​आँखाबिना पनि जसलाई आनन्द आउँछ

जन आस्था
२७ पुष २०७६, आईतवार १३:००

  • राजेन्द्र स्थापित

पानी जहाजको डेकमा उभिएर एकजना व्यक्ति पूर्वतिर नियाल्दै थिए । व्यापारी मित्रको हात समातेर प्रफुल्ल हुँदै भने, ‘त्यता हेर मित्र ! त्यो सूर्य आफ्नो सप्तरंगी किरण छरेर प्रकृतिको नैसर्गिक शोभालाई चुम्न खोज्दै छ । हेर त हेर, कस्तो मनै लोभिने दृष्य छ ।’

व्यापारी मुसुक्क हाँसे । मित्रले जस्तै प्रकृतिको उक्त सुन्दरताको व्याख्या गर्न शब्द र शिल्प थिएन । त्यस्तो दृश्य सबैले, सधैं देखिराखेकै हुन्छन् तर बयान गर्ने क्षमता सबैमा हुँदैन । हेरेर, देखेर पनि कमैले मात्र भन्न सक्छन्, ‘वाह ! कति राम्रो दृश्य !’

जहाज समुद्रको बीचैबाट बढ्दै थियो, चारैतिर माथि नीलो आकाश, तल पनि नीलै पानी । यात्रुहरु आ–आफ्नै ध्याउन्नमा मस्त । तर व्यापारीका ती मित्र एकजना मात्र त्यस्ता थिए, जो प्रकृतिको सुन्दरता हेरेर खुशीको आँशु खसाल्दै थिए । ती व्यक्ति नदीपुत्र अर्थात् ग्रिक भाषामा मेलिसिग्नी । एक अमर काव्य पुरुष । 

होमर ग्रिसका प्राचीनतम र युरोपका सर्वस्वीकार्य कवि हुन् । उनलाई त्यसबखतको सभ्यता र संस्कृतिको अभिव्यक्तिकर्ता मानिन्छ । अन्धा हुनुको बाबजुद ‘इलियड’ र ‘ओडिसी’ जस्ता महाकाव्य रचना गरे । ग्रिक दार्शनिक प्लेटोले होमरलाई सम्पूर्ण ग्रिसको गुरु मानेका छन् । होमरको जन्म कहिले र कहाँ भयो आजपर्यन्त बहसकै विषय छ । उनीसम्बन्धी आठवटा जीवनी प्रकाशित छ, सबैमा जन्मस्थान र मिति फरक छ । तैपनि धेरैले इशापूर्व ८०० लाई जन्ममिति र स्मर्नाको लोनियालाई जन्मस्थान मान्ने गरेका छन् । होमर अन्धा थिएनन् भन्नेहरु पनि छन् । उनले दुई महाकाव्य इलियड र ओडिसीलगायत व्यंग्यकृति ‘भ्यागुता र मुसाको युद्ध’, ‘मिर्जिटिस’, ‘थेवाइस’ उपहास महाकाव्य रचना गरेका छन् । इलियड र ओडिसी युरोपेलीमाझ पूर्वको रामायण र महाभारतजत्तिकै लोकप्रिय छ । ‘इलियड’ इशापूर्व १२०० को ट्रोजन युद्धमा आधारित छ । ट्रोजन युद्ध ट्रोय नगर (हाल टर्कीको अनातोलिया) र ग्रिसबीच भएको थियो । 

होमरलाई घुमन्ते गायक मान्ने धेरै छन् । इशा जन्मिनुभन्दा १५ सय वर्षपूर्व विभिन्न आर्यजातिले ग्रिसमा प्रवेश गरे । यिनीहरुमा हेलेनिज, फोनेरिलन, एकियन, ब्रेरियन र आयोनियम प्रमुख थिए । होमर आयोनियन जातिको भएर पनि उनी सम्पूर्ण ग्रिसकै प्रवक्ता बने । आयोनियमहरुले उनका कवितालाई बाइबलसरहको सम्मान दिएका छन् । होमरलाई अन्धा मान्नेहरुको मत छ, उनको अपांगता, विवशताबाट कतिपय प्रतिभाविहीन व्यक्तिहरुले लाभ उठाउन भ्याए । उनको प्रतिभा स्वीकार्नुको बदला उनले लेखेको कवितालाई आफ्नो बनाए । उनको कवितामा आफ्नो नाउँ राखे । 

