडमा थिएनन् । ऊ चाहन्थ्यो सिटिइभिटिइबाट नतिजा आएपछि एकफेर विदेश नै जाऊँ । ऊ विदेशबाट फर्किएपछि मात्र विवाह गर्न चाहन्थ्यो तर दीप्ति मान्ने पक्षमा थिइनन् । विदेश जानुअघि उसको शर्त थियो ‘प्र्रेमिकाबाट आफ्नो श्रीमती बनाऊँ, अनि दुःख–सुख सँगै बाँडौंला ।’ मान्ने पक्षमा थिएनन् ऋषि । भन्छन् नि बालहठ, राजहठ र नारीहठको पछि कसैको केही जोर चल्दैन । लागेपछि लाग्यो–लाग्यो । दीप्तिको चेतावनी थियो विवाह नगरी विदेश हान्निए परिणाम जे पनि आउन सक्छ । यही धम्कीपूर्ण शब्द दीप्तिले बारम्बार प्रयोग गरिरही । रिजल्ट आयो । सहभागी ४० परीक्षार्थीमध्ये १६ जना मात्र पास । २४ फेल हुनेमा परे । जसमध्ये पास हुनेको सूचीमा अटाए दीप्ति र ऋषि ।

नतिजा सार्वजनिक भएको दिन दीप्तिकै जिद्धिमा दरबारमार्ग पुगेका थिए । त्यही समूहमा दामोदर पनि थियो । त्यहाँ पनि दीप्तिको उस्तै जिद्धि थियो, ऋषि मलाई छिट्टै आफ्नो बनाऊ । हुर्के बढेकी छोरी चेली जे पनि हुन सक्छ । भन्छन् नि, समस्या समस्यामा हुँदैन मान्छेमा हुन्छ, मान्छेको मनमा हुन्छ । दीप्ति काठमाडौंको रैथाने ऋषिको काठमाडौंमा आफ्नो सम्पत्ति भन्नु केही थिएन । नेपाल टेलिकमका सरकारी जागिरदार उनका पिता चाहन्थे काठमाडौंमा घर भएको र सरकारी जागिरदारलाई नै ज्वाइँ बनाऊँ । दीप्ति बाबु आमाको एक्ली छोरी । उसले ऋषिसँग आफूले विवाह गर्न नपाए परिणाम नराम्रो हुने भन्दै धम्क्याएपछि बाबुआमा ‘तिमीहरूको मन मिल्छ भने हाम्रो केही लाग्दैन’ भन्न विवश भए । ०७४ को वैशाखमा दीप्ति र ऋषिको विवाह भयो । विवाहको केही समयपछि नै यो जोडी वसुन्धारामा मेडिकल चलाएर बस्यो । उनीहरूसँगै अध्ययन गरेका केही साथी वैदेशिक रोजगारीका लागि इराक प्रस्थान गरिसकेका थिए । उनीहरूको एउटै अठोट थियो, बाँचे धनको थुप्रो मरे हाडको थुप्रो । दलालमार्फत पाँच लाख बुझाएर इराक पुगे साथीहरू ।

नेपालमा जस्तो हल्लिएर र अरूको कुरा काटेर त्यहाँ खान पाइँदैनथ्यो । काममै जोतिनुपथ्र्याे जतिखेर पनि । कमाइ महिनाको करिब ७० हजार हारााहरीमा हुन्थ्यो । तीन वर्ष इराक बस्दा झण्डै २० देखि २२ लाख कमाइ हुन्थ्यो । कमाएको पैसा ऋषिले दीप्तिलाई पठाउँदै गयो । उनीहरूबीचको टेलिफोन सम्पर्क भइरहेको थियो । ऋषि र हाम्रो कार्यस्थल कोसौं वरपर थियो । कहिलेकाहीँ च्याट, अनलाइनमा त कहिलेकाहीँ भेट गथ्र्याैं, लुकी–लुकी भेट्नुपथ्र्याे । ज्यानको जोखिम थियो । यस्तो बेला ऊ सुनाउँथ्यो कमाएको पैसाले काठमाडांैमा घडेरी जोड्छु र ससुरालीको अगाडि घर बनाएर देखाउने उसको प्रण थियो । दुई वर्षसम्म उसले लगातार दीप्तिलाई पैसा पठाउँदै गयो । आफ्नी प्रेमिकाप्रति शंका गर्नुपर्ने कुनै कारण थिएन । तर, एकाएक ऋषि र दीप्तिबीचको सम्पर्क टुट्यो । खबर आयो त्यस समय पहिलाको क्याम्प सरेर हामी दुवै अर्काे क्याम्पमा पुगेका थियौं । नेपालमा रहेका साथीहरूबाट बुझ्दा मेडिकल बेचेको जानकारी पाइयो । ससुरालीमा फोन गर्दा सकारात्मक जवाफ मिलेन । उल्टो ससुराले झपार्दै जवाफ फर्काएछन् तिमीलाई नै भनेर तिम्रै जिम्मा लगाएकी मेरी छोरी कहाँ गई तिमी नै जानौला ।’ तीन वर्ष नभई फर्कन मिल्दैन थियो । दुःख–सुख तीन वर्ष हामीले इराकमा गुजा¥यौं । स्वदेश फर्किएर हामीले दीप्तिको खोजी गर्न थाल्यौं । पछि चाल पाइयो दीप्ति कान्ति हस्पिटलको एउटा डाक्टरको पछि लागिछे ।

ऊ अहिले कान्ति हस्पिटलकै जागिरे बनेकी छे । यतिखेर हामी स्वदेशमा छौं । भन्छन्, प्रेम विश्वासमा चलेको हुन्छ । तर, घात–प्रतिघातको यो दुनियाँमा कसको मनमा को पो पस्न सक्छ र ? दीप्तिलाई बुझ्न र चिन्न नसक्दा ऋषिका लागि अहिले न रह्यो बाँस न त बज्यो बाँसुरीको स्थितिमा ऊ पुगेको छ । न उसले कमाएको १२ लाख आफ्नो भयो न त आफैंले सिन्दूर हालेर विवाह मण्डपमा सात फेर मारेर सात जुनी सँगै बाँच्ने सँगै मर्ने कसम खाएकी दीप्ति नै उसको भई । यसको दुःखान्त प्रेमकहानी अरू कसैको जीवनमा नघटोस् !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*