पुरुषलाई पनि प्याड बाँडी हेरौं न !

लक्ष्मी पौडेल

माघ सकिँदै गर्दा तराईमा गर्मी शुरु भइसकेको थियो । तर, बिहानको चिसो हटिसकेको थिएन । एकाबिहानैको कुहिरो पन्छाउँदै बडहर्वा चोकमा पुग्यौं । माघ २७ गतेको एक बिहान त्यहाँ पुग्दा एक हुल महिला जम्मा भएका थिए । खासमा जितपुरसिमरा उपमहानगरपालिका–१८ मा एक्स्पोज नेपालले निःशुल्क पुनः प्रयोग गर्न मिल्ने प्याड बाँड्दै छ भन्ने खबरपछि भेला भएका हुन् उनीहरू । आफू पत्रकार भएकाले महिलासँग महिनावारी र उनीहरूले त्यस समयमा प्रयोग गर्ने प्याड अथवा कपडा र स्वास्थ्यका विषयमा कुरा गर्न खोजें ।

समाचार लेख्न पनि महिनावारीबारे खुलेर कुरा गर्नु थियो । निःशुल्क बाँडिने प्याड उनीहरूले कसरी प्रयोग गर्छन् ? कि बाँड्ने र फाल्ने हुन् भन्ने शंका थियो । म कुरा गर्न खोज्छु, उनीहरू हातले मुख छोप्छन् । म, लाज लाग्यो ? भनेर सोध्छु उनीहरू भुतुक्कै भएर सलले पूरै अनुहार ढाक्छन् । एक्स्पोज नेपालका ज्ञान महर्जन दुई वटा कार्टुनमा प्याड बोकेर बडहर्वा पुगेका छन् । भेला भएका महिला छिटोछिटो प्याड लिएर गइहाल्न पाए हुन्थ्यो भन्ने हतारोमा छन् । महिला खुलेर बोल्नै नसकेपछि मैले ज्ञान महर्जनलाई यत्तिकै बाँड्न नहुने सुझाएँ । यसैअनुसार गाउँका अरू पुरुषलाई पनि भेला गराएर केही कुरा भन्यौं र प्याड बाँड्यौं ।

प्रायः सबैलाई थाहा छ, महिनावारी महिलाको नियमित प्रजनन प्रक्रिया हो । तर, यसलाई लाज र शरमको विषय बनाएर अझै पनि समुदायमा कोही खुलेर बोल्न चाहन्नन् । बोल्नेहरू थोरै छन्, ती अरूलाई सुनाउन र अरू पनि बोल्ने गरी काम गर्न सकिरहेका छैनन् ।

छाउगोठको चलन कर्णाली वा सुदूरपश्चिममा छ भन्ने गरिए पनि महिनावारी हुँदा छोइछिटो बार्ने चलन नभएको देशको कुनै कुना छैन । त्यस्तो अवस्थामा महिलालाई खुला रूपमा प्याड बाँड्ने र त्यो अरू सामानझैं हातमा राखेर घर लैजाने वातावरण बनिसकेको छैन । सुदूरमा बिनाकुनै योजना छाउ भत्काएर महिला न छाउगोठ, न त घर भएका समाचार आएजस्तै तराईमा बिनाकुनै योजना प्याड बाँडेर पनि प्रयोग नभएको तीतो यथार्थ उनै महिलाले सुनाए । अबको बहस महिलाले प्रयोग गर्ने प्याड महिलालाई मात्र होइन पुरुषलाई पनि बाँडौं र घरका महिलालाई सहज रूपमा उनै पुरुषले दिउन् भन्नेतर्फ किन नहुने ?

ज्ञान महर्जन भन्छन्, ‘हामीले पसलबाट नुन, तेल, चिनी, साबुन किन्दा किन एउटा प्याड किन्ने बानी बसाल्न सकेनौं ?’ आमा, श्रीमती, दिदीबहिनी वा घरका अरू महिला सदस्यलाई पुरुष सदस्यले प्याड किन्न सक्ने वातावरण कहिले बनाउन सकिन्छ ? यो पेचिलो विषय हो ।
पुरुष त पर, महिला आफैंले पनि घरका अरू समानसँगै प्याड किन्न सक्दैनन् । प्याड महिनावारी भइसकेपछि नजिकको पसलमा पुगेर हतार हतार किनी कालो प्लास्टिक वा पेपरमा बेरेर लुकाई ल्याउने साधन पो बनेको छ ।

हामी महिनावारीका बेला बजारका प्याड किन्छौं भने त्यसलाई प्रयोग गरिसकेपछि व्यवस्थापनमा समस्या झेलिरहेका छौं । कपडाका टुक्रा वा कपडाकै पुनः प्रयोग गर्ने प्याड प्रयोग गर्छौं भने पनि त्यसलाई धुन र घाममा सहजै सुकाउन सक्ने गरी मानसिक रूपमा तयार छैनौं । बजारको प्याड प्रयोग गरेपछि लुकेर अन्य फोहोर फाल्ने स्थानमा फाल्ने अथवा फोहोर बोक्ने गाडीमा सुइँक्याउने गरिरहेको यथार्थलाई यहाँ लुकाइरहनु परेन । थोरै मात्र छौं जसले प्याडको उचित व्यवस्थापन गर्न सिकेका छौं । नेपालका केही सीमित विद्यालयमा प्याड डिस्पोजल युनिट खडा गरिएबाहेक मुलुककै मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्रका शौचालयमा पनि प्याड राम्रो व्यवस्थापन हुन सकेको छैन ।