मेनेपुलस गरिब थिए । ओमिरेटिसकी पुत्रीसँग बिहे गरे । वर्ष दिनपछि छोरी क्रिथेइसको पिता बने । क्रिथेइस सानै थिए, मेनेपुलस र ओमिरेटिस दुवैको निधन भयो । बालिका क्रिथेइसलाई मेनेपुलसका मित्र क्लिनाक्सले पाल्न लगे । क्रिथेइस किशोरीवस्थामै गर्भवती बनिन् । गर्भवती बनाउने पुरुष को हो कसैले थाहा पाएनन् । धर्मपुत्री क्रिथेइस कुमारी आमा बन्न लागेको कुराले क्किनाक्स अत्तालिए । उनले बिओटिया निवासी साथी इस्मेनियाको जिम्मा लगाइदिए । त्यो बखत बिओटिया स्मर्ना साम्राज्यको अंग थियो । त्यहीं क्रिथेइसले छोरालाई जन्म दिइन् । मेल नदीको किनारमा जन्मेकाले शिशुको नाउँ राखियो– मेलिसिग्नी अर्थात् मेल नदीका पुत्र । क्रिथेइसले एकजना शिक्षकको घरमा काम गर्न थालिन् । शिक्षक फेमुस उनको सुन्दरता र योग्यताबाट प्रभावित बने । बिहेको प्रस्ताव राखे । क्रिथेइसले सहर्ष स्वीकारिन् । फेमुसले मेलिसिग्नीलाई पुत्र मात्र होइन, उत्तराधिकारीसमेत घोषणा गरे । शिक्षा दिलाए । मेलिसिग्नी युवावस्थामा टेकेकै बेला फेमुसको निधन भयो । लोग्नेको मृत्युलगत्तै क्रिथेइस पनि बितिन् । मेलिसिग्नीले स्मर्नामा असल स्कुल मास्टरको रुपमा ख्याति कमाए । सम्पन्न परिवारका छोराछोरी पनि उनले पढाउने स्कुलमा भर्ना हुन थाले । 

तर होमर सन्तुष्टि थिएनन् । देश–विदेश घुमेर अनुभव बटुल्न चाहन्थे । यसबीच उनको परिचय एकजना व्यापारीसित भयो । ती देश–विदेश घुमिरहन्थे । धनी भए पनि काव्यप्रति रुचि थियो । मेलासिग्नी कवि होमर बनिसकेका थिए । लिडिया प्राचीन अधिराज्य थियो । वर्तमानमा टर्कीको अनाटोलियाका सेनाले स्मर्नाको बस्ती खाली गराएको विरोधमा मेलिसिग्नीले साहित्यमा आफ्नो नाउँ ‘होमर’ लेख्न थालेका थिए । होमरको अर्थ समर्थक हो । 

होमरले ती व्यापारीसामु देशविदेश घुम्ने इच्छा व्यक्त गरे । व्यापारी दयालु थिए, त्यसमाथि काव्यका पारखी । उनी होमरलाई सँगै लान तयार भए । होमरले पहिलोपटक यात्राको क्रममा समुद्रमा चल्ने चिसो हावाको अनुभव थिए । समुद्रको छाल देखे । प्राकृतिक दृश्य नियाले । विभिन्न स्थानका जनता, तिनीहरुको भेषभुषा, रीतिरिवाज, भाषा र व्यवहारको रसास्वादन गरे । उनीहरु घुम्दै इथाका पुगे । त्यहाँ होमरले आँखा पोलेको अनुभव गरे । आँखा रातो हुँदै र पीडा बढ्दै गयो । व्यापारी मित्रलाई के गरौं, के नगरौं भयो । उनले चिकित्सकको प्रबन्ध गरे । तैपनि उपचार भएन । अन्त्यमा, दुवै आँखाले देख्न छाड्यो । 

यसको बाबजुद काव्य सिर्जना गर्न छाडेनन् । छन्दहरुको सिर्जना गरे । लेख्न त सकिँदैन थियो तर मनमा गुन्दै, स्वर निकालेर पाठ गर्दै, प्रेम र सौन्दर्यको वर्णन र विश्लेषण गर्न थाले । पहिला युलिसिसको कथालाई छन्दमा रुपान्तरण गरे अनि गाउन मिल्ने बनाए । युलिसिस एकजना बहादुर ग्रिक थिए । इथाका राजा । वास्तवमा उनको नाउँ ओडिसिस थियो, रोमनहरुले युलिसिस भन्थे । ट्रोजन युद्धमा उनी ग्रिसको साथमा लडेका थिए । होमरले काव्य रचना त एकपछि अर्को गरे तर जीवन निर्वाह यसबाट हुँदैन थियो । घुमन्ते गायक बन्दै टोल, गल्ली घुम्न थाले । उनको स्वर पनि त्यत्तिकै सुरिलो थियो, त्यसैले मधुर स्वर सुनेपछि स्थानीयले केही पैसा दिन्थे । तर यसबाट सम्पूर्ण गुजारा चल्दैनथ्यो । दुई छाक खान–लाउन धौ–धौ हुँदै गयो । कैयौं दिन भोकै सुत्न विवश बने । भोकै मर्ने डरले सताएपछि गाउँतिर भागे । त्यहाँ उनलाई जुत्ता सिलाउने सार्कीले शरण दिई बास र खानाको व्यवस्था गरिदिए ।

