प्रधानमन्त्रीसामु यसरी गल्यो चोर

राजेन्द्र स्थापित

चन्द्रगुप्तले भारतमा मौर्य वंशको शासन स्थापना गरी मौर्य साम्राज्यलाई वर्तमान भारत, पाकिस्तान र बंगलादेशको प्रायःजसो भागमा फैलाए । नन्द साम्राज्यलाई पराजित गर्दा मात्र २३ वर्षका थिए । उनलाई युद्ध गर्न, राजा बनाउन र शासन गर्न सिकाउने गुरु थिए– चाणक्य । जो पछि प्रधानमन्त्री बने ।

चाणक्य एकदिन आफ्नो कुटीमा पुस्तक पढ्दै थिए । त्यसैबेला एकजना महात्मा आइपुगे । साँझ खानाको समय थियो । चाणक्यले ती पाहुनालाई खानाको निम्तो गरे । महात्माले नकारेनन् । चाणक्यले खाना थालमा पस्कन थाले । महात्माले हेर्दा खाना एकदम साधारण खालको थियो । भात, दाल र तरकारी ।

महात्माले केही नबोलिकन खाए । हात धोइसकेपछि सोधे, ‘तपाईं यो विशाल साम्राज्यको शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ तर यति सरल र सादा जीवन किन जिउनुहुन्छ ?’

चाणक्य, ‘जनताको सेवा गर्न प्रधानमन्त्री बनेको हुँ । यसको अर्थ यो होइन कि राज्यको सम्पत्ति आफ्नो निम्ति उपयोग गरौं । हेर्नुस्, यो कुटी पनि म आफैंले बनाएको हुँ ।

महात्माले अर्को प्रश्न गरे, ‘के तपाईं जीविकोपार्जनका लागि केही काम गर्नुहुन्छ ?’

चाणक्य, ‘हो, किताब लेख्छु । प्रत्येक दिन आठ घण्टा राज्यको र चार घण्टा परिवारको निम्ति काम गर्छु ।’

महात्माले चाणक्यको कुरा सहजै बुझे । पुस्तकको आम्दानीबाट चाणक्यले आफ्नो परिवार पाल्ने गरेको थाहा पाए । एकपटक नजिकै गाउँमा अत्यन्त चिसोले जनजीवन निकै कष्टकर बनेको खबर सुने । तुरुन्त राज्यको भण्डारमा रहेको कम्बल मगाए । कम्बल कर्मचारीहरुले चाणक्यको कुटीमा ल्याएर राखे । त्यही राति कुटीमा चोर पस्यो । उसले नयाँ कम्बल चाङ लगाइराखेको देखेपछि त्यही चोर्ने विचार ग¥यो । कम्बलको चाङछेउमै चाणक्य निदाइराखेका थिए । जो च्यातिसकेको पुरानो कम्बल ओढेर सुतिरहेका थिए । चोर यो देखेर एकछिन सोचमग्न बन्यो ।

नयाँ कम्बलको चाङ हुँदाहुँदै किन पुरानो कम्बल ओढेर सुत्ने गरेका होलान् भनी सोच्न थाल्यो । प्रधानमन्त्री आचार्य चाणक्यको स्वार्थहीनता देखेर ऊ छक्क प¥यो । चाणक्यप्र्रति श्रद्धा जाग्यो । उसले कम्बल बिहान गाउँलेहरुको घरदैलोसम्म वितरण गर्नमा चाणक्यलाई सघायो पनि ।

गुरुले जे गरे

रविन्द्रनाथ टैगोर नोबेल साहित्य पुरस्कारबाट पुरस्कृत हुने पहिलो भारतीय हुन् । बंगालमा जन्मेका उनले आफ्नो मातृभाषा बंगालीलाई परिष्कृत बनाए । साहित्य, संगीत, कला र शिक्षा क्षेत्रमा पनि ठूलो योगदान पु¥याए । अमेरिका, जापान, ब्रिटेन, चीनलगायत दर्जनौं मुलुकको यात्रा गरी भारतीय साहित्यको प्रचारप्रसार गरे । ८० वर्षको उमेरमा सन् १९४१ मा उनको निधन भयो ।