बाराको बडहर्वामा गरिएको कार्यक्रममा पत्रकार पुष्पराज खतिवडाले भने, ‘महिनावारीको विषयमा श्रीमतीलाई कहिल्यै चासो दिएर कुरा सोधिनँ । अनि उनले के प्रयोग गर्छिन् ? र, त्यसको व्यवस्थापन कसरी गर्छिन् भन्नेबारे जानकारी छैन ।’ खतिवडाले सोही कार्यक्रमबाट श्रीमतीका लागि र स्थानीय एक बालिकाका लागि प्याड लिएर गए । ‘योे प्रयोग गर्ने र पुनः प्रयोगका लागि सफा गर्ने तरिका सिकाएर श्रीमती र गाउँकी बालिकालाई दिनेछु’, उनले भने ।परिवर्तन एकैपटक हुने होइन । वडा नं १८ का वडाध्यक्ष अर्जुन दाहालले बडहर्वामा महिलालाई प्याड हातमा थमाइदिए र भने, ‘म पनि तपाईंहरूकै दाइ भाइ हो । तपाईहरु जस्तै श्रीमती, छोरी–बुहारी मेरा घरमा पनि छन् । तपाईं श्रीमान्लाई महिनावारीका बेला चाहिने सामानबारे सुनाउनुस्–बुझाउनुस् ,चाहिने सामान किन्न भन्नुस् । म आफू पनि किन्छुु, दिन्छु । उनीहरूलाई पनि भन्छु । अब यो लाज र शरमको कुरा भएन ।’ यसो भन्दै गर्दा वडाध्यक्षको हातबाट प्याड लिएर महिला लजाउँदै फर्किहाल्थे । दाहालले लाज किन मानेको भन्दै नाम सोधेर फोटो खिचाउँथे ।

प्याड कपडाको प्रयोग गरौं
बजारमा अहिले पुनः प्रयोग गर्न नमिल्ने केमिकलयुक्त प्याड सहजै किन्न पाइन्छ । मूलतः भारत र अन्य मुलुकबाट आएको प्याड विकसित मुलुकका लागि उपयुक्त भए पनि नेपालको सन्दर्भमा ठीक छैन । एक त प्रत्येक पटक किनिरहनुपर्ने हँुदा खर्चका हिसाबले महँगो । दोस्रो, प्रयोग गरिसकेपछि व्यवस्थापन उचित नहुँदा जटिल स्वास्थ्य जोखिम ।

बाटोछेउ खोल्साखोल्सी फोहोर थुप्रिएको ठाउँ, नदी खोला किनारमा रगतका टाटाले भरिएका प्याड कति छिरलिएका छन् ? के ख्याल गरेका छौं ? शरीरबाट बगेर जमेको रगतबाट कति जीवाणु फैलिन्छन् ? त्यसले वातावरणमा कति रोग फैलाएको छ के त्यसको अन्दाज छ हामीलाई ? हामी फोहोर देखे नाक, मुख थुन्न र अरूलाई छि छि दुर्दुर गर्न सजिलै सक्छौं । तर, मानव स्वास्थ्यसँग जोडिएको यस्तो गम्भीर विषयलाई नजरअन्दाज गर्छौं ।

महिनावारीका बेला अपनाउनुपर्ने स्वास्थ्य संयमताबारे होटल र पार्टी प्यालेसमा गरिएका बहस कार्यक्रमबाट कति उपलब्धिपूर्ण नतिजा ल्याउन सक्यौँ, समीक्षा गर्नै पर्ने हुन्छ । हिजो हाम्रा आमाहरूले प्रयोग गर्ने कपडाको विकल्पमा आधुनिक प्याड प्रयोग गर्न थाल्यौँ तर त्यसले झन् जोखिम ल्याउँदै छ भने अब कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याडबारे किन नसोच्ने ?

कपडाको प्याड सुती फलाटिन र वाटरप्रुफ पानी वा रगत बग्न नदिने कपडालाई प्रयोग गरेर तयार हुन्छ । विभिन्न संघसंस्थाले यस किसिमका प्याड बनाउने र बाँड्ने गर्न थालेका छन् । कपडाको प्याड प्रयोग गरिसकेपछि तातोपानी, सर्फ पानी र साबुनले राम्ररी धोएर घाममा सुकाउने र आइरन गरेर अर्को पटक प्रयोगका लागि सुरक्षित रूपमा राख्नुपर्छ भन्ने चेतना बाँडौं । यो चेतना महिलालाई मात्र होइन, पुरुषलाई पनि बाँडौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*