दुई–चार दिन त्यो घरमा बसिसकेपछि होमरलाई अर्काको घरमा कति दिन यसरी बस्नु जस्तो लाग्यो । कहिले कता त कहिले कताको पसलबाहिर बसिरहन्थे । मजदुरी गरी थाकेका भरियाहरु जम्मा हुन्थे । होमर उनीहरुलाई गीत गाएर सुनाउँथे । भरियालगायत उनको गीत सुन्न जम्मा भएका स्थानीयहरु उनले गाएको गीत र कविता वाचनबाट मख्ख पर्थे । मनोरञ्जन लिन्थे । बदलामा खानेकुरा दिन्थे । एक छाक भरपेट खानलाई होमर घण्टौं ठूलो स्वरले गीत गाउँथे । यसरी नै जीवन बित्दै गयो ।

एउटै गीत, एउटै स्वर सधैं कहाँ सुन्न मन पराउँछन् र कसैले ! विस्तारै खुवाउने मान्छे भेट्टाउन गाह्रो हुँदै गएपछि होमर त्यहाँबाट पनि भागे । र, घुम्दैफिर्दै कुमे नगर पुगे । त्यहाँ जनप्रतिनिधि संस्था काउन्सिलसमक्ष एउटा प्रस्ताव राखे, ‘मेरालागि भोजन र वस्त्रको व्यवस्था गरिदिनुस्, बदलामा यहाँका निवासीलाई दिनहुँ गीत सुनाउँछु ।’

त्यस दिन काउन्सिलको बैठक थियो । प्रतिनिधिहरु प्रस्तावमाथि छलफल गर्दै थिए । बाहिर बरण्डामा होमर निर्णयको प्रतिक्षामा थिए । भित्र उनीद्वारा रचित दुई महाकाव्य इलियड र ओडिसीमाथि बहस शुरु भयो । जनप्रतिनिधिहरु पक्ष र विपक्षमा विभाजित भए । सहयोग गर्नुपर्छ भन्नेहरु भन्थे, ‘होमरका लागि व्यवस्था त गर्नैपर्छ नत्र एकजना प्रतिभाशाली कविको मृत्युको जिम्मेवार हामी हुन्छौं । काउन्सिलको कर्तव्य हो, प्रतिभालाई बचाउने, संरक्षण गर्ने ।’

विपक्षी भन्थे, ‘यस्तो व्यवस्था हामीले कदापि गर्नु हुँदैन । काउन्सिल अकर्मण्य र अपाहिजको ठेकेदार होइन । यदि उनका लागि व्यवस्था गरिन्छ भने कुमेका प्रत्येक अपांगको खाना र बस्ने व्यवस्थाको जिम्मा लिनुपर्ने हुन्छ ।’

काउन्सिलले अन्तिममा विपक्षमा निर्णय लियो । होमर टाउको समाउँदै उठे । सडकमा हिँड्न थाले गीत सुनाउँदै । एकदिन थाहा पाए कि अर्कै एकजना उनैको गीत गाएर सम्मानित हुँदै छन् । भोकले रन्थनिएको भए पनि आफ्नो दरिद्रता र अपांगताबाट अरुले फाइदा उठाउने गरेको सहनै सकेनन् । रचना चोरको घरतिर लम्के । ‘साहित्य चोर’ बस्ने नगरमा पुगिछाडे । लड्खडाउँदै नगर प्रवेश गरेका उनीसित एकजना ग्वालाले परिचय मागे । उनले एउटा गीत गाएर सुनाए । छन्दात्मक तरिकाले बनाइएको ग्रिक बहादुरहरुको वीरताको गाथा गीतको लयमा सुनेपछि ग्वाला प्रभावित बने । र, होमरलाई आफ्नो मालिकको घरमा लिएर गए । आश्रय दिलाए । 

होमरको रचना जसले चोरेका थिए, होमर आफूलाई खोज्दै आइपुगेको थाहा पाएपछि त्यहाँबाट भागे । यो समाचारबाट बेखबर होमर ग्वालाका मालिकलाई दिनहुँ गीत सुनाउँदै बसे । मालिक खुशी भएर होमरका लागि एउटा विद्यालय नै खोलिदिए । होमर अब त्यहाँ सिकारु कविहरुलाई काव्य रचनाबारे शिक्षादिक्षा दिन थाले । शिक्षक त पहिल्यै थिए । काव्य रचनाबारे उनको विचार पनि अकाट्य हुन्थ्यो । त्यसैले दिनहुँ उनको सम्मान बढ्न थाल्यो । यसैबीच एउटी कन्यासित विवाह भयो । ती युवतीले अन्धालाई लोग्ने बनाएकोमा कहिल्यै अफसोच गरिनन् । समयको अन्तरालसँगै होमर दुई सन्तानको पिता बने । दिनहुँ घरमा साहित्यकार भेला हुन्थे । साहित्य विषयमा विचार विमर्श गर्थे ।

यसबीच होमरले पुनः यात्रामा जाने मन बनाए । घुम्दै एथेन्स पुगे । समुद्री किनार र द्वीपहरु डुल्ने क्रममा बिरामी भए । ग्रिसका विद्वानहरु उनलाई हेर्न गइराख्थे । कति कोशिश गर्दा पनि थला परेको प¥यै भए । र, इशापूर्व ७०१ मा देह त्यागे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*