सन् १९०५ मा ब्रिटिश भारतका गभर्नर जनरल लर्ड जर्ज नाथानियल कर्जनले बंगाल विभाजनको घोषणा गरे । उनी सन् १८९८ मा गभर्नर नियुक्त भई भारत पुगेका थिए । पछि सन् १९१९ देखि १९२४ सम्म बेलायतको विदेशमन्त्रीसमेत बने । बंगाल विभाजनको घोषणा गर्दा उनले भने, ‘बेलायत सरकार बंगाल विभाजन गर्न विवश बन्यो । विभाजनपछि सरकारको प्रशासनिक प्रक्रियामा सुधार हुने आशा सरकारले लिएको छ ।’

वास्तवमा तत्कालीन बंगालमा वर्तमानको पश्चिम बंगाल, बिहार, उडिसा, असम र बंगलादेश थिए । ब्रिटिश सरकारको योजना असमसहित ढाका, त्रिपुरा, नोआखाली, चटगाउँ र मालदाजस्ता क्षेत्रलाई समेटेर पूर्वी बंगाल र असम छुट्टै राज्य बनाउने थियो । उक्त योजनालाई बंगालीहरुले शंकाको दृष्टिले हेरे । यसभित्र ब्रिटिश सरकारको षड्यन्त्र लुकेको ठाने किनभने बंगालको पूर्वी क्षेत्र मुस्लिम बहुल र पश्चिम हिन्दु बहुल थियो । अंग्रेजहरुले दुई धर्मसम्प्रदायका भारतीय जनतालाई आपसमा लडाएर आनन्दले शासन गर्न खोजेको उनीहरुले चाल पाए । बंगाल विभाजन घोषणाको विरोध शुरु भयो । आन्दोलन देशव्यापी फैलियो । प्रमुख राजनीतिक दल भारतीय कंग्रेसले स्वदेश अभियानको घोषणा ग¥यो । विदेशी सामान बहिष्कार शुरु ग¥यो । भारतभरि विदेशमा निर्मित कपडा जल्न थाले ।

उता रविन्द्रनाथ टैगोरले विभाजन गर्ने भनिएको दिन अक्टोबर १६ मा ‘राष्ट्रिय शोक दिवस’ मनाउने घोषणा गरे । सम्पूर्ण बंगालीको घरमा त्यो दिन खाना नपाक्ने भयो । बंगालका हिन्दु तथा मुसलमानबीच आपसी भाइचाराको सम्बन्ध छ र रहने छ भन्ने सन्देश दिन टैगोरले राखी (रक्षाबन्धन पर्वको दिन भारतीय महिलाले आफ्ना दाजुभाइलाई हातमा बाँधिदिने धागो) लाई उपयोग गर्ने ठाने । हिन्दु र मुसलमानहरुले एकापसमा राखी बाँधेर जीवनभर एक–अर्काको सुरक्षा गर्ने शपथ खान लगाउने योजना बनाए ।

अक्टोबर १६ को दिन टैगोर सबेरै उठे । गंगा नदीमा स्नान गरे । उनले नुहाउञ्जेल जनसमूह एकत्रित भइसकेको थियो । त्यहींबाटै सयौं राखी बोकेर ठूलो जुलुस अघि बढ्यो । जुलुसको नेतृत्व टैगोरले गरे । जुलुसमा सहभागी हिन्दु–मुसलमान, जोसुकैले बाटोमा भेटेका जतिलाई राखी बाँध्दै गए । जुलुसमा सहभागीको संख्या बढ्दै गएपछि घरको कौसी, बरण्डा र झ्यालमा उभिएर हेर्दै गरेका महिलाहरुले चामल फ्याँकेर र शंख बजाएर स्वागत गर्न थाले । जुलुसमा सहभागी कसैले कुनै नारा उरालेका थिएनन् न ब्रिटिश सरकारको विरोध नै, तर पनि सम्पूर्ण बंगालीहरुले विरोधको उद्देश्य र ब्रिटिश सरकारको षड्यन्त्र थाहा पाए । जुलुसले परिणाम देखायो । ब्रिटिश सरकार केही समयका लागि भए पनि बंगाल विभाजन रोक्न बाध्य बन्यो । यद्यपि अंग्रेजहरु सात वर्षपछि सन् १९१२ मा बिहार, असम र उडिसालाई बंगालबाट छुट्याउन सफल भए । पछिल्लोपटक यो विभाजन भाषाको आधारमा गरियो । गुरुदेव रवीन्द्रनाथ टैगोरको बंगाल विभाजन हुन नदिने चेष्टा सफल भएन । अन्त्यमा बंगाल टुक्रियो नै ।

भोक र भक्त

आलवी गौतम बुद्धको समय अर्थात् पाँचौं, छैटौं शताब्दी इशापूर्वमा पूर्व पाञ्चाल (प्राचीन १६ महाजनपदमध्येको एक) स्थित एउटा राज्य । यसलाई सम्भवतः भारतको वर्तमान गाजीपुर नजिकको प्रदेश मानिएको छ । चिनियाँ यात्री ह्वेन त्सांगले आलवकलाई ‘चंचु’ उल्लेख गरेको पाइएको छ । आलवीलाई यसको राजधानी भनिएको छ ।

गौतम बुद्ध धर्म देशनाको क्रममा ५ सय भिक्षुको साथमा आलवी पुगे । नगरबासीले भव्य स्वागत गरे । एकदिन बुद्ध र भिक्षुहरुलाई भोजन खुवाउने कार्यक्रम बन्यो । नगरका एकजना गरिब किसान पनि बुद्धको उपदेश सुन्न चाहन्थे । त्यसै बिहान उनको एउटा गोरु घाँसे चरनदेखि टाढा गयो । किसान दुःखी भएर भोकै गोरु खोज्न हिँडे । गोरु खोजेर खाना खाएर प्रवचन स्थलमा चाँडोभन्दा चाँडो पुग्न चाहन्थे । मध्याह्नतिर आफ्नो गोरु एउटा पोखरीनजिक चरिरहेको फेला पारे । खुशी भएर त्यसलाई घर लगे अनि हतारहतार प्रवचन सुन्न हिँडे । सभा शुरु भइसकेको थियो । उनले बुद्धलाई नमस्कार गरे र एउटा कुनामा बसे । तर भोकले रन्थनिएका कारण प्रवचनमा खासै ध्यान दिन सकेनन् ।

बुद्धले ती किसानलाई देख्नेबित्तिकै थाहा पाए कि उनी भोकै छन् । उनले तुरुन्त एकजना भिक्षुलाई बोलाएर ती किसानलाई भोजन ख्वाउन आदेश दिए । बुद्धको आज्ञा पाएका भिक्षुले किसानलाई पेट भरिने गरी खुवाए । किसानले खाइसकेपछि बुद्धले पुनः प्रवचन सुरु गरे । बुद्धको उपदेश सुनेर ती किसानले ठूलो ज्ञान प्राप्त गरे । प्रवचन सकिएपछि अरुसरह घर फर्किए । भिक्षुहरु भने ती किसानलाई लिएर चर्चा–परिचर्चा गर्न थाले । बुद्धले एकजना भिक्षुले ‘तथागत (सम्मानस्वरुप बुद्धलाई संबोधन गरिने शब्द) को काम हेर, आज उनले एकजना गरिब किसानलाई देख्नेबित्तिकै भोजन खुवाउन लगाए’ भनेको सुने ।

बुद्धले उनीहरुलाई भने, ‘हो भिक्षुगण, ती किसान अत्यन्त भोका थिए, भोकले सताइएको मान्छेले धर्म बुझ्दैन । त्यसैले पहिला मैले उनलाई खाना खुवाउन लगाएँ ।’ बुद्धले अगाडि भने, ‘भिक्षुगण, भोक सबैभन्दा ठूलो रोग हो ।’

बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि जंगलमा घोर तपस्या गरेका थिए । उनले भोकको महत्व स्वयंले त्यसबेला अनुभव गरिसकेका थिए, भोकले मनुष्यलाई शारीरिक र मानसिक कमजोर बनाउँछ भन्ने व्यावहारिक ज्ञान हासिल गरिसकेका थिए । भोकबाट ध्यान हटाउन मनुष्यप्रति मैत्री र करुणाभाव राख्न, भौतिक पदार्थबाट टाढा राख्न अपरिगृह (कुनै पनि वस्तु सञ्चित नगर्ने) को पालन गरी त्यागी बन्न सिकेका थिए । उनको भनाइमा यो अभ्यासबाट केही हदसम्म भोकलाई शान्त पार्